काठमाडौं- नेपाल टेलिकमले आफ्नो एफटीटीएच (NTFiber) सेवाअन्तर्गत उपलब्ध गराउँदै आएको एनटीटीभी (NTTV) का ग्राहकहरूका लागि सेट-टप बक्सबिनै टेलिभिजन सेवा प्रयोग गर्न सकिने गरी भर्चुअल सेट-टप बक्स (Virtual Set-Top Box) उपलब्ध गराएको छ। कम्पनीले २०८३ असोज १५ गतेदेखि लागू हुने गरी हाललाई एन्ड्रोइड टीभी प्रयोगकर्ताहरूका लागि यो नयाँ सुविधा सञ्चालनमा ल्याएको हो।
ग्राहकहरूले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टीभीमा गुगल प्लेस्टोरबाट 'Smart NTTV' एप सर्च गरी डाउनलोड गरेर यो भर्चुअल सेट-टप बक्स सहजै प्रयोग गर्न सक्नेछन्। ग्राहकहरूका लागि थप सहज र मैत्रीपूर्ण बनाउने उद्देश्यले ल्याइएको यो सुविधालाई निकट भविष्यमै अन्य सबै प्रकारका स्मार्ट टीभीहरूमा पनि सञ्चालन गर्न सकिने गरी कम्पनीले तयारी गरिरहेको छ। यस नयाँ प्रणालीअन्तर्गत भर्चुअल सेट-टप बक्ससहितको नयाँ प्याकेज लिने ग्राहकहरूका लागि रु. १,००० छुट उपलब्ध गराइने व्यवस्था समेत गरिएको छ।
नेपाल टेलिकमले आफ्नो एफटीटीएच प्रविधिमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ। भर्चुअल सेट-टप बक्ससहितको टेलिभिजन प्रयोगका लागि कम्पनीले विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराएको छ, जसमा वार्षिक र दुई वर्षे प्याकेजहरू लिँदा मोवाइल डेटाको सुविधा समेत समेटिएको छ। यस सेवासम्बन्धी विस्तृत जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइट तथा 'नेपाल टेलिकम' एपमार्फत प्राप्त गर्न सकिने प्रवक्ता डा. कमल लामिछानेले जानकारी गराउनुभएको छ।