काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयुक्तको हैसियतमा रहँदा ७८ लाख रुपैयाँ घूस लिएका पाठकमाथि छानबिन गर्न नेपाल सरकारका सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरी मंगलबार छानबिन सुरु गरिएको हो। समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
पाठकमाथि छानबिन गर्न संवैधानिक र कानुनी अड्चन नरहेको महान्यायाधिवक्ताको कार्यालयले सोमबार राय दिएपछि अख्तियारले समिति गठन गरी छानबिन थालेको हो । आफ्नै आयुक्तमाथि छानबिन गर्न मिल्ने–नमिल्ने विषयमा दुविधा भएपछि आयोगले सोमबार महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो।
आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४