जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई तिहाइको दम्भमा रहेको केपी ओली नेतृत्वको सरकारले कर्मचारीहरुलाई त्रास देखाउने काम गरेको आरोप लगाएका छन्। निधिले राजनीतिक आस्थाको आधारमा सरकार कर्मचारीहरुलाई आतंकित पार्ने काम गरिरहेको बताएका छन्।
‘सरकार भेदभाव, आतंक र त्रासको वातावरण सिर्जना गर्दैछ,’ नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश २ को शपथग्रहण कार्यक्रमलाई सोमबार जनकपुरमा सम्बोधन गर्दै निधिले भने,‘पञ्चायती सरकारले पनि यस्तै काम गरेको थियो। तर कर्मचारीहरुले ध्वस्त पारिदिए। सरकारलाई हेक्का होस।’
उपसभापति निधिले केन्द्र र प्रदेश दुबै सरकारले राजनीतिक र वैचारिक आस्थाको आधारमा तर्साउने काम बन्द नगरे कर्मचारीहरु सडकमा ओर्लिन बाध्य हुन बताए।’ कर्मचारीलाई त्रसित पार्ने काम आफूहरुलाई कुनै हालतमा सह्य नहुने उनको भनाइ थियो।
सरकारको भय र त्रासले नडराउन नहुने भन्दै उनले आफ्नो अधिकार क्षेत्रभित्र रहेर जनताको सेवामा तदारुकताका साथ खट्न कर्मचारीहरुलाई आग्रह गरे।
उपसभापति निधिले एक वर्षको अवधिमा सरकारले जनता विरोधी काममात्र गरेको आरोप लगाए।
‘हामीले सरकारको एक वर्षको समय दिएका थियौं। तर सरकार जनताको हितमा काम गर्न सकेको छैन्,’ निधिले भने,‘हामी चुप लागेर बस्नुलाई कमजोरी नठानियोस। सरकारको गलत क्रियाकलापको विरोधमा कांग्रेसले आन्दोलन गर्ने बेला आउँदै छ।’
प्रदेश सरकारले पनि कर्मचारीलाई भेदभाव गरिरहेको गुनासाहरु आएको भन्दै निधिले आवश्यक्ता परे आन्दोलनको लागि तयार भएर बस्नुपर्ने बताए। कांग्रेसले प्रदेश २ को आठै जिल्लामा विरोधको कार्यक्रम ल्याउन लागेको समेत उनले जानकारी गराए।
स्वास्थ्यकर्मी संघ प्रदेश २ का अध्यक्ष शिवजी दासको अध्यक्षतामा सम्पत्र भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीलगायतका वक्ताहरुले एकजुट भएर आफ्नो हकअधिकारका लागि अगाडी बढ्न कर्मचारीहरुलाई आग्रह गरेका थिए।
३१ भाद्रमा भएको स्वास्थ्यकर्मी संघको पहिलो प्रदेश अधिवेशन सम्पत्र भएको थियो। अधिवेशनले शिवजी दासको नेतृत्वमा प्रदेश समिति चयन गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४