भैरहवा – बैंकहरुले आफूखुसी ब्याजदर बढाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका उद्यमी व्यवसायीले बैंक तथा वित्तीय संस्थाको नियमनकारी संस्था नेपाल राष्ट्रबैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई भैरहवामा ४ घन्टासम्म र्याखर्याख्ती पारेका छन्।
उनीहरुले डिपुटी गभर्नरकै अगाडि विभिन्न नाममा शुल्क असुल्ने र आफूखुसी ब्याजदर बढाउने बैंक तथा वित्तीय संस्थालाई तत्काल कारबाही नगरे उद्यमी व्यवसायीले आफ्ना प्रतिष्ठानका तालाचाबी सबै बैंकमा बुझाएर सडकमा उत्रिन चेतावनीसमेत दिएका छन्।
भैरहवामा सम्पन्न प्रदेश नं. ५ स्तरीय उद्योगी व्यवसायीको भेलामा उपस्थित व्यवसायीहरुले बैंकहरुले ब्याजदरमा मनपरी गरेकाले तत्काल नियमन गर्न आग्रह गरे। डिपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गलत कार्य गर्ने ३ वटा बैंकलाई कारबाही गरिसकेको र अरुले पनि नसच्चिए कारबाही गर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले राष्ट्र बैंकले सही ढंगले अनुगमन नगर्दा बैंकहरुको ज्यादती बढेको बताए।
नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले बैंकको विरोधमा बारम्बार व्यवसायीहरुले आन्दोलन गर्ने अवस्था आउनु दुखद भएको बताए। उनले भने, ‘व्यवसायको नाममा लुट्न पाइँदैन।’
महासंघका पूर्वकेन्द्रीय सदस्य वीरेन्द्र अग्रहरिले बैंकहरुले अनावश्यक रूपमा सहीछाप लगाएर मानसिक दबाब दिने गरेको बताए। बैंकले विभिन्न बहानामा जनतामारा काम गरिरहेको आरोप उनको थियो। प्रदेश सदस्य ज्ञानुराम न्यौपानेले बैंकिङ क्षेत्रमा सुधार नभए देश डुब्ने बताए। व्यवसायी नवराज श्रेस्ठले १ अर्बभन्दा बढी लागतमा सञ्चालन हुने आयोजनामा विदेशी लगानी ल्याउन सरकारले नै पहल गर्नुपर्ने बताए।
सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव विजय पाण्डेले हरेक तहका ऋणीलाई बैंकले हेर्ने दृष्टिकोण एउटै हुनुपर्ने बताए। उनले भने, ‘बैंकले ऋण दिँदा अंग्रेजी भाषाको डकुमेन्टमा सहीछाप लगाउँछ। मनपरी ढंगले ब्याजदर बढाउँछ। बैंकको मनपरीतन्त्रलाई कसले नियमन गर्ने गभर्नर साब?’
कार्यक्रममा रिलायन्स पेपरका सञ्चालक श्याम अग्रवालले न्यूनतम ब्याजदर राख्न नसकेकोमा चिन्ता व्यक्त गरे। उद्योगी अरुण अग्रवालले बेस रेटको नाममा बैंकहरुले उपभोक्तालाई लुटिरहेको बताए।
युवा व्यवसायी अर्जुन कार्कीले बैंकको चर्कों ब्याजदरकै कारण युवाहरू व्यवसाय गर्न नसकी खाडी मुलुकतर्फ जान बाध्य भएको बताए। उद्योग र व्यवसायका नाममा रकम निकासा गरेर जग्गामा लगानी गर्ने प्रवृत्तिले बैंकिक विकृति बढाएको व्यवसायी गौरव श्रेष्ठले बताए। अर्का व्यवसायी दीपक रोकाले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेमा धेरै समस्या हल हुने बताए।
के भन्छन् नगर–जिल्ला अध्यक्ष?
उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिल ज्ञवालीले बंैकहरुले चर्कों ब्याजदर लिएर जनतामारा काम गरिरहेको आरोप लगाए। ब्याजदर घटाउन संगठनले चरणबद्ध आन्दोलन गरिरहेको जनाउँदै उनले ब्याजदर नघटाए उद्योगी व्यवसायीले आफ्ना उद्योग व्वसायको तालाचाबी बुझाउने चेतावनी दिए।
कपिलवस्तु उद्योग काणिज्य संघका टोपनारायण बेलबासेले सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियानलाई आघात पुर्याउने गरी वित्तीय संस्थाहरुले गतिविधि गरिरहेको बताए। वित्तीयय संस्था नाफामुखी मात्रै भएको भन्दै सेवाशुल्क तुरुन्त बन्द गर्नुपर्ने बताए।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले लगानी मैत्री वातावरण नहुँदा मुलुक दुई वर्षदेखि धराशयी बनिरहेको बताए। कर तिर्ने वर्गलाई कहिलेसम्म ख्यालठट्टामा हिँडाइरहने भन्दै उनले व्यवासायीहरू यस्तै अवस्था रहे विस्थापित हुने बताए।
प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले लघु वित्त संस्थाले जथाभावी शुल्क लिँदा समस्या भएको बताए। अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठले बंैकले वैधानिक रुपमा लुटिरहेको बताए। उनले बैंकहरुले आफूखुसी ब्याज बढाएर कालो बजारी गरेको बताए।
रूपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष यमलाल लोहनीले बैंकहरुले जानकारी नदिई ब्याजदर बढाउनेलाई कारबाही हुन्छ कि हुँदैन भनी राष्ट्र बैंकलाई प्रश्न गरे। उद्योग व्यापार संघ बुटवल उपाध्यक्ष गोपाल गैरेले बैंकहरुले जनतामारा काम गरेको आरोप लगाए। तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले बैंकको चर्को ब्याजदरले उद्योगीहरु विस्थापित हुने बेला आएको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका पाल्पाका मोहन श्रेष्ठले उद्योगी व्यवसायीहरु मुटुमाथि ढुंगा राखेर हास्ने अवस्थामा रहेको बताए। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्योगी व्यवसायीका मागलाई हुबहु अर्थमन्त्रीसमक्ष पुर्याइदिन आग्रह गरे।
डिपुटी गभर्नर सिवाकोटीको जबाफ
राष्ट्र बैंकका डिपुटी गभर्नर सिवाकोटीले आफू पनि बैंकहरुको कार्यशैलीबाट तर्सिएको बताए। उनले कर्जा लिँदा उपभोक्ताले बार्गेनिङ गर्नुपर्ने बताए। अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। उनले मुलुकमा व्यापारघाटा बढेको जनाउँदै उत्पादन बढाउन आवश्यक रहेको बताए। राष्ट्र बैंकले उपभोक्ता र व्यापारी तथा बैंकर सबैको हितका लागि नीति बनाइने बताए।
डिपुटी गभर्नर सिवाकोटीले राष्ट्र बैंकको अपेक्षाविपरीत बैंकहरु बढी नाफामुखी भएको बताए। ०६९/०७० सालमा राष्ट्र बैंकले बेस रेट (आधादर) ल्याएको जानकारी दिँदै उनले आधा दर लागू नगरेको भए अहिले ब्याजदर १८ प्रतिशतभन्दा माथि पुग्ने स्पष्ट पारे। राष्ट्र बैंकले गलत गर्ने कसैलाई पनि नछोड्ने नीति बनाएको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४