शनिबार, साउन १६, २०८३

सुनमायाको रहस्यमय हत्या : यसरी गर्भमै लुकाइयो घटना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अपरान्ह चार बजेको थियो । शैक्षिक भ्रमण सकेर फर्किएको बस भक्तपुरको दूधपाटीमा रोकियो । सुनमाया चाउचाउ किन्न भन्दै बसबाट उत्रिन् । तर उनी फर्किनन् , सुनमाया हराएको ठिक ३० दिनपछि शव भक्तपुरको राधेराधे मन्दिरनजिकै हनुमन्ते खोलामा निकै दर्दनाक अवस्थामा फेला परेको थियो । सुनमाया हराएको १ महिनासम्म  केही पत्ता नलाग्नु र हराएको एक किलोमिटरभित्रै उनको शव फेला पर्नुले घटना थप रहस्यमय बनेको छ ।

साथीहरु खोज्न हिडे, फेला पारेनन् । शिक्षकहरु उत्रेर खोजखबर गरे, केही पत्ता लागेन । प्रहरीलाई खबर गरियो, सिसी टिभी हेरियो। सुनमायाको केही सुइको पाइएन। 
झन्डै एक महिनापछि उनको शव हनुमन्ते खोलामा भेटियो। हतारहतारमा  शव चुपचाप जलाइयो । सुन्दा फिल्म जस्तो लाग्ने यो घटना सुनमाया हत्याको वास्तविक कथा हो । दूधपाटीबाट हराएकी सुनमाया हत्याको शृंखला निकै कहालीलाग्दो र रहस्यमय छ । 

उमा सहविद्यालय चन्डेनी मन्डनमा कक्षा ५ मा अध्ययनरत सुनमायाको पारिवारिक पृष्ठभूमि त्यति सहज छैन। काभ्रेपलाञ्चोक जिल्लाको मन्डन देउपुर नगरपालिका–११ जैसीथोककी ११ वर्षीया सुनमायाका बुवाको सानैमा मृत्यु भएपछि आमाले छोडेर हिँडेकी थिइन् । उनको पालनपोषण शिक्षादीक्षा हजुरआमा कालीमाया तामाङले गर्दै आएकी थिइन् । मृतक सुनमायाकी दिदी उर्मिला कक्षा ६ मा पढ्दैछिन् । 

गत पुस २७ गते स्कूलबाट भक्तपुर शैक्षिक भ्रमणमा गएकी थिइन् सुनमाया । फर्किने क्रममा भक्तपुर दूधपाटी बसपार्कमा उनी चाउचाउ किन्न भन्दै ओर्लिएकी थिइन् । सुनमाया हराएको ठिक ३० दिनपछि शव भक्तपुरको राधेराधे मन्दिरनजिकै हनुमन्ते खोलामा निकै दर्दनाक अवस्थामा फेला परेको थियो । सुनमाया हराएको १ महिनासम्म  केही पत्ता नलाग्नु र हराएको एक किलोमिटरभित्रै उनको शव फेला पर्नुले घटना थप रहस्यमय बनेको छ ।

प्रहरीले अहिलेसम्म घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन । शैक्षिक भ्रमणमै रहेका बेला हराएकाले यसमा विद्यालयका शिक्षकको संलग्नता हुन सक्ने आशंका पनि गरिएको छ । यसमा प्रभावकारी अनुसन्धान भएको छैन।  



सूचना लुकाउँदा बालिकाको हत्या 

शैक्षिक भम्रणबाट फर्किने क्रममा हराएकी बालिका खोज्न स्कुलका शिक्षक र अभिभावक लगातार खटिए । गरिब परिवारकी सुनमायाको अपहरण र फिरौती माग गर्ने सम्भावना नभएको स्कुलका शिक्षक र अभिभावकको छ ।

सुनमायाले बाटो बिराएर अलमलिएको हुन सक्ने भन्दै शिक्षकहरूले भक्तपुरको गल्लीगल्ली खोजे । तर उनलाई नभेटिएपछि प्रहरीको कन्ट्रोल नम्बर १०० र बालबालिका खोजतलास केन्द्र १०४ मा फोन गरी बालिका हराएको खबर गरेको शिक्षिका चण्डिका नेपाल बताउँछिन् । बालिका हराएपछि स्थानीय र उमा सहविद्यालयका प्रधानाध्यापकले स्थानीय सांसद तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई निवासमै पुगी खोजतलासका लागि आग्रह गरे ।

नेपाल समयलाई प्राप्त सूचनाअनुसार सरकारी उच्च तह र प्रहरी नेतृत्वबाट बालिका हराएको घटना गुपचुपमै राख्न निर्देशन दिइएको थियो । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागेको अवस्थामा राजधानीमै अर्को घटनाबाहिर आउँदा संगठन र सरकारको थप आलोचना हुने भयले सूचना लुकाइएको स्रोतले दाबी गरेको छ ।

घटना एकातर्फ अनुसन्धान अर्कैतर्फ 

नेपालमा सबैभन्दा बढी बालबालिका हराउने जिल्लामा काभ्रे अगाडि छ । हराएको बालबालिका र किशोरी अधिकांश फेला परेका छैनन् । हराएका बालबालिका र किशोरीलाई मानव अंग तस्करी गर्ने उद्देश्यले भारतमा लैजाने गरिएको खुलेको छ । 

सुनमाया हराएपछि प्रहरीले अपहरण गरेको अनुमान गरेर अनुसन्धान अगाडि बढायो । बालिका हराएको एक महिनापछि र शव फेला परेको चार दिनसम्म पनि सुनमायाको हत्या कसरी भयो भन्ने विषय प्रहरीले  औंल्याउन सकेको छैन ।

हनुमन्ते खोलामा फेला परेको सुनमायाको शवको प्रकृति हेर्दा एक हप्तापहिल्यै हत्या गरेर फ्याँकिएको जस्तो देखिन्छ । बालिका हराएको एक किलोमिटरभित्र एक हप्ता पुरानो शव फला पर्नुले अनुसन्धान थप शंकास्पद बनेको छ । शवकाे अनुहारमा बाहेक अन्यत्र केही भएको छैन । यस्तो शव लामो समयदेखि त्यही ठाउँमै थियो भने प्रहरीले किन समयमै फेला पारेन ? कुकुर, काग र गिद्धले पनि खाएको छैन । 

स्थानीयबासीका अनुसार प्रहरीले सुरुमा अनुसन्धानमा त्यति ध्यान दिएका थिएनन् । सञ्चारमन्त्री बास्कोटाले आजिपी खनाललाई नै फोन गरेपछि भने प्रहरीको संख्या केही बढेको थियो । तर बालिका हराएको विषय प्रहरीले मानेन र उसले अपहरणमै परेको भन्दै अनुसन्धान अगाडि बढायो । यस क्रममा प्रहरीले मृतक सुनमायाकी दिदी १३ वर्षीय उर्मिला तामाङ आमा पूर्णमाया तामाङ, काका रामबहादुर तामाङलाई पटकपटक सोधपुछ गरेको छ । प्रहरीको अनुसन्धान अपहरणमै केन्द्रित भएकै कारण अनुसन्धान प्रभावकारी हुन नसकेको उच्च स्रोतले दाबी गरेको छ ।

आर्थिक प्रलोभन देखाई शव जलाउन मृतक परिवारलाई दबाब 

पुस २७ गते शैक्षिक भ्रमणबाट फर्कने क्रममा भक्तपुरको दूधपाटी बसपार्कभित्र सुनमाया प्रवेश गरेको सिसिटिभी क्यामेराबाट देखिएको छ । 

हनुमन्ते खोलामा शव फेला पारेपछि प्रहरीले हजुरआमा कालीमाया तामाङलाई बोलाएर शवको पहिचान गराएको थियो । शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । सुनमायाको पोस्टमार्टम रिपोर्ट प्रहरीले बिहीबारसम्म पाएको छैन । सुनमायाको हत्याको कारण के थियो भन्ने विषयमा पनि प्रहरी अन्योलमै छ । तर उनको शव बुधबार दिउँसो जलाइएको छ ।

हजुरआमा कालीमाया भन्छिन्, 'मलाई केही थाहा छैन, प्रहरीले शव कुहाएर फाइदा छैन, छिटो जलाउनुपर्‍यो भन्यो अनि मैले हुन्छ भनें ।'  सुनमायाका हजुरबुवा र काका अरूसँग खुलेर कुराकानी गर्न सक्दैनन् । उनले भनिन्, 'नातिनीका लागि न्याय खोज्न कहाँ जाऔं ? घर छोडेर हिँडे परिवार भोकै मर्ने अवस्था छ । म बूढी एक्ले कहाँ जानु ? त्यसैले शव जलाउन तयार भएकी हुँ ।'

नेपाल समयको टिम जैसीथोकस्थित सुनमायाको घरमा पुग्दा आफन्त र नातेदार जम्मा भएका थिए । वृद्ध हजुरबुबा नातिनीको मृत्युको शोकमा छाती पिट्दै भित्रबाहिर गरिरहेका थिए । हत्यारा पत्ता नलगाई नातिनीको शव जलाएकोमा उनले आक्रोश पोखिरहेका थिए । 

तामाङ परिवारलाई घटना सामसुम पार्न आर्थिक र जिन्सी सामान घरमै पठाइएको थियो । हजुरआमा कालीमायाले आफूलाई पाँच हजार नगद, दुई बोरा चामल, १ बोरा चिउरा, १० लिटर तेल, १० प्याकेट चुरोट, एक दर्जन खैनी, ५ धार्नी आलु, ५ केजी दाल, २ केजी मस्यौरा, १ केजी जिरा, ५ केजी नुन, ३ केजी चिनी, एक केजी चियापत्ती, साबुन घरमै ल्याइदिएको बताइन् । त्यो सामान कसले पठाएको भन्नेबारेमा स्वयं परिवारलाई समेत जानकारी दिइएको छैन। सुनमायाले पढ्ने पुस्तक र लगाउने लुगासमेत प्रहरीले उठाएर लगेको परिवारले जनाएको छ । 

कुकुरले ट्र्याक पछ्याउन किन सकेन 

बालिका हराएको स्थान दूधपाटी र बालिकाको शव फेला परेको राधेराधे नजिकै हनुमन्ते खोलाबाट नेपाल प्रहरीको तालिम प्राप्त कुकुरलाई ट्र्याकर पहिचान गर्न छाडिएको थियो तर दुवै स्थानबाट ५० मिटरको दुरीमै नपुगी कुकुरहरु फिर्ता भए । सामान्य अवस्थामा नेपाल प्रहरीका तालिम प्राप्त कुकुरले २४ घन्टादेखि तीन दिनसम्मको घटनामा ट्र्याक गर्न सक्छ तर कुनै सवारीसाधन प्रयोग गरिएको छ भने कुकुर त्यसको पिछा अर्थात् ट्र्याक गर्न सक्दैन ।

मृतक सुनमाया भ्रमणमा सँगै रहेका शिक्षक रामबाबु खत्री भन्छन्, 'उनी एकैछिनमा जादुमय हिसाबले गायब भइन् ।' अन्य साथीहरुसहित भ्रमण सकेर स्कुलतर्फ फर्कने क्रममा उनी बसपार्कबाटै एकाएक गायब हुनुले उक्त घटना योजनाबद्ध रुपमा गरिएको देखिन्छ । 

शोकमा उमा सह–विद्यालय 

यतिबेला उमा सहविद्यालय चण्डेनीसहित पूरै गाउँ शोकमा छ । नेपाल समयको रिपोर्टिङ टिम उक्त स्कुलमा पुग्दा विद्यार्थीमा सन्त्रास देखिन्थ्यो भने शिक्षकहरु स्तब्ध थिए । उनीहरूले हत्यारा पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।