काठमाडौँ- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट...’ शीर्षकको गीतलाई पुनः यूट्युबमा राख्न आग्रह गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष एवं लोक गायक बद्री पङ्गेनीले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका शर्माको गीत सुन्न पाउनु दर्शक र श्रोताको अधिकार हो भन्दै शर्मालाई पुनः गीत अपलोड गर्न आग्रह गरेको हो ।
“गीतमा प्रयोग भएका शब्द सार्वजनिक सञ्चारमाध्यममा आइरहेका शब्द हुन् । गीत सङ्गीतमा आउन नहुने भन्ने मापदण्ड छैन तसर्थ, पनि सर्जकद्वारा सिर्जना गरिएको कलाकृति, गीत सङ्गीत लोकले जस्ताको तस्तै सुन्न पाउनु स्रोताको अधिकार भएकाले प्रतिष्ठान कलाकार शर्मालाई उक्त गीत जस्ताको तस्तै पुनःअपलोड गर्नुहुन अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
शर्माको गीत यूट्युबमा भाइरल भएपछि गीतमा प्रयोग भएका केही शब्दलाई लिएर सम्बन्धित निकायको दबाबपछि शनिबार हटाइएको शर्माले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए । उनले केही साथीभाइ तथा शुभचिन्तकको सल्लाह सुझावबमोजिम शब्द परिमार्जन गरी पुनःसार्वजनिक गर्ने उल्लेख गरेका छन् । यो विषयले शनिबार र आइतबार सामाजिक सञ्जालमा निकै चर्चा भयो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४