काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको नयाँ पत्रिका दैनिकले नेपाली सेनामा हुने अनियमतिता र प्रधानसेनापतिको मनपरिलाई मुख्य समाचार बनाएको छ । सैनिक कानुन, सेनापतिले मात्र जानून् शीर्षकमा खबर लेखेको उसले गणतन्त्र आएपछि बनेका चार जना प्रधानसेनापतिले गरेका आफूखुसी निर्णयहरु र उनीहरुका विषयमा उठेका प्रश्नहरु छापेको छ ।
हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले निकटस्थलाई सिफारिस गर्न चार महिनासम्म बढुवा अवरुद्ध गरेका छन् । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले एसएलसीको आफ्नै प्रमाणपत्रमा केरमेट गरे तर छानविन भएन । अर्का पूर्वप्रधानसेनापति गौरवशमशेर जबराले अदालतको आदेश अवज्ञा गर्दै फास्ट ट्रयाक नाममा निकटस्थलाई बढुवा गरेका थिए । पूर्वप्रधानसेनापति रुकमांगद कटवालको हुकुमप्रमांगीका आधारमा उमेर घटाइयो तर गणतान्त्रिक अदालत मौन बसेको नयाँ पत्रिकाले लेखेको छ ।
प्रधानसेनापति मात्र होइन, सेनाको माथिल्लो दर्जाका अधिकृतले पनि कागजपत्र किर्ते गरेको विषय पटकपटक उठ्ने गरेको छ । तर, कारबाही हुने–नहुने प्रधानसेनापतिको विवेकमा भर पर्दै आएको समाचारमा उल्लेख छ । आफूनिकटलाई नियम मिचेर पनि अवसर दिने, अरूलाई त्यही अस्त्र देखाएर कारबाही गर्ने, राजीनामाका लागि बाध्य पार्ने काम हुँदै आएको छ ।
यस्तै नयाँ पत्रिकाले घुस प्रकरणमा मुछिएका पूर्वआयुक्त राजनारायण पाठकमाथि कारबाही गर्न अख्तियारले अलमल गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । मेलम्ची सक्न नयाँ टेन्डर आह्वान गर्न लागिएको विषयलाई पनि महत्वका साथ प्रकाशित गरेको छ।
आजको नागरिक दैनिकले भने सत्ता र शक्तिको आडमा कमलपोखरीमा कम्प्लेक्स शीर्षकमा मुख्य समाचार छापेको छ ।
समाचारमा जनाइए अनुसार राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडौं महाननगरपालिकालगायतका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक पोखरीलाई निजी बनाइएको छ । कर्मचारीहरुकै सेटिङमा यो सम्भव भएको समाचारमा उल्लेख छ ।
सरकारको एक वर्षे कार्यकाल निराशाजनक रहेको कांग्रेसको टिप्पणीलाई एङ्कर न्यूज बनाएको आजको कान्तिपुरले आफैले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले दिएको मन्तव्यलाई मुख्य समाचार बनाएको छ ।
कान्तिपुर कन्क्लेभको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ठूलो सम्भावनयुक्त क्षेत्र भएकाले लगानी गर्न आह्वान गरेका थिए । लगानीकर्तालाई सहज वातावरण बनाउन सरकार तयार रहेको उनको भनाइ थियो ।
आजको अन्नपूर्ण पोस्ट्ले भने पशुपति क्षेत्रको डस्टबिनमा भेटिएका बालकको कथालाई मुख्य समाचार बनाएको छ भने कांग्रेसले सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै गरेको टिप्पणीलाई पनि प्राथमिकताका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४