नवलपरासी पूर्व- विनयी त्रिवेणी गाउँपालिका–४ पिधरीस्थित होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगरले चलाएका थिए। ट्याक्टर अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको माटोको ढिस्कोमा ठोक्किएर सडकबाट खसेको थियो।
दुर्घटनामा घाइते मगरलाई उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएको थियो। अस्पतालमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए। ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।