आइतबार, असोज १८, २०८३

हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइन निर्णायक चरणमा

 |  आइतबार, असोज १८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०८३

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सवस्टेशनको निरीक्षण गरेका छन्। मन्त्री श्रेष्ठले सवस्टेसनमा निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनका दुईटा मल्टिसर्किट टावरको कार्यप्रगति विवरणको ब्रिफ्रिङ लिएका हुन्। निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरूदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिए। करिब १२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अगाडि बढाउन मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अगाडि बढाएका थिए। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले १२ वर्षदेखि अड्किएको हेटौडा ढल्केबर प्रसारण लाइनको काम मन्त्री श्रेष्ठको पहलमा अगाडि बढेर अन्तिम चरणमा पुगेको बताए। उनकाअनुसार हेटौंडा–ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किटको टावर निर्माण भइसकेको छ। दुईटा मल्टिसर्किट टावर अन्तिम चरणमा छ। ‘१४ वटा टावर तयार भइसक्यो। बाँकी दुइटा टावरको कार्यप्रगति राम्रो छ। १०÷१५ दिनमै तयार गरेर चार्ज गर्छौं। यसलाई ब्याक बोनको रूपमा लिएका छौं। जसले गर्दा सम्पलाईको रिलायबिलिटी एकदमै बढेर जान्छ। 

खपत पनि बढाउन सक्छौ भने निर्यात पनि बढाउन सक्छौं। दशैलगत्तै चार्ज गर्ने तयारी छ, कार्यकारी निर्देशक श्रेष्ठले भने।’ मन्त्री श्रेष्ठले हेटौडा–ढल्केबर प्रसारण लाइन नेपालको ऊर्जाको मेरुदण्डकै रूपमा रहेको बताए। ‘यहाँको लाइन चितवन हुँदै बुटवल जाने र अर्कोतिर ढल्केबर जाने टावरको काम रोकिएको थियो। १६ वटा टावरको काम विगत लामो समय १२ वर्षदेखि रोकिएको थियो। राज्यको अर्बौ रूपैयाँ खर्च भएको तर के गर्ने भन्ने अन्योलतामा सबैको सतप्रयासले ऐतिहासिक काम पनि भएको छ। त्यसले बुटवलको लाइन इनरूवा, इनरूवाको लाइन बुटवल जानसक्ने ऊर्जाको राजमार्ग नै बन्छ। यहाँको दुइटा टावरको चिन्ता थियो। सबै टिमको सक्रियतामा यो सम्पन्न हुने चरणमा पुगेको छ,’ उनले भने। 

मन्त्री श्रेष्ठले यो प्रसारण लाइन बनिसकेपछि नेपालको ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय हुने बताए। ‘यो प्रसारण लाइन चार्ज भइसकेपछि हाम्रो विश्वास के छ भने नेपालको ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय पनि हुने मेरुदण्ड भएकोले गर्दा हामी टावरको कामको प्रगति के छ रु अलि अगाडिदेखि नै हेरिरहेका छौं, आज आएर हेर्दा १२ वर्षदेखि अलमल परेको प्रसारण लाइनले गति लिएको छ। ऊर्जा क्षेत्र अब स्टेबल हुन्छ। अहिले तीन सय मेगावाट क्षमता छ भने यहाँबाट ढल्केवर गइरहेको हो। यो बनिसकेपछि दुई हजार मेगावाट क्षमतामा विद्युत प्रवाह हुन्छ। यो चानचुने उपलब्धि होइन,’उनले भने। मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने र यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न अन्तर्देशीय विद्युत व्यापार र वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिन समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।आयोजना सम्पन्न हुँदा राष्ट्रिय ग्रिडको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना पनि थप विस्तार हुने उनको भनाइ छ।

प्रकाशित: Oct 04, 2026| 10:46 आइतबार, असोज १८, २०८३
प्रतिक्रिया दिनुहोस्