जनकपुरधाम – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले प्रदेश २ सरकारलाई एनजीओ सरकार भन्दै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस जनकपुर नगर समितिले आइतबार आयोजना गरेको नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेता यादवले प्रदेश सरकारका मन्त्रीहरु एनजीओमार्फत पैसा कमाउन व्यस्त रहेको आरोप लगाए।
‘सरकारका मन्त्रीहरु एनजीओको कार्यक्रममा व्यस्त हुन्छन्। एनजीओको एउटै कार्यक्रममा सातजना मन्त्रीसम्म पुग्ने गरेका छन्,’ नेता यादवले भने, ‘सरकारले ल्याएको बजेट पनि एनजीओमूखी छ। पाँच लाखका लागि मन्त्रीले सचिवलाई कुट्छन्। कस्तो सरकार?’ कमिसनको लोभमा सरकारले एजनीओ लक्षित कार्यक्रम बनाएको उनको आरोप थियो।
आफ्नो गतिविधिका कारण सरकारले राजनीतिक स्ट्याण्डर्ड नै समाप्त पारेको उनको कथन थियो। चर्को नारा दिँदै आइरहेको प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममासमेत भ्रष्टाचार गरिरहेको नेता यादवले बताए।
नेता यादवले मधेशीको नाउँमा भोट लिएका मधेश केन्द्रीत दलहरु जनताको भावना बिर्सेर मधेश र मधेशी विरोधी केपी ओली नेतृत्वको सरकारलाई सहयोग गरिरहेको उल्लेख गरे। ‘संविधान संशोधनको नाउँमा भोट लिएर उपेन्द्रजी सरकारमा जानु भएको छ,’ यादवले भने, ‘सरकारमा गएको एक वर्ष बितिसक्यो खोई त संविधान संशोधन ? केन्द्र र प्रदेश दुबै सरकार निकम्मा सावित भएको छ।’
यादवले अधिनायकवादतर्फ गइरहेको केपी ओली नेतृत्वको सरकारलाई सहयोग गरेर मधेश केन्द्रीत दलहरु जनताको भावनासँग खेलवाड गरिरहेको आरोप लगाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४