जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिस्ट सरकार संघीयता र गणतन्त्रको असफल ड्राइभर सावित भएको आरोप लगाएका छन्।
निधिले मुलकमा संघीयता कार्यान्वयन भएको एक वर्ष बितिसक्दा पनि जनतालाई गणतन्त्र र संघीयताका अनुभूति दिलाउन नसक्ने केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार असफल भइसकेको बताएका छन्।
१० वर्षे जनयुद्ध र विभिन्न आन्दोलनपछि स्थापना भएको गणतन्त्र र संघीयतालाई सुदृढ गर्न हालसम्म संरचना तयार गर्न नसक्नुले पनि सरकार असफल भइसकेको पुष्टि गरेको उनको कथन छ। ‘संविधानमा उल्लेख भएका अधिकारहरु पनि संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई दिन चाहेको छैन्’, नेपाली कांग्रेस जनकपुर नगर समितिले आइतबार आयोजना गरेको नगर सम्मेलनमा बोल्दै निधिले भने, ‘सरकार संघीयता र गणतन्त्र कमजोर बनाउनतर्फ उद्त देखिन्छ।’
‘प्रदेशले सरकार र प्रदेशसभाबाहेक अन्य कुनै कुरा पाउन सकेको छैन्’, पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका निधिले भने, ‘प्रदेशहरुले आफ्नो प्रहरी संगठन बनाउन सकेको छैन्। आफ्नो निजामती कर्मचारीको कुनै पत्तो छैन्। हतियारसहितको आफ्नै प्रहरी नरहेको सरकारै हुनै सक्दैन्।’
आफ्नै पार्टीको प्रादेशिक सरकार रहेकामाथि पनि ओली नेतृत्वको सरकारले विश्वास गर्न नसकेको बताउँदै निधिले प्रदेशहरुलाई कमजोर बनाउँदै संघीयता नै धरापमा पार्ने षडयन्त्र भइरहेको आरोप लगाए।
ओली नेतृत्वको सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई समेत आत्मसात गर्न नसकेको उनको भनाइ थियो। ‘न्यायापालिकालाई पनि आफ्नो प्रभाव र कब्जामा राख्न खोजिँदै छ,’ निधिले भने, ‘सरकार शक्ति पृथकीकरणको सिद्धान्त बिर्सेर शक्ति केन्द्रीतकरणतर्फ लागेको छ।’
प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय तहको अधिकारपनि खोसेर सिंहदरबारमा केन्द्रीत गर्न खोजिरहेको उनको आरोप थियो। निधिले सर्वोच्च अदालतमात्र नभइ देशभरका सबै अदालतका न्यायाधीशहरुलाई दुई तिहाइको दम्भ देखाउँदै महाअभियोगको त्रास देखाउने खेल भइरहेको दाबी गरे।
छिमेकी मुलुकहरुसँग सम्बन्ध खराब गरिसकेको सरकारले समृद्धि र विकासको भुटो नारा दिँदै आइरहेको बताउँदै उपसभापति निधिले रोजगारीको नाउँमा कार्यकर्ताभर्ती केन्द्र खोल्न लागिएको आरोप लगाए।
हरेक क्षेत्रमा कमजोर भइसकेको सरकारले नागरिकको आधारभूत आवश्यक्ता शान्ति सुरक्षासमेत प्रदान गर्न नसकेको निधिले बताए। निर्मला पन्तको हत्यारा पत्ता लगाउन १२ वर्षपनि लाग्न सक्ने सरकारको गृहमन्त्रीको भनाइ लज्जास्पद रहेको उनको कथन थियो।
उसभापति निधिले सरकार गठन भएदेखि प्रदेश २ सरकारलाई आफ्नो पार्टीले सहयोग गर्दै आइरहेपनि जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाए। मधेशीको नाममा दल खोलेर सत्तामा पुगेर मधेशी जनताको भावना दुरुपयोग नगर्न निधिले प्रदेश सरकारलाई ध्यानाकर्षण गराए।
‘एक वर्ष हामीले तँपाईहरुलाई सहयोग गर्यौं। प्रहरी ऐन ल्याउन हाम्रो पार्टीले सहयोग गरेको छ,’ प्रदेश २ सरकारलाई निधिले भने, ‘तँपाईहरु पनि संघीय सरकार झैं जर्बजस्ती काम नगर्नुस्।’
जनकपुरलाई प्रदेशको राजधानी र मिथिला–भोजपुरा बाहेकको नामाकरण आफूहरुलाई मान्य नहुने बताउँदै उपसभापति निधिले प्रदेश सरकारले जर्बजस्ती गरे आन्दोलनको लागि तयार रह्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। यसैगरी वीरगंजमा बीपी उद्यानको लागि छुट्ययाइएको जग्गामा प्रदेश सरकारले थालेको निर्माण कार्य फिर्ता लिने निर्णय गरे कांग्रेसले सरकारविरुद्ध आन्धीबेरी ल्याउने उनको चेतावनी थियो।
नगरसमिति सभापति मनोज साहको सभापतित्वमा सम्पत्र भएको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४