काठमाडौं- नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण निरन्तर बढिरहेका बेला विश्वविख्यात अटोमोबाइल साझेदारी एसएआईसी-जीएम-बुलिङ (SAIC-GM-Wuling) द्वारा निर्मित बुलिङ ब्रान्डका विद्युतीय सवारीहरूले नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्। नेपालका लागि बुलिङको आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्स प्रा.लि.ले ग्राहकहरूको फरक-फरक आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै हाल एक्सियन, मिनी ईभी र डेरियन गरी तीन फरक श्रेणीका विद्युतीय सवारीहरू बिक्री वितरण गर्दै आएको छ।
सहरी आवागमनदेखि पारिवारिक यात्रासम्मका लागि लक्षित यी मोडलहरूमा कम्पनीले आकर्षक प्राविधिक क्षमता प्रदान गरेको छ। जसमा पाँच प्लस दुई सिट क्षमताको 'एक्सियन' एसयूभीमा ६९.२ किलोवाट घण्टाको ब्याट्री, ५३० किलोमिटरसम्मको रेञ्ज र १५० किलोवाटको मोटर रहेको छ। त्यस्तै, दैनिक सहरी प्रयोगका लागि ४ सिट क्षमताको 'मिनी ईभी' कारमा २५.१ किलोवाट घण्टाको ब्याट्री र ३०१ किलोमिटरसम्मको रेञ्ज उपलब्ध छ भने पारिवारिक प्रयोगका लागि ल्याइएको ७ सिटर एमपीभी 'डेरियन'मा ६९.२ किलोवाट घण्टाको ब्याट्री, ५४० किलोमिटरसम्मको रेञ्ज र १५० किलोवाट क्षमताको मोटर रहेको छ।
नेपाली बजारमा बुलिङका विद्युतीय सवारीहरूको मुख्य विशेषता भनेको यसको दीर्घकालीन वारेन्टी सुविधा हो। कम्पनीले आफ्ना सम्पूर्ण मोडलका ट्रयाक्शन मोटर तथा उच्च भोल्टेज (एचभी) ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर (जुन पहिले पुग्छ) सम्मको वारेन्टी प्रदान गर्दै आएको छ। विद्युतीय सवारी खरिद गर्दा ब्याट्री र मोटरको दीर्घकालीन विश्वसनीयतालाई मुख्य चासोको रूपमा लिने ग्राहकहरूका लागि यो ८ वर्षको वारेन्टी सुविधाले सवारीसाधनको दीर्घकालीन स्वामित्वप्रति थप भरोसा र विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।