शनिबार, साउन १६, २०८३

सरकारी प्राध्यापकको निजी मोह कहिलेसम्म ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पस, जनकपुर क्षेत्रकै सबैभन्दा जेठो कलेज । तराई तथा पहाडका कतिपय जिल्लामा सञ्चालन हुन नसकेका बेला राराबले विद्यार्थीहरूलाई उच्च शिक्षा दिन सुरु गरिसकेको थियो । संभवतः यहि कारणले नेपालकै जेठो कलेजमध्ये एक हो, राराब ।

६० वर्षभन्दा बढी यात्रा पार गरिसकेको राराबले नेपालमा मात्र नभएर विदेशमा पनि आफ्नो छुट्टै पहिचान कायम गरेको थियो । यहाँबाट उतीर्ण भएका विद्यार्थीहरूलाई हेर्ने दृष्टिकोण नै फरक हुने गर्दथ्यो । राराब क्याम्पसमा पढेका विद्यार्थीहरू मुलककै चर्चित डाक्टर, इन्जिनियर त बनेका नै छन् । यसका साथै सफल प्रशासक र राजनीतिज्ञ बन्ने अवसरसमेत पाए ।

पूर्व उपप्रधान एवं कांग्रेसका उपसभापति विमलेन्द्र निधि, राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, पूर्वमन्त्री महेन्द्र यादव, रामकृष्ण यादव युवराज खाती, मोहन बराल, प्रदेशसभा सदस्य रामसरोज यादवलगायतका नेताहरू राराब क्याम्पसकै उत्पादन हुन् । उल्लेखित नामहरू प्रतिनिधि उदाहरणमात्र हुन् ।

जनकपुरस्थित राराब क्याम्पस धनुषा र महोत्तरीमात्र नभइ सर्लाही, सिन्धुली, रौतहट, रामेछाप, सिरहा, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका विद्यार्थीहरूका लागि शैक्षिक हब हुने गर्दथ्यो कुनै समयमा ।

प्राध्यापकहरूको समर्पण, मिहिनेत र पढाइप्रति विद्यार्थीहरूको लगनशीलताले साख कमाउन सफल भएको थियो, राराब क्याम्पस । तर राराबले आर्जन गरेको आफ्नो साख अहिले गुमेको छ । र, पुरानो साख फर्काउन संघर्ष गरिरहेको छ, यस क्षेत्रकै सबैभन्दा जेठो क्याम्पस राराब ।

२०६०/६१ सम्म ठिकठाक नै रहेको राराब दोस्रो जनआन्दोलन र पहिलो मधेश आन्दोलनपछि ओरालो लाग्दै गयो । आन्दोलनको रापतापले सबैभन्दा बढी असर गर्‍यो परीक्षा प्रणालीलाई । मुलुकमै सबैभन्दा बढी कडा परीक्षा हुने क्याम्पसको रुपमा परिचय कमाएको राराब सबैभन्दा बढी चोरी हुने क्याम्पसतर्फ उन्मुख हुन थाल्यो । राराबमा विद्यार्थीहरू पढाइ गर्न भन्दा पनि पास हुनका लागि नामाङ्ककन गराउन थाले । यहाँसम्म कि काठमाण्डौं लगायतका जिल्लाहरूबाट राराब गएपछि पास होइन्छ भन्दै परीक्षा दिनमात्रै जागिरेहरूले समेत नामाङ्कन गराए । र, डिग्री पनि पाए ।

परीक्षा प्रणालीका साथै यहाँ कार्यरत प्राध्यापकहरूको निजी मोहले समेत क्याम्पसलाई आरोलो लाग्न धकेलेको छ । राराबमा कार्यरत अधिकांश प्राध्यापकहरू निजी क्याम्पसहरूमा व्यस्त छन् । बाहिर राराबको प्राध्यापक हुँ भन्दै परिचय दिन व्यस्त देखिनेहरूलाई निजी क्याम्पसको मोहले घेरेको छ । राराबमा कार्यरत कतिपय प्राध्यापकहरू आफ्नै निजी कलेजसमेत खोलिसकेका छन् ।

प्राध्यापकहरूले निजी कलेजमा पढाउनुपूर्व त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । क्याम्पसमा घण्टी रहेको समय प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाउन पाउँदैनन् । र, सोहि अनुसार उनीहरूले त्रिविबाट स्वीकृति पनि लिएका छन् । तर कार्यान्वयन भने हुन सकेको छैन् । राराबमा कक्षा लिनुपर्ने समयमा कतिपय प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाइरहेका हुन्छन् ।

यसबारे राराबका प्रमुखपनि अनभिज्ञ भने छैनन् । तर नियमन गर्न असमर्थ देखिएका छन् । क्याम्पसको समयमा निजी शैक्षिक संस्थामा पढाउने प्राध्यापकहरूलाई कारबाही गर्ने आफ्नो अधिकार नरहेको बताउँछन् क्याम्पसका निमित्त प्रमुख वीरेन्द्र यादव ।

प्राध्यापकले लिएको स्वीकृतिको विवरण माग गर्दा क्याम्पस प्रमुख यादवले उपलब्ध गराउन अस्वीकार गर्दै सम्पूर्ण विवरण त्रिविमा पठाइसकेको बताए । 'त्रिविलाई हामीले निजी शैक्षिक संस्थामा कक्षा लिने प्राध्यापकहरूको विवरण पठाइ सकेका छौं' उनले भने,'कारबाही गर्ने अधिकार त्रिविको छ, हामी केहि गर्न सक्दैनौं ।' यद्यपी राराबमा कार्यरत प्राध्यापकहरूले निजी कलेज सञ्चालन गरिरहेपनि यहाँ नियमित कक्षा लिइरहेको उनको दाबी छ । क्याम्पसलाई पुरानै अवस्थामा फर्काउन परीक्षा प्रणालीका साथै प्रशासनीक सुधारतर्फ प्रयास भइरहेको यादवले बताए । परीक्षा प्रणाली विगतको भन्दा ६० प्रतिशत सुधार भइसकेको  उनको दाबी छ । पछिल्ला दिनहरूमा परीक्षाको क्रममा देखिएको चिट चोर्ने प्रवृत्तिमा हस आएको उनको  भनाइ थियो ।

प्राध्यापकहरूलाई घेरेको निजी क्याम्पसप्रतिको मोहका कारण राराबको यस्तो हविगत हुन पुगेको बताउँछन् पूर्व क्याम्पस प्रमुख नवेन्द्र निधि । 'राराबका स्थायी प्राध्यापकहरूले आफ्नै निजी क्याम्पस सञ्चालन गरेका छन्, कागजी रुपमा नदेखिएपनि लगानी गरेका छन्,' निधिले भने,'आफ्नै लगानी भएपछि मोह पलाउनु स्वभाविकै हो । तर यस्तै मोहका कारण राराबको साख खस्किदैछ । यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ ।'

राराबको पुरानो साख फेरि पनि फर्काउन सकिनेमा विश्वस्त देखिएका उनी भन्छन्,'अहिले पनि केहि बिग्रिएको छैन् । राराबको प्रतिष्ठा फेरी फर्काउन सकिन्छ । तर यसका  लागि यहाँ कार्यरत प्राध्यापकदेखि अध्ययनरत विद्यार्थी, कर्मचारी सबै इमान्दार बन्नु जरुरी छ ।' सबैले आ–आफ्नो दायित्व इमान्दारीपूर्वक निर्वाह गरे राराबले गुमाएको इज्जत फेरी पाउने उनले बताए ।

विज्ञान र वाणिज्य संकायमा कार्यरत राराबका अधिकांश प्राध्यापकहरू निजी शैक्षिक संस्थामा काम गर्दै आइरहेका छन् । कतिपय प्राध्यापकहरू दिनको १० देखि १५ घण्टीसम्म निजी क्याम्पसहरूमा लिँदै आइरहेको बताइएको छ । निजी क्याम्पसहरूले कक्षा लिएवापत राम्रो पारिश्रमिक दिने गरेको मोहले प्राध्यापकहरूलाई तात्रे गरेको विद्यार्थी नेताहरू बताउँछन् । नेवि संघका धनुषा जिल्ला सभापति सुजित मिश्रले राराबको गरिमा जोगाउने जिम्मेवारी प्राध्यापकदेखि सम्पूर्ण विद्यार्थीहरूको काँधमा आएको बताउँछन् । यहाँ कार्यरत प्राध्यापकहरूले निजी जस्तै गम्भीरता देखाइदिए सस्तो र सुलभ तरिकाले उच्च अध्ययनगर्न सकिने थलो राराब उभो लाग्ने उनको भनाइ छ ।

विद्यार्थीहरू कक्षा लिन नआउँदा पढाइको गुणस्तर खस्केको कतिपय प्राध्यापकहरूको गुनासो छ । विद्यार्थीहरू क्याम्पस आइदिए कक्षा लिन प्राध्यापकहरू बाध्य हुने तर यस्तो हुन नसकेको राराबमा कार्यरत अधिकांश प्राध्यापकहरूको भनाइ छ । क्याम्पसमा नामाङ्कन गराएपनि जाँच दिनमात्र आउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनीहरूको जोड छ ।

कुनै समय १० हजारभन्दा बढी विद्यार्थी हुने गरेको राराबमा अहिले एक हजार विद्यार्थीमा सीमित भएको छ । त्रिविबाट प्रवीणता प्रमाणपत्र तहको अध्यापन विस्थापित भएकाले पनि विद्यार्थी संख्या घटेको बताइन्छ ।

एक हजार विद्यार्थीलाई पढाउन राराबमा अहिले स्थायी एक सय र आंशीक ५० गरी करिब १ सय ५० प्राध्यापक कार्यरत छन् । क्याम्पसमा कार्यरत कर्मचारी ७० जना छन् ।

क्याम्पसले स्नातक तहमा विज्ञान, वाणिज्य, मानविकी, शिक्षा, कम्युटर, माइक्रो बायोलोजी, वातावरण विज्ञानलगायतका विषयहरू अध्ययापन हुँदै आइरहेको छ । निजीभन्दा सस्तो शुल्कमा पढाइ भएपनि विद्यार्थी संख्या बढाउन सकिएको  छैन् । क्याम्पस प्रशासनका अनुसार माइक्रो बायोलाजीतर्फ दुईजना विद्यार्थीमात्र छन् ।

यसैगरी स्नातकोत्तरततर्फ गणित, र्ईपीएम, अंग्रेजी, राजनीति शास्त्र,  अर्थशास्त्र, जनसंख्या, सामाजिक विज्ञान, नेपाली, मैथिलीलगायतका संकाय सञ्चालनमा छन् ।

स्थानीय रामसागर र रामस्वरुप साहले ठुलो योगदान पुर्‍याएर राराब क्याम्पस स्थापना गर्न लगाएका हुन् । २००४ सालमा जनकपुरमा सरस्वती माध्यमिक विद्यालय स्थापना गरिसकेपछि सकलीदेवी साहले आफ्ना छोरा रामस्वरुप र रामसागरलाई छात्राहरूका लागि छुट्टै विद्यालय स्थापना गर्न सुझाव दिएकी थिइन् । उनीहरूले सरस्वती मावि स्थापना गरेको करिब चार वर्षपछि जग्गा र नगद दान गरेर जनकपुरमा क्याम्पस स्थापना गर्न लगाए । जग्गा र पैसा सहयोग गरेकै कारण क्याम्पसको नाम रामस्वरुप र रामसागर राखियो । क्याम्पस स्थापना भइसकेको ६ वर्षपछि उनीहरूले जनकपुरमा सकल भवन कन्या माविसमेत स्थापना गराए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।