काठमाडौं- मुलुक सञ्चालनको बाटो कोर्ने अर्थात् कानुन निर्माण गर्ने थलो संसद् आफैँ सूचना प्रविधिको सबालमा थला परेको छ ।
देश विकासका मुद्दामा चर्काचर्की बहस हुने थलोको वेबसाइट नै अपडेटविहीन छ । घटनाक्रम कहाँबाट कहाँ पुगिसक्दा समेत संसद्को वेबसाइट नियमित रूपमा अपडेट हुने गरेको छैन ।
साइटको अपटेड कतिसम्म सुस्त छ भने आज फागुन ५ गते भइसक्यो, तर उसले प्रतिनिधिसभा बैठक २०७५ फागुन ३ गते शुक्रबार दिनको ३ः०० बजे बस्नेछ । स्क्रोलिङ गरिरहेको छ ।
फागुन ३ गते बैठक बसीकन सभामुख कृष्णबहादुर महराले बैठक फागुन ६ गतेसम्मका लागि स्थगित गरेका छन् । तर, यसको जानकारी संसदको वेबसाइटमा पाइँदैन । वेबसाइट अपडेट गर्ने का संसद् सचिवालयअन्तर्गतको सूचना प्रविधि शाखाले गर्दै आएको छ ।
शाखाको गैरजिम्मेवारी यतिमात्रै छैन, प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरा निर्वाचित भएको एक वर्ष पुग्नै लाग्यो । तर, अझैसम्म सत्ता पक्षको बेन्च बसेको उनको फोटो संसद्को वेबसाइटमा राखिएको छ । उनी फागुन २६ गते सभामुखमा निर्वाचित भएका थिए । संसद्को वेबसाइट हेर्दा महरा अझै सभामुख भएका छैनन् ।
समाचार तथा गतिविधि भन्ने सेक्सन राखिएको छ । तर, त्यसको अपडेट गएको पुस ३० गतेपछि गरिएको छैन । अपडेटविहीन करिब ढेड महिना बीचमा संसद्ले केही गतिविधि नगरेर नै अपडेट नगरिएको हो ? होइन । यहाँ कार्यरत कर्मचारीले मन लागे अपडेट गर्ने र मन नलागे अपडेट नगर्ने गरेकाले यस्तो भएको हो ।
अझै संसद्अन्तर्गतका समितिहरुले गरेका कामकारबाहीको विषयको जानकारी त अझै पाइँदैन । ती समितिहरुले के गरे ? कुनकुन एजेन्डामा छलफल भए ? आज के हुँदैछ ? यसको जानकारी संसद्को वेबसाइटमा भेटिँदैन ।