जनकपुरधाम- दाइजोका लागि बुहारी र नातिनीको हत्या गरेको आरोपमा अदालतले सासु र ससुरलाई पुर्पक्षको लागि हिरासतमा राख्न आदेश दिएको छ ।
जिल्ला अदालत धनुषाले जनकपुरधाम–४ बस्ने सीमा शर्मा र सीमाकी साढे दुई वर्षीया छोरी गौरीलाई दाइजोको लागि हत्या गरेको आरोपमा सासु र ससुरालाई पुर्पक्षका लागि हिरासतमा पठाउन आदेश दिएको हो ।
जिल्ला अदालत धनुषाका न्यायाधीश ऋषिराम निरौलाले मुद्दा उपर सुनवाइ गर्दै मृतकलाई आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुर्याउनेहरुको कार्यपनि दण्डनीय रहेकोले दुबैजनालाई पुर्पक्षका लागि हिरासतमा राख्ने आदेश दिएको छ ।
अदालतको आदेश लगत्तै सीमाका ससुरा श्यामकिशोर मिश्र र सासु किरण मिश्रलाई महोत्तरीको जलेश्वरस्थित कारागार पठाइएको छ । दाइजोका लागि ससुरा श्यामकिशोर, सासु किरण र श्रीमान् समीर मिश्रले सीमा र गौरीको हत्या गरेको भन्दै सीमाका भाइ सुजित मिश्रले प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।
यद्यपी श्यामकिशोर र किरणले भने प्रहरी तथा अदालतसमक्ष सीमाले छोरी गौरीलाई विष खुवाई आफूपनि विष सेवन गरेर आत्महत्या गरेको बयान दिएका छन् ।
तर सीमाले विष सेवन गरी आत्महत्या गर्नुपर्ने कारणबारे उनीहरुले स्पष्ट पार्न नसकेको अदालतको आदेशमा भनिएको छ । ‘मृतकले विष खाएको भनिएको समय साढे दश बजेभन्दा एकै छिनअघि सीमले ससुरालाई खुशीसाथ खाना दिएको भन्ने तथ्य प्रतिवादीकै वयान खुलेको हुँदा एक घन्टाअघि खुशी रहेकी बुहारी के कति कारणले एक घन्टापछि आत्महत्या गर्न विष सेवन गरेकी हुन ? प्रतिवादीहरुले बयानको क्रममा स्पष्ट पार्न सकेको नदेखिएको,’ आदेशमा उल्लेख छ ।
छोरी गौरीलाई विष खुवाई आफुले पनि विष खाई आत्महत्या गरेको भनिएकी सीमाको १ माघ राती १२ बजेर ५ मिनेटमा र छोरी गौरीको भोलिपल्ट बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालको प्रतिवेदनमा भनिएको छ । आदेशका लागि अदालतले उपचार प्रतिवेदनलाई समेत आधार बनाएको छ ।
आदेशमा भनिएको छ,‘आमा-छोरीको उमेर र विष पचाउन सक्ने क्षमतासमेतबाट आमाभन्दा छोरीको मृत्युहु पहिले हुनुपर्नेमा सीमाभन्दा छोरी गौरीको मृत्यु पछि भएको देखिंदा आमा सीमाभन्दा छोरीलाई पछि विष खुवाएको अनुमान गर्नुपर्ने अवस्था देखिएको छ ।’
प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बुहारी सीमाले आफै विष सेवन गरी नातिनी गौरीलाई पनि वेहोस पारेको बताएका छन् । तर वारदातको समयमा नातिनी आफूसँग रहेको अदालतसमक्ष दिएको बयान विष खुवाइएको कोठाभित्र रहेकी नातिनी आफूसँग रेहेको भनाइ पत्यारलाग्दो नदेखिएको आदेशमा उल्लेख छ । घटनापछि वारतदातस्थल घरबाट यथासमयमा अस्पताल पु¥यान नसकिएकोसमेत आदेशमा जनाइएको छ ।
सीमाका भाइ सुजित शर्माले ससुरा पक्षले दाइजो ल्याउन पटकपटक दबाब दिँदै आइरहेको आरोप लगाउँदै ससुरा श्यामकिशोर, सासु किरण र पति समीरलाई प्रतिवादी बनाउँदै प्रहरीमा जाहेरी दिएका छन् । ससुरा र सासु पक्राउ परेपनि सीमाका श्रीमान् समीर घटनापछि फरार भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४