धनगढी- तत्कालीन विद्रोही नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो आक्रमण मानिएको अछाम आक्रमणको आज १७ बर्ष पुरा भएको छ। अछाम र अछामीको दुर्गती सुरु भएको दिनका रुपमा रहेको २०५८ फागुन ४ गते राती जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगर आक्रमण भएको थिया।
आक्रमणबाट ऐतिहासिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भएका थिए भने ध्वस्त बनेको करिब १७ वर्ष र पुनःनिर्माण सुरु भएको ११ बर्षसम्म पनि दरबार निर्माणको काम अधुरै रहँदा त्यहाँ पुग्ने सबैलाई खिन्नता बोध हुने गर्छ। पुरानै स्वरुपमा पुनःनिर्माण गर्ने भनि काम थालिए पनि जिम्मा लिने ठेकेदारको लापरबाहीले दरबार अझैँ अधुरै छ। आवश्यक काठको अभाव देखाउँदै ठेकेदारले निर्माणमा ढिलासुस्ती गरिरहेको छ।
अछाम दरबार आक्रमणका बेला जिल्ला प्रशासन कार्यालय संचालमा थियो। आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिए। पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको मृत्यु भयो। क्याप्टेनसहित तत्कालीन शाही नेपाली सेनाको मंगलसेन गुल्म सखाप भयो। क्याप्टेनसहित ५३ जना सेना मारिए। ५९ प्रहरी निजामतीका दुई र सर्वसाधारण आठ गरी मंगलसेनमा एक सय २२ को ज्यान गएको थियो। माओवादीले साँफेबगरमा समेत सोही रात आक्रमण गरे। विमानस्थल सुरक्षा गार्ड साँफेबगरमा कार्यरत २७ जना प्रहरी पनि त्यसै राति मारिए।
१७ बर्ष अघिको त्यस रातलाई सम्झँदै मंगलसेनबासी अहिले पनि भक्कानिन्छन्। कुनै बेला संस्कृति र सम्पत्तिको बेग्लै पहिचान बनाएका अछामीका काला दिन त्यही घटनाबाट सुरु भए। भएभरका सरकारी संरचना ध्वस्त भए। भयावह मानवीय क्षति भयो। जायजेथा सबै गुम्यो। बैंकमा राखेको नगद र गरगहना सबै माओवादीले लुटेर लिए। नागरिकसँग जग्गा भए पनि प्रमाण रहेन। अछाम पूरै तहसनहस भयो।
पहुँच पुर्याउन सक्ने केहीले बैंकमा राखेको नगद र गरगहना फिर्ता पाए पनि कतिपय सर्वसाधारणले अझै फिर्ता पाएका छैनन्। ‘द्वन्द्व कालमा विस्थापित भएर भारत पसियो, पछि आउँदा बैंकले जम्मा गरेको रकम दिन मानेन’ बर्दादेबीका लोगबहादुर कुँवरले भने, ‘राष्ट्रिय वाणिज्य बैंकमा मुद्दती खातामा राखेको ६० हजार अहिले पनि फिर्ता पाएको छैन।’ जग्गाधनी प्रमाणपुर्जा नभएकाले बैंकमा अझै कारोबार गर्न पाएका छैनन्।
१७ वर्षको अवधिमा मंगलसेनको भौतिक स्वरूप फेरिए पनि नागरिकलाई भने सास्ती थपिएको छ। बजारभन्दा एक घण्टामाथि ठाडो डाँडामा अधिकांश सरकारी कार्यालयका नयाँ भवनहरू निर्माण भएका छन्। शिक्षा कार्यालयबाट प्रशासन पुग्न घण्टौं हिँड्नुपर्ने अवस्थाबाट सर्वसाधारण आक्रोशित छन्। अछाम आक्रमण नै अछाम र अछामीको प्रगतिको लागि प्रमुख बाधक बनेको बताउँछन् स्थानीयबासी अध्यक्ष चन्द्रप्रसाद ढुंगाना।
घट्नापछि आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रुपमा महत्व राख्ने अधिकांश मानिस विस्थापित भएर जिल्ला बाहिर गएकाले जिल्लाको सम्वृद्धि पछाडी धकेलिएको उनको बुझाई छ। आक्रमणपछि अछामले विशेष योजनामा प्राथमिकता नपाएको कतिपयको गुनासो छ।
प्राप्त योजनामा समेत अनियमितता भएको अर्का थरीको आरोप छ। पुनर्निर्माणका क्रममा मंगलसेन भ्रष्टाचारको अखडा बनेको प्रमाण जिल्ला प्रशासन कार्यालयको चुहिने भवनले देखाउँछ। छत भत्किने डरले प्रजिअ कक्षको बीचबाट टेको दिएर अड्याइएको छ।
अछामका अधिकांश निर्माण व्यवसायी ठेक्का हातपार्न मरिहत्ते गर्ने तर काम समयमै सम्पन्न गर्नतर्फ चासो नदिने समस्या व्याप्त छ। एउटै ठेकेदारले धेरै ठेक्का ओगट्ने तर समयमै निर्माण सम्पन्न गर्न नसक्ने कारणले नै जिल्लाका अधिकांश योजना निर्माणको काममा ढिलाई हुने गरेको छ। जिल्ला पुनर्निमाण अन्र्तगत नयाँ निर्माण भएका २२ वटा कार्यालयमध्ये १५ बढी कार्यालय निकै ढिलो मात्र निर्माण सम्पन्न भएका छन्। अछाम सदरमुकाम ध्वस्त भएपछि जिल्लाको विकास दशकाँै वर्ष पछाडी धकेलिएको छ ।
रातभरि लडियो तर राज्यले मूल्याकंन गरेन
अछाम नरसंहारको जिउँदा इतिहासका रुपमा रहेकाहरुले राज्यले आफूहरुको उचित मुल्याकंन गर्न नसकेको गुनासो गरेका छन्। आक्रमणमा रातभर लडेर ज्यान जोगाएका सुरक्षाकर्मीहरुले आफ्नो योगदानको कदर नभएको गुनासो गरेका हुन्।
‘आफ्नो ज्यानको बाजी थाप्दै देशका लागि लडियो र थुप्रैको ज्यान पनि जोगाईयो तर राज्यबाट खासै मुल्याकंन भएन’ मंगलसेन आक्रमणमा रातभर लडेर बाँचेका कमलापती पन्तले गुनासो गरे, ‘पहुँच हुनेहरुले मान सम्मान र राम्रो अवसर पनि पाए आफूले टुलुटुलु हेरिरह्यौं।’ करिब ८ महिनापछि सेवा निवृत्त हुन लागेका पन्त प्रहरी नायब निरीक्षक पदमा कार्यरत छन्। पहुँच हुनेहरु घट्नामा नपरेकैले पनि विदेशको अवसर पाएको र मान सम्मान पाएको भन्दै पन्तले आफूहरुलाई एक तह बढुवा दिनुबाहेक कुनै अवसर नदिएको गरे।
कमलपति पन्त
१७ बर्ष अघिको घट्नाको त्यो रात सम्झिँदै पन्तले आँखै अघि गोली लागेर सहकर्मीहरुको ढल्दा आफू पनि अवश्य मर्छौ भन्ने सोचेको बताए। देशका लागि लड्ने र राम्रो काम गर्नेको कतै पनि मुल्याकंन नहुने उनले बताए। सोही दिन साँफेबगरमा भएको आक्रमणमा रात भर लडेर ज्यान जोगाउने मध्येका एक इन्द्रबहादुर खडकाले पनि राज्यले आफूहरुको कुनै मुल्याकंन नगरेको गुनासो गरे।
‘रातभर लडेकाहरुकोले कुनै अवसर र सम्मान पाएनौं। जो कोठामा सुतेका थिए तिनीहरुले बढुवा र सम्मान पाए’ खडकाले भने, ‘आफ्नो पहुँच नभएकाले मैले त एक तह बढुवा पनि पाएन।’ घट्नामा नलडेकाहरु पनि कतिले विदेश जाने अवसर पाएको भन्दै उनले आफ्नो पटक–पटक नाम छनौट हुँदा पनि हेडक्वार्टरबाट काटिने गरेको उनले सुनाए। १९ बर्ष सेवा अवधि पुगिसकेका खडका अहिले पनि हवलदार पदमा कार्यरत छन्। उनीसँगै कार्यरत तर घट्ना हुँदा बाहिर रहेका कतिपय प्रहरी नायब निरीक्षकमा पुगिसेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४