शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोबाइलले खोल्‍यो सुनको पोल, भारतमा १७९ नेपाली अलपत्र

मोबाइलले खोल्‍यो सुनको पोल, भारतमा १७९ नेपाली अलपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट शनिबार प्रकाशित पत्रपत्रिकामा विभिन्‍न विषयलाई प्राथमिकता दिएर समाचारहरु छापेको छ। नेपाल समयको बिहानी अपडेटमा अखबारले छापेका मुख्य समाचारहरु र रातभरी भएगरेका घटना तथा गतिविधिहरुलाई यहाँ प्रस्तुत गरिएको छ। 

तयार भयो नेपालकै पहिलो भू-उपग्रह शिर्षकमा आजको कान्तिपुर दैनिकमा समाचार छ। नेपालको पहिलो भू–उपग्रह तयार भएको छ। नेपाली–स्याट–१ नाम दिइएको भू–उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए।

शुक्रबार जापानस्थित क्यूसू इन्सिटिच्यूट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै भू–उपग्रह निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको हो। जापानमा रहेका उपकुलपति श्रेष्ठले कान्तिपुरसँग भने,‘स्याटालाइट निर्माण कार्य सम्पन्न भएको छ। यो हाम्रो लागि ऐतिहासिक दिन हो। ’

यस्तै, शुक्रबार नै क्यूटेकका प्रेसिडेन्ड यूजी ओईएले नास्टका उपकुलपति श्रेष्ठलाई भू–उपग्रहको प्रतिमा हस्तान्तरण गर्दै नेपाललाई बधाई दिए।‘बर्डस’कार्यक्रम अन्तर्गत नेपाल सरकारको तर्फबाट नास्टले भू–उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो। उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए।

मोबाइलले खोल्यो सुनको पोल

भारतबाट ल्याइएको साढे २३ किलो सुन पचाउने खेल विफल भएको समाचार नागरिक दैनिकमा छ।  मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो। भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन्। त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए। उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल लगेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ। त्यसपछि प्रहरीले लक्ष्मण तिरुवासहित सो गाडीको खोजतलासी गर्न थाल्यो।

पुस ८ गते प्रहरीले कोहलपुरको अतिथि होटलमा सो गाडी बेवारिसे अवस्थामा फेला पार्‍यो र उजुरीकर्ता भारतीय व्यापारीलाई कानुनी प्रक्रिया पुर्‍याएर जिम्मा लगायो। त्यस गाडीमा सुन थियो भन्ने पुसको दोस्रो सातामात्रै प्रहरीले थाहा पायो।

महाअभियोगबाट बच्‍न राजिनामा

महाअभियोगबाट बच्‍न राजिना दिएको भन्दै पन्छिए पाठक शिर्षकमा आजको अन्‍नपूर्ण पोस्टले समाचार छापेको छ। घुस प्रकरणको भिडियो सार्वजनिक भएपछि विवादमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक अन्ततः राजीनामा दिँदै बाटो लागेका छन्। शुक्रबार मध्याह्न ११ बजे राष्ट्रपति कार्यालय पुगेर राजीनामा पत्र बुझाउँदै पाठक अख्तियारबाट बाहिरिएका हुन्। सत्तारूढ दल नेकपाले महाभियोग प्रस्ताव अघि बढाउने तयारी थालेपछि पाठक दबाबमा थिए। महाभियोगको कारबाहीबाट उम्कन राजीनामा दिए पनि उनीविरुद्ध अख्तियारले छानबिन गर्ने भएको छ।

अख्तियार एक आयुक्तका अनुसार पाठकले राजीनामा दिएपछि अख्तियारको भूमिकाबारे आयोगमा आयुक्तबीच अनौपचारिक कुराकानी भएको थियो। ती आयुक्तका अनुसार आइतबार आयोगले ठोस निर्णय लिनेछ। ‘संविधानको धारा २३९ को व्यवस्थाअनुरूप छानबिन गर्न सकिने वा नसकिने भन्ने विषयमा अनौपचारिक कुराकानीकै तहमा छ’, ती आयुक्तले भने, ‘सम्भवतः परिवर्तित सन्दर्भमा आइतबार आयोगको बैठक बसेर केही निर्णयमा पुग्ला। प्रमुख आयुक्तज्यू पनि यो विषयमा निकै गम्भीर र चिन्तित देखिनुभएको छ।’

नेविसंघको ४८ वर्ष : ११ महाधिवेशन, १८ सभापति

नेविसंघको ४८ वर्ष : ११ महाधिवेशन, १८ सभापति शिर्षककमा आजको नयाँ पत्रिका दैनिकमा समाचार छ। कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ। कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ।

पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना गर्न पुगेका थिए। विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर पहिलो सभापति भएको ४८ वर्षसम्म आइपुग्दा १८ जनाले कांग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्थामा सभापति हुने मौका पाएका छन्। जसमा ६ निर्वाचित, पाँच सर्वसम्मत र सात सभापति तदर्थ समितिबाट छानिएका छन्।

भारतमा १७९ नेपाली अलपत्र नेपाल ल्याउन पहल

भारतमा १७९ नेपाली अलपत्र नेपाल ल्याउन पहल शिर्षकमा आजको राजधानी दैनिकमा समाचार छ। रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ जना नेपाली प्रहरीको नियन्त्रणमा परेका छन्। विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखेको हो। अलपत्र पर्नेमा अधिकांश महिला छन्। नेपाल पक्षले उनीहरूको उद्धारको प्रयास गरे पनि अझै सफल हुन सकेको छैन। परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरीबाट भारतमा फसेका नेपालीलाई स्वदेश ल्याउने प्रयास भइरहेको छ।

सरकारले उनीहरूलाई उद्धार तथा राहतका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन नियन्त्रण शाखा प्रमुखको संयोजकत्वमा १२ सदस्यीय एक उपसमिति गठन गरेको छ। ‘नेपालीहरू रोजगारीका सिलसिलामा बिदेसिने क्रममा हाल भारतको मणिपुरस्थित विभिन्न सेल्टरमा १७९ जना रहेको भन्ने सूचनाको आधारमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा नेपालमा ल्याउन पहल भइरहेकाले नेपालमा ल्याइसकेपछि पूर्वी नाका काँकडभिट्टादेखि काठमाडौंसम्म उद्धार गरी ल्याउनका साथै पीडित तथा प्रभावितहरूको उचित व्यवस्थापनका लागि उपसमिति गठन गरी उद्धार तथा पुनस्र्थापना कार्य प्रभावकारी रूपमा गर्ने,’ सरकारको निर्णयमा उल्लेख छ। 

फेरि अनिर्णयको बन्दी बन्यो मेलम्‍ची

मेलम्ची फेरि अनिर्णयको बन्दी शिर्षकमा आजको नेपाल समाचारपत्रमा समाचार छ। मेलम्ची खानीपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य ठेकेदार कम्पनीसँग ठेक्का तोडेको घोषणा गरेपछि अब निर्माण कार्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्न सकेको छैन।

कार्यक्षेत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनालाई पटक–पटक सम्पर्क गर्दासमेत सम्पर्कमा नआएको भन्दै समितिले माघ २४ मा ठेक्का तोडेको घोषणा गरेको थियो।

समितिले माघ ६ मा ठेक्का किन नतोड्ने भन्दै कम्पनीलाई अन्तिम पत्र पठाएको थियो। कम्पनीसँग समितिले ठेक्का तोडेको घोषणा गरे पनि समितिको बोर्ड र खानेपानी मन्त्रालयले अझैसम्म कुन मोडलमा अगाडि बढ्ने भन्ने बारेमा निर्णय गर्न सकेको छैन। जसका कारण मेलम्चीको भविष्य अन्यौलमा परेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।