उर्लाबारी- मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को १ च ९३२४ नं को पिकअप बिहीबार साँझ सडकको उकालोमा अनियन्त्रित भई क्षेत्रीखोलामा खस्दा चालक मोरङ, लेटाङ नगरपालिका–८ का ४५ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा पिकअपमा सवार लेटाङ नगरपालिका-१ कै ४५ वर्षीय तिलबहादुर राई र मिक्लाजुङ गाउँपालिका–५ का २० वर्षीय सुधीर नेपाल घाइते भएका छन् । घाइते दुवैको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
पिकअप भ्यान दुर्घटनास्थलमै रहेको छ भने मृतकको शवलाई परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४