जनकपुरधाम- प्रदेश २ को संसदीय समितिअन्तर्गत लेखा समितिको अध्यक्ष मनोनयनको विषयमा विवाद उत्पन्न भएको छ। अन्य समितिहरुमा सर्वसम्मतीले अध्यक्ष निर्वाचित भएपनि लेखा समितिको अध्यक्ष मनोयनकै विषयमा विवाद उत्पन्न भएको हो।
विवादले उग्र रुप लिँदा सभामुख सरोज यादवमाथि दुर्व्यवहारसमेत भएको छ। विवाद उत्पन्न भएपछि छलफलका लागि पुगेका नेकपाका सांसदहरुले सभामुखको कार्यकक्षभित्रै दुर्व्यवहार गरेका छन्। सभामुख यादवले समेत आफूमाथि दुर्व्यवहार भएको स्वीकार गरेका छन्।
नेकपा केन्द्रीय कमिटीले सार्वजनिक लेखा समितिको अध्यक्षमा भरत साहलाई उम्मेदवार बनाउने निर्णय गरेपनि सोहि दलबाट अन्तिम समयमा शत्रुध्न महतोकोसमेत उम्मेदवारी दर्ता भएपछि विवाद उत्पन्न भएको हो।
समितिका सभापतिमा मनोनयन दर्ताका लागि समितिकै सदस्यहरु मध्ये एकजना प्रस्तावक र एकजना समर्थक चाहिन्छ। सार्वजनिक लेखा समतिमा नेकपाका उम्मेदवार साहसहित चारजना सांसद सदस्य छन्। तर समितिमा नेकपाका सांसद महतो र रामकुमार यादव अनुपस्थित थिए। दुईजना सांसद अनुपस्थित भएपछि नेकपाले लेखा समितिका अध्यक्षका उम्मेदवार बनाएका साहका प्रस्तावक नेकपा सांसद लगनलाल चौधरी बने।
नेकपा सदस्य साहले प्रस्तावक पाएपनि समर्थक पाइरहेका थिएनन्। समितिमा सदस्य रहेका नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राजपाले समेत समर्थक बन्न असहयोग गर्यो। यद्यपी मनोनयन दर्ताको समय सकिन आधा घण्टामात्र बाँकी छँदा नेकपा सांसद लगनलाल चौधरीलाई प्रस्तावक र नेकपाकै सांसद रामकुमार यादवलाई समर्थक बनाउँदै अध्यक्ष पदका उम्मेदवार साहले ४:३० बजे उपसचिव शान्तिराज प्रसाईंसमक्ष मनोनयन दर्ता गराए। उपसचिव प्रसाईंले समर्थक बनेका यादव उपस्थित रहेको नरहेको प्रश्न गरे। अध्यक्ष पदका उम्मेदवार साहले उनी हस्ताक्षर गरेर गइसकेको जवाफ दिए।
साह उपसचिव प्रसाईंकै कार्यकक्षमै बसिरहेका बेला मनोनयन दर्ताको समय सकिन करिब १० मिनेट बाँकी छँदा नेकपाकै अर्का सांसद महतोको मनोनयनपत्र आइपुग्यो। र, उनको मनोनयनपत्र बोकेर आएका थिए, कांग्रेस सांसद नरेश यादव। महतोका प्रस्ताव कांग्रेस सांसद नरेश यादव र समर्थक संघीय समाजवादी फोरमका सांसद पारस साह बनेका छन्।
अध्यक्ष पदका उम्मेदवार साहले सांसद यादवको हातबाट मनोनयनपत्र लिएर उपसचिव प्रसाईंकै सामुत्रे च्यातेर फालिदिए। त्यसपछि शुरु भयो विवादको क्रम। सभामुख यादवले उपसचिव प्रसाईंलाई आफ्नो कार्यकक्षमा बोलाए। तर प्रसाईंसँगै नेकपाका लेखा समितिका अध्यक्ष पदका उम्मेदवार साह, संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मालगायतका सांसदहरु पनि सभामुखको कार्यकक्षमा पुगे।
छलफलको क्रममा नेकपा संसदीय दलका नेता मण्डलले सभामुखले राजनीति गरिरहेको भन्दै कडकिए। जबाबमा सभामुख यादवले संसदीय दलका नेता मण्डललाई ‘तँपाई बाहिर निस्कनुस’ जबाब फर्काएका थिए । सभामुख यादवले यस्तो बोले लगत्तै कार्यकक्षमा उपस्थित नेकपाका सांसदहरु यादवतर्फ झम्टिए । झन्डै हातपातको स्थिति सिर्जना भएपनि त्यहाँ उपस्थित मर्यादापालकहरुले नियन्त्रणमा लिन सफल भएका थिए।
के भन्छन् सभामुख ?
सभामुख सरोज यादवले कुरा नबुझेर आफूसँग यस्तो व्यवहार प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् । छलफलपछि बाहिरिएका सभामुख यावले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकपटकको लागि नेकपा सांसदहरुलाई क्षमा गरेको बताएका छन्। ‘उहाँहरुले कुरा नबुझेर यस्तो व्यवहार प्रदर्शन गर्नु भएको छ,’ उनले भने,‘कारबाही त गर्न सकिन्छ । तर एकपटकका लागि उहाँहरुलाइ क्षमा गरेको छु।’
प्रदेश सरकारसँग सहमति भएपनि कुनै सांसदलाई मनोनयन दर्ता गर्नबाट रोक्ने अधिकार आफूसँग नरहेको उनले बताए। ‘नेकपाकै अर्का सांसदले मनोनयन दर्ता गराउनु भएको छ,’ सभामुख यादवले भने,‘आफ्नो पार्टीभित्रको विवाद उहाँहरुले मिलाउन सक्नु पर्दछ।’
सत्ताधारी दल र कांग्रेसको डिजाइन-मण्डल
नेकपा संसदीय दलका नेता मण्डलले प्रदेश सरकारसँग सहमति भएपनि सत्तासाझेदार दल संघीय समाजवादी फोरम र राजपा तथा कांग्रेसको डिजाइनमा पार्टीले लेखा समितिको अध्यक्ष पदमा सिफारिस गरेका साहलाई रोक्ने खेल भइरहेको आरोप लगाएका छन्।
किन विवाद भएको हो सञ्चारकर्मीहरुको जिज्ञासामा मण्डलले,‘सभामुख सरोज यादव र कांग्रेसलाई’ गएर सोध्नुस जबाफ फर्काए । राजपा र फोरमसँग मिलेर लेखा समितिको अध्यक्ष बत्रबाट रोक्न कांग्रेसले यस्तो डिजाइन तयार पारेको उनको आरोप छ।
सांसद मण्डलले सभामुख नालायक रहेको र राजनीति गरिरहेको आरोप लगाउँदै उम्मेदवार नै नआइ दर्ता गरिएको मनोनयन आफूहरुलाई स्वीकार नहुने बताए ।
नेपाल कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले नेकपाबाट समितिका अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका शुत्रध्न महतोतर्फ इंगित गर्दै भने,‘सहयोग मागेपछि आफूहरुले सहयोगमात्र गरेका हौं।’
शुक्रबार बिहान चुनाव
सार्वजनिक लेखा समितिका अध्यक्ष पदका लागि दुइजनाको उम्मेदवारी दर्ता भएपछि शुक्रबार बिहान चुनाव हुने भएको छ । संसद सचिवालयले बिहान १० बजे निर्वाचनको समय तय गरेको उपसचिव प्रसाईंले जनाएका छन् । चुनाव भएको अवस्थामा शत्रुध्न महतो अध्यक्ष पदमा निर्वाचित हुने करिब करिब पक्का देखिएको छ।
समितिमा १३ जना सदस्य रहेका छन् । जसमध्ये नेकपाको ४, कांग्रेसको ३, राजपा ३ र संघीय समाजवादी फोरमका ३ जना सदस्य छन्। कांग्रेस, राजपा र फोरम एकतर्फ देखिएकाले महतो अध्यक्षमा निर्वाचित हुने करिब करिब पक्का भएको हो।
सत्ता गठबन्धनका संघीय समाजवादी फोरम र राजपाका साथै प्रतिपक्षी नेपाली कांग्रेस एक भएपछि नेकपाले सिफारिस गरेको अध्यक्ष पदका उम्मेदवार साह घेराबन्दीमा परेका छन्।
६ वटा समिति निर्विरोध
लेखा समितिका अध्यक्ष छान्न विवाद देखिएपनि अन्य ६ समितिका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपाका रामचन्द्र मण्डल, प्रदेश मामिला समितिमा फोरमका अशोक यादव, विकास समितिमा फोरमकै शेख अबुल कलाम, कृषि तथा भूमि व्यवस्थापन समितिमा कांग्रेसका बीरेन्द्र सिंह र महिला बालबालिका तथा समाजिक न्याय समितिमे जयनुल राईन निर्विरोध निर्वाचित भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४