धनगढी- कञ्चनपुरको पुनर्बासबाट बरामद भएको १८ किलो सुन प्रकरणमा प्रहरीकै संलग्नता रहेको आशंका गरिएको छ। सुन संगै पक्राउ गरिएका व्यक्ति कैलालीमै कार्यरत सादा पोशाक परिचालित हुने (घुमुवा) प्रहरी जवान सुरज तिरूवा र उनका भाइ लक्ष्मण तिरूवा रहेको खुलेको छ।
निर्मला पन्त हत्याको अनुसन्धानका लागि कञ्चनपुरमै रहेको सीआईबी, अपराध महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको टोलीले सुन बरामद गरेको हो। कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सेनाले प्रहरी जवान तिरुवा पक्राउ गरेको पुष्टि गरे। तिरुवा पक्राउ परेका हुन तर उनको संलग्नता छकि छैन भन्ने वारेमा भने सिआईविले नै अनुसन्धान गर्ला। उपत्यका बाहिर पक्राउ परेको यो ठूलो परिमाणको सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको थियो। स्रोतका अनुसार यो अवैध सुन हो।
सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको बताइएको छ। प्रहरी स्रोतका अनुसार दुई महिनाअघि नै सुन कैलाली पुगेको हो। लक्ष्मणले भारतबाट भारतीय नागरिकको गाडीसहित सुन ल्याएको प्रहरी स्रोतको भनाइ छ। ‘भारतीय नागरिकले कैलालीबाट गाडी लिएर गए,’ प्रहरी स्रोत भन्छ, ‘तर, तस्करीको सुन भएकाले कहिँकतै प्रहरीमा उजुरी गरेनन्। सुन कैलाली पुर्याएपछि लक्ष्मण फरार भएका थिए।’
लक्ष्मणका दाइ सुरज नेपाल प्रहरीमा कार्यरत भएकाले उनले आफ्नो ससुरालीमा सुन खाल्टोमुनि लुकाएर राखेका थिए। भारतीय व्यापारीले नेपालबाट त्यो सुन भारत लगेको हुन सक्ने आशंका छ। लक्ष्मण भारतीय व्यापारीको चालकको रुपमा काम गर्दै आएको बताइएको छ। सुन बेच्ने र सुनबारे जानकारी भएकालाई मिलाउने विषयमा विवाद हुँदा सुनको सूचना चुहिएको प्रहरी स्रोतले बतायो।
सुन १८ किलोग्राम मात्रै हो वा अरु पनि थियो भन्नेबारे अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ। ‘प्रहरीले ठूलो सफलता पारेको छ, काठमाडौं बाहिर यति ठूलो परिमाणमा सुन कमै समातिएको छ’ एक अधिकारीले भने।
सुन तस्करहरुले भारतबाहेक तेस्रो मुलुकबाट सुन नेपालको बाटो हुँदै भारत लैजाने गरेको विभिन्न अनुसन्धानले देखाएको छ। त्यो सुनपनि नेपाल हुँदै भारत गएको र भारतबाट लक्ष्मणले नेपाल ल्याएको हुनसक्ने अनुसन्धानले देखाएको एक अधिकारीले बताए। साढे ३३ किलो सुन प्रकरण चर्चामै रहेको बेला प्रहरीले कञ्चनपुरबाट १८ किलोग्राम सुन बरामद गरेको हो। नेपाली बजारमा १८ किलो सुनको मूल्य करिव साढे ९ करोड रुपैयाँ हुन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४