शनिबार, साउन १६, २०८३

जनयुद्ध दिवसमा फाटेको ओली-प्रचण्डको मन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- फागुन ३ गते केपी ओली नेतृत्वको सरकार बनेको एक वर्ष पुग्ने कुरा अचानक घटना होइन। फागुन १ गते जनयुद्ध दिवस पनि आकस्मिक घटना थिएन। तर नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीचको चिसोपन भने आकस्मिकजस्तै भएको छ। भेनेजुएला विज्ञप्ति प्रकरणपछि दुई नेताबीच चिसो बढेको हो।

एमाले र माओवादी दुवै नरहेको घोषणा गरेको दस महिनामा फेरि यी दुवै मैदानमा देखिए। बुधबार जनयुद्ध दिवस मनाउने क्रममा यस्तो अवस्था देखापर्‍यो। 

माओवादीले यसअघि मनाउँदै आएको जनयुद्ध दिवस यसपटक मनाउन त्यति सजिलो थिएन। त्यसैले नेकपाले यसपटक औपचारिक रुपमा जनयुद्ध दिवस मनाएन। यी दुई पार्टीले अलगअलग अस्तित्वमा रहेका दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त ब्यानरमा जनयुद्ध दिवस मनाए। 

पार्टी कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवस कार्यक्रममा सरिक हुनुअघि प्रचण्ड तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पुगेका थिए। उनले त्यहाँ सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। प्रचण्ड पेरिसडाँडा पुग्दा लग्थ्यो फेरि माओवादी पार्टी कायमै छ। उनका अघिपछि लागेर पुग्नेहरु पूर्वएमाले कोही देखिएनन् । उनै पूर्वमाओवादीका नेताकार्यकर्ता थिए। यसबाट पनि माओवादी र एमाले एकीकरण तेल र पानीजस्तै भएको छ भन्ने स्पष्ट हुन्थ्यो। 

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आयोजित सो दिवसमा पनि पूर्वएमालेका नेता तथा कार्यकता सीमित संख्यामा थिए। पार्टीका नेताहरुमा त सुवास नेम्बाङ र विष्णु पौडेलबाहेक कोही थिएनन्। 

धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत सहभागी हुने नेताहरुबीच सहमति भएको थियो। तर प्रधानमन्त्रीले अन्तिममा आएर धुम्बाराहीको कार्यक्रम रद्द गरेका थिए।  कार्यक्रममा प्रधानमन्त्री आउने पूर्वसहमति भएको स्वयं अध्यक्ष प्रचण्डले खुलासा गरे। ‘आजको कार्यक्रममा प्रधानमन्त्री आउने तय भएको थियो, तर सरकारको वर्ष दिनको समीक्षामा लाग्नुपरेकाले उहाँं आउनु भएन’, प्रचण्डले कार्यक्रममा भने। 

भेनेजुएला प्रकरणतर्फ लक्षित गर्दै बुधबार प्रधानमन्त्री ओलीले आफूहरु कसैको पनि कार्ड नबन्ने चेतावनी दिए। बुधबार आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणासभालाई सम्बोधन गर्दै यस्तो बताए। 

‘हामी कुनै  छिमेकी मित्र राष्ट्रविरुद्ध कार्ड खेल्दैनौं। हाम्रा कोही शत्रु छैनन्, सबै मित्रैमित्र छन् । छिमेकीसँग वा अन्तर्राष्ट्रिय मित्रसँग असमझदारी बढाउँछु भन्ने त्यो असफल प्रयास हो’, प्रचण्डतर्फ लक्षित गर्दै ओलीले भने । ओलीको भनाइ यतिसम्म कडा आयो कि प्रचण्डप्रतिको असन्तुष्टि नै ओकेलेको जस्तो देखिन्थ्यो। उनले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने धेरै कोसिस भएको छ । यो ब्ल्यांक फायर होइन, कतै ताकेको छ । यस्तैयस्तै कुरा सुनाउने प्रयास भएको छ । त्यो कुनै काम लाग्नेवाला छैन।’

प्रचण्डले भेनेजुएलाको राजनीतिक संकटमा अमेरिकी साम्राज्यवाद जिम्मेवार रहेको भनेर विज्ञप्ति निकालेपछि ओलीले त्यसमा असन्तुष्टि जनाउँदै आएका थिए। विज्ञप्तिलगत्तै अमेरिकी राजदूतसँगको भेटमा ओलीले प्रचण्डको टङस्लिप भन्दै बचाउ गरेका थिए। ओलीको सो भनाइ बाहिर आएपछि प्रचण्डले फेरि माओवादी ब्युँतन सक्ने र युद्ध हुने जबाफ दिएका थिए।  

बुधबार जनयुद्ध दिवस मनाएपछि पूर्वएमालेका धेरै नेता तथा कार्यकर्तामा असन्तुष्टि देखिएको थियो। उनीहरुको टिप्पणी थियो– ‘पूर्वमाओवादीको अस्तित्व देखाएर एमालेको अस्तित्व समाप्त पार्ने काम भयो ।’ केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रमको ब्यानरमै जनयुद्धका अगाडि जनआन्दोलन थपिएको थियो । जब कि फागुन १ मा माओवादीले जनयुद्ध दिवस मनाए पनि नेपाली राजनीतिमा फागुन १ गते ‘जनआन्दोलन दिवस’ कसैले मनाएको अहिलेसम्म थाहा छैन। कार्यक्रममै अनेक टिप्पणी भएको थियो फागुन १ गते त २०५२ सालमा माओवादीले युद्ध सुरु गरेर जनयुद्ध दिवस मनाएको हो। तर फागुन १ मा कुन जनआन्दोलन सुरु भएको दिन हो? 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।