‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको रौनक संसारभर छाएको छ। फेब्रुअरी १४ लाई प्रेमिल जोडीहरूले वर्षकै सबैभन्दा ‘रोमान्टिक’ दिनका रूपमा सम्झन्छन्। पश्चिमी मुलुकबाट विकसित यो संस्कृति नेपाली समाजमा स्थापित भइसकेको छ।
‘भ्यालेन्टाइन डे’ को इतिहास
सन् २६९ मा रोमन सम्राट् क्लोडियस दोस्रो तानशाह प्रवृत्तिका थिए। विवाहपछि सैनिकहरू पारिवारिक मायामोहमा पर्छन् जसका कारण सुरक्षामा कमजोरी आउँछ र गोप्य कुरा पनि खुलासा हुने आशंका उनको थियो। यसकारण उनले सैनिकलाई विवाह गर्न रोक लगाएका थिए। सोही राज्यमा सेन्ट भ्यालेन्टाइन नामक व्यक्ति थिए। सम्राट्को आदेश सेन्ट भ्यालेन्टाइनलाई मन परेको थिएन। उनले लुकीछिपी सेनाको विवाह गराउन थाले। यो कुरा थाहा पाएपछि सम्राट् क्लोडियस द्वितीयले उनलाई फाँसी दिन घोषणा गरे।
सेन्ट भ्यालेन्टाइन आफैं पादरीकी दृष्टिविहीन छोरीसँगको प्रेममा थिए। मृत्युदण्डको दिन उनले प्रेमपत्र लेखी प्रेमिकालाई गुलाफको फूल पठाएका थिए। त्यसमा ‘फ्रम योर भ्यालेन्टाइन’ लेखिएको थियो। उनलाई १४ फेब्रुअरीमा मृत्युदण्ड दिइएको थियो। उनकै सम्झनामा भ्योलन्टाइन डे मनाउन थालिएको हो।
प्रेमिल जोडीका लागि मात्र हो त ‘भ्यालेन्टाइन डे’?
केही वर्षयता ‘भ्यालेन्टाइन डे’ प्रेमिल जोडीमा मात्र सीमित छैन। अरूलाई माया गर्ने दिन भनेर मानिने यो दिन अब परिष्कृत भई आफू स्वयंका लागि पनि माया गर्ने दिन बन्न थालेको छ।
भिन्तुना राजभण्डारी बालाजुकी स्थानीय बासिन्दा हुन्। पेसाले ‘म्युजिक टिचर’ रहेकी भिन्तुना लिटिल एन्जल्समा ससाना नानीलाई संगीत सिकाउँछिन्। यसबाहेक उनी काठमाडौँ कान्र्जभेटरी ज्याज (सांगीतिक संस्था) मा पनि सक्रिय छन्। आफ्नै उमेरका साथीहरू भ्यालेन्टाइन धुमधामका साथ मनाउने तरखरमा रहेका बेला उनले भने मन पर्ने लेखक ‘एटिकस’ का दुई किताब ‘दि डार्क बिट्विन स्टार्स’ र ‘लभ हर वाइल्ड’ आफ्नै लागि किनेकी छन्।
भ्यालेन्टाइन डे अनाथ आश्रममा गएर मनाउने योजना छ उनको। उनले भनिन्, ‘कुन आश्रममा जाने निश्चितचाहिँ भएको छैन।’
‘भ्यालेन्टाइन डे’, ‘क्रिसमस’, दसैं, तिहारमा किताब किन्न रुचाउँछिन् भिन्तुना। उनले भनिन्, ‘पार्ट टाइम काम गर्ने भएकाले बाँकी समय आफ्नै लागि दिन्छु।’ गत वर्षको भ्यालेन्टाइन डे उनले ससाना विद्यार्थीसँग रमाइलो गरी मनाएकी थिइन्। उनले भनिन्, ‘माया जोसँग पनि हुन्छ। यो विपरीत लिंगीसँगै मात्र हुन्छ भन्ने छैन।’
पुतलीसडकका प्रभाकर थापा विगतमा भ्यालेन्टाइन डेलाई उत्सवका रूपमा मनाउँथे। उनी ‘भ्यालेन्टाइन डे’ मा आफूले मन पराएको मान्छेलाई खुसी राख्न निकै कोसिस गर्थे। विभिन्न उपहार बोकेर पुग्थे पे्र्र्रमिकासामु। अहिले उनको त्यो शैलीमा परिवर्तन भएको छ।
पहिले उमंग बोकेर आउने ‘भ्यालेन्टाइन डे’ अहिले उनका लागि उमंगविहीन बन्ने गरेको छ। दुईजनासँग प्रेम सम्बन्ध विच्छेद भएपछि उनका लागि यो दिन स्पेसल बन्न छोडेको हो। अहिले उनी आफैंलाई स्पेसल बनाउँछन्। उनले भने, ‘अहिले भने भ्यालेन्टाइन डेमा जीवनमा महत्त्व राख्ने व्यक्ति र आमाबुबाप्रति माया प्रकट गर्न थालेको छु।’
माया गर्न कुनै खास दिन कुर्नु नपर्ने उनले बताए। उनले भने, ‘महँगा गिफ्टभन्दा पनि भावनाको साक्षात्कार हो माया, आखिर यही नै त हो, ‘भ्यालेन्टाइन डे’ को अर्थ पनि।’
माया प्रकट गर्ने अनेक तरिका हुन्छन्। गत वर्ष नेपाल प्रहरी र आरएमआर फाउन्डेसनले भ्यालेन्टाइन डेमा ‘जीवनलाई माया गर्नुहोस्’ भन्ने नारासहित सडक सुरक्षा अभियान सञ्चालन गरेका थिए। अभियानका लागि सडकमा खटिएका विद्यार्थीले बटुवालाई सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाएका थिए। आफ्नै जीवनलाई माया गरौं भन्दै अभियान सञ्चालन गरिएको प्रवक्ता जयराज सापकोटाले बताए।
यी उदाहरणबाट पनि प्रस्ट हुन्छ ‘भ्यालेन्टाइन डे’ भनेका प्रेमिल जोडीका लागि मात्र होइन। निश्चित व्यक्ति मात्र नभई आफू स्वयं र आफ्नो जीवनमा महत्त्व राख्ने व्यक्तिका लागि पनि हो ‘भ्यालेन्टाइन डे’।
‘भ्यालेन्टाइन डे’ को अस्तित्व ३ शब्दमा भनिने ‘आइ लभ यु’ र निश्चित व्यक्तिमा मात्र सीमित हुँदैन। प्रेमको दायरा नारी पुरुष बीचमा मात्र हुँदैन। आमाबुबा, बाल्यकालदेखि कहिले झैंगडा त कहिले स्नेहसँग जीवनका यात्रा गरेका दिदीबहिनी, दाजुभाइ वा सुखदुःखमा साथ दिने साथीभाइ सबैका लागि होस् भ्यालेन्टाइन ! जय भ्यालेन्टाइन डे!!
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४