जनकपुरधाम- जनकपुरको जानकी आँखा अस्पतालमा विगत केहि दिनयता जारी विवाद बल्झिँदै गएको छ। अस्पतालमा कार्यरत कर्मचारीहरुले अवकाश पाइसकेका कर्मचारीलाई विदाइ गर्नुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेका छन् भने विधानविपरित भर्ना गरिएका र नीजि क्लिनिक तथा पसल सञ्चालन गर्दै आइरहेका कर्मचारीलाई बर्खास्त गर्नु पर्ने माग स्थानीय नागरिकहरुले गरेका छन्।
दुई पक्षबीच जारी विवादका क्रममा मंगलबार स्थानीय नागरिकहरुले अस्पतालको प्रशासन शाखामा ताल्चा नै लगाए । दुई पक्षबीच जारी विवादका बीच अस्पतालभित्र ‘कमिसनको खेल’ चलि रहेको रहस्य सार्वजनिक भएको छ।
अस्पतालले बिरामी जाँच्ने ओपीडी कार्ड छाप्न स्थानीय एक पत्रिकामा टेण्डर आह्वान गरेको थियो। सात दिनभित्र कसैले टेण्डर नभरेपछि अस्पतालले सात दिनको समय थप्दै पुनः टेण्डर प्रकाशन गरेको थियो। दोस्रो पटक यहाँका तीनवटा अफसेट प्रेसले टेण्डर भरेको थियो।
दोस्रो पटक विड भरेका मध्ये जानकी अफसेटलाई टेण्डर पर्यो। आह्वान भएको टेण्डरअनुसार जानकी अफसेटले ओपीडी कार्ड छापेर अस्पताललाई जिम्मा लगायो। तर सम्झौताअनुसार कार्ड छापेर दिइसकेपनि अस्पतालले भुक्तानी दिन नमानेको अफसेटका सञ्चालक रामविनोद चौधरीले बताएका छन्।
अस्पतालका केही कर्मचारीले आफूसँग कमिशन मागेको र दिन अस्वीकार गरेपछि आफ्नो भुक्तानी नै रोकिएको चौधरीले दाबी गरेका छन्। कर्मचारीहरुको कमिटीले स्वीकृत गरेर आफूलाई परेको टेण्डरअनुसार काम गरेकोले कमिशन दिन नमानेको उनको भनाइ छ। कमिशन माग्ने कर्मचारीको नाम भने उनले खोलाउन चाहेनन् । अस्पतालका कर्मचारीले आफूसँग चार लाख रुपैयाँ कमिशन मागेको उनको दाबी छ।
चौधरीका अनुसार टेण्डर स्वीकृत भइसकेपछि अस्पतालले खरिद आदेशसमेत दिएको थियो। खरिद आदेश पाइसकेको एक सातापछि कार्ड छापेर स्टोरमा बुझाइ सकेपछि स्टोरका कर्मचारीले दाखिला विवरण लेखामा पठाएको उनले बताए। तर लेखा फाँटले चेक काट्नअघि आफूसँग कमिशन माँग गरेको उनको दाबी छ।
आफूले भरेको टेण्डर अवैधानिक भए कर्मचारीहरुको समितिले कसरी स्वीकृत गर्यो भन्दै चौधरीले खरिद आदेशसमेत कसरी दिइयो प्रश्न गरेका छन्। रकम भुक्तानिका लागि कमिशन माग्ने कर्मचारीलाई कारबाही गर्न चौधरीले माग गरेका छन्। कमिशनका चक्करमा लागेका कर्मचारीहरुका कारण अस्पताल धाराशायी बन्दै गएको उनको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४