इटहरी- सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि काम गरेर उनको नाममा हरेक फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ। तर प्रेमसँग नजोडिएर पनि धरानको ‘प्रेमको मन्दिर’ बुढासुब्बा पुग्न फेब्रुअरी १४ नै कुर्नु पर्दैन। हरेर दिन यहाँ प्रेमका पुजारीहरू आउँछन्। टुप्पोबिनाका बाँसका काण्डमा नाम खोप्छन्। धागो बाँध्छन्। अनि सफल प्रेमको कामना गर्छन्।
यही बुढासुब्बा मन्दिरभित्रका प्रेमिल प्रचलनलाई सम्बोधन गर्दै चर्चित धराने पपगायक सबिन राईले ‘गुराँसको फेदमुनि’ बोलको गीतमै भनेका छन् :
आजै गई बुढासुब्बा लेखौँ नाम बाँसैमा
कत्ति बस्नु म तिमी आउने आसैमा...
धरानको सिरानीमा पर्ने बुढासुब्बा मन्दिर परिसरका बाँस प्रेमीहरूका लागि निकै लोकप्रिय छन्। बुढासुब्बा मन्दिरमा आएपछि बाँसमा नाम लेख्ने र धागो बाँध्ने प्रचलन छ। पछिल्लो समयमा नाम लेख्दा बाँसको मौलिकता नै हराउने भय बढ्यो। अहिले मन्दिर व्यवस्थापनले नाम खोप्न निषेध गरेको छ। नाम खोप्न नपाएपछि प्रेम जोडीहरूले धागो बाँध्न थाले।
प्रेमिल जोडीलाई धागो बाँध्न भने कुनै निषेध छैन। अचेल हरेक दिन बुढासुब्बा आएर जोडी धागो बाँध्नेहरूको भीड हेर्दा लाग्छ बुढासुब्बा प्रेमका देउता हुन्। अनि ताजमहल भन्दा सानो महत्त्वको प्रेमिल मन्दिर हैन बुढासुब्बा। तर, बुढासुब्बा मन्दिर आफंै भने प्रेममै जोडिएर उत्पत्ति भएको मन्दिर नभएको कलासंस्कृतिका जानकारहरू बताउँछन्।
बुढासुब्बा मन्दिर र टुप्पोबिनाका बाँसको कथा
कतिले बुढासुब्बालाई पृथ्वीनारायण शाहले नेपाल राज्य विस्तार गर्दा मारिएका किराँती राजा बुद्धिकर्ण रायको चिहान स्थलका रुपमा मान्छन्। किराँती राजधानी विजयपुर क्षेत्रमा आएका पृथ्वीनारायणका फौजले हत्या गरेका राजा रायको सम्झनामा स्थानीयले पूजा र सम्मान गर्ने स्थलका रुपमा बुढासुब्बालाई लिएर क्रमशः मन्दिर बनेको एकथरीको भनाइ छ।
अर्कोथरी भन्छन्, बुढासुब्बा एक सिद्ध किराँती पुरुषको समाधिस्थल हो। बुढा सुब्बा नामक सिद्ध पुरुष किराँती र उनकी बहिनी सुब्बिनी आएर धनुषले काग मार्न खोज्दा काग भागेपछि बाँसको टुप्पो मात्रै काटिएर उनी तपस्यामा बसेको लोकोक्ति छ। धरानको बुढासुब्बा मन्दिर परिसरमा रहेका बाँसका टुप्पा नहुनुमा त्यही किंवदन्तीअनुसार बुढा सुब्बाको धनुषले टुप्पो छिनाएर भएको भनिन्छ।
केहीकेहीले भने बुढासुब्बा क्षेत्रलाई महाभारत युद्धमा कौरव पक्षबाट सहभागी एकलव्यको समाधिस्थलका रुपमा पनि बुढासुब्बालाई व्याख्या गर्छन्। पर्यटनकर्मी वासुदेव बराल धरानको बुढासुब्बामा महाभारतको युद्धमा हारे पनि दाजुभाइले नै हार्ने र जिते पनि दाजुभाइले नै जित्ने बुझेर हिमालय पर्वतमा तपस्या गर्न आएका एकलव्यले धरानको बुढासुब्बामा तपस्या गरेको भनाइ रहेको बताउँछन्। तराई क्षेत्रका एकलव्य हिमालयको चिसो झेल्न नसकेर बुढासुब्बा क्षेत्रमै समाधि लिएको पौराणिक मिथक रहेको बरालको तर्क छ।
पौराणिक, ऐतिहासिक र आधुनिक सबै कोणमै बुढासुब्बा मन्दिर उत्पत्तिको कथा जोडिएकाले यसमा सबै आस्थाका मान्छे आउने गर्छन्। किराती, वैदिक सनानत, बौद्ध सबै अस्थााका मान्छेहरू बुढासुब्बा मन्दिर आउँछन्।
नाम खोप्ने र जोडी धागोको प्रचलन कसरी ?
बुढासुब्बा मन्दिर महाभारत सँग जोडिएर पौराणिक, बुढा सुब्बा नामक सिद्ध किरातीसँग जोडिएर ऐतिहासिक र बुद्धिकर्ण राय राजासँग जोडिएर आधुनिक इतिहास बोकेको मन्दिर हो। कतै पनि पे्रेमका कहानी नजोडिएर लडाइँ, सत्ताको खेल र तपस्या जोडिएको बुढासुब्बा मन्दिर प्रेमको मन्दिर बन्नुमा केही कारणहरू रहेको बुढासुब्बाका जानकारहरू बताउँछन्।
बुढासुब्बाको इतिहासका जानकार पत्रकार भैरव आङ्ला बुढासुब्बा क्षेत्रको शान्त एकान्त अनि नौला बाँस भएकाले क्रमशः नाम खोपिन थालिएको हुन सक्ने बताउँछन्। ‘यो एकान्तमा क्रमशः युवा पुस्ता आउन थाले र बाँसमा नाम लेख्न थाले’, आङ्ला भन्छन्, ‘पछि त्यही नै प्रचलन बनेर प्रेम स्थलजस्तै बनेको हुनुसक्छ।’
आङ्लाको जस्तै तर्क छ धरानका पर्यटनकर्मी बासुदेव बरालको।
बुढासुब्बा मन्दिर परिसर बाँसले आँगालो हालेर गुटुमुटु पारेको आकर्षक क्षेत्र भएकाले मान्छेमा बुढासुब्बा पुग्नासाथ ‘रोमान्टिक’ अनुभूति भएपछि बिस्तारै प्रेमको मन्दिर बनेको बरालको अनुमान छ। ‘कति कुरा बनेर आउँछन् कति कुरा बन्दै आउँछन्’, बराल भन्छन्, ‘बुढासुब्बा पनि एक धार्मिक र आध्यात्मिक क्षेत्रका रुपमा त बनेकै हो। अब प्रेम जोडीहरूले यसलाई प्रेम मन्दिर पनि बनाएर थप सुन्दर बनाए।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४