वीरगंज- बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नं १७ जैतापुरमा पार्किङ गरिएको ट्रयाक्टरमा आगजनी गरेर व्यापारीसँग फिरौती मागेको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले आगलागी र फिरौती असुलीको आरोपमा बारा जितपुर सिमरा वडा नं १७ निवासी १८ वर्षिय सिद्दार्थ चौधरीलाई पक्राउ गरेको हो।
ट्रेक्टरमा आगो लगाई फोन धम्की दिएको भनी खुल्न आएको जैतापुर बस्ने चौधरीले बिरेन्द्र प्रसाद साहको राईस मिल अगाडी पार्कीङ गरी राखिएको जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं २२ मटिअर्वा बस्ने कृष्ण भगवान सिंहको ना १ त ५०७९ नं को ट्रेक्टरमा आगो लगाएर धम्क्याउँदै ३० लाख रुपैयाँ फिरौती मागेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
माघ २३ गते आगलागीको घटनापछि चौधरीले २४ गते राति ९८६२०९९७७६ नम्बरको मोबाईलबाट व्यापारी साहलाई मोबाईलमा फोन फिरौती रकम नदिए ज्यान मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका चौधरीलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न बारा जिल्ला अदालतबाट दिन ५ को म्याद दिएको छ। यसैबीच बारा जिल्ला अदालतको २०७१ फागुन १८ गतेको फैसला अनुसार लेनदेन मुद्दामा फरार रहेका प्रतिवादी महागढीमाई नगरपालिका वडा नं.१ बस्ने वर्ष २७ को तुलसी महतो कोईरीलाई प्रहरीले पक्राऊ गरेको छ।
प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतसमक्ष उपस्थित गराएकोमा १ वर्ष कैद भुक्तानको लागी कारागार कार्यालय वीरगंज पठाईएको प्रहरी नायब उपरिक्षक रन्जित सिंह राठौरले जानकारी दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४