धनगढी- अछामको मंगलसेन-५ का काशीराम ढुंगानालाई तीन छोराछोरी गुमाउने गरी १८ वर्षअघि भएको घटना भर्खरैजस्तो लाग्छ । जब फागुन १ गते आउँछ, ढुंगाना परिवारमा झन्झन् पीडा बल्झिँदै जान्छ । २०५७ साल फागुन १ गते तीन सन्तानको ज्यान जाने गरी भएको घटना ढुंगाना परिवारका लागि निकै पीडादायी बनेर रहेको छ।
सशस्त्र द्वन्द्व चरमोत्कर्षमा पुगेका बेला ०५७ फागुन १ गतेको बिहान घरको आँगनमा छुटेको बेवारिसे बम पड्किँदा ढुंगाना परिवारका दुई अवोध बालकको घटनास्थलमै ज्यान गयो भने नौजना घाइते भए । घाइतेमध्ये एक युवतीको पाँच वर्षपछि ०६२ मा उपचारका क्रममा ज्यान गयो । घटनास्थलमै ज्यान गुमाउने खेमराज र प्रकाश काशीरामका छोरा हुन् । उपचारका क्रममा ज्यान गुमाउने मनसरा काशीरामकै दाइ वासुदेवकी छोरी हुन् । सोही घटनामा परी काशीरामका जेठा छोरा गोपाल तथा बालारामका दुई छोराछोरी रोहित र जगत पनि गम्भीर घाइते भए । बालारामकै तीन नातिनातिनी भूमिनन्द, भानुभक्त र लक्ष्मी पनि घाइते भए । उनकै भाइबुहारी तिलुदेवी तथा भतिजी कोकिला पनि बम पड्किएर घाइते भए ।
'फागुन १ गते आएपछि पुरानो घाउ बल्झिएर थप पीडाबोध हुन्छ', गोपालले भने, '१८ वर्ष बितिसक्दा पनि घरमा बम छोड्ने को हो भन्ने पहिचान हुन सकेको छैन ।' तत्कालीन विद्रोही माओवादीले पाँचौं वर्षको पूर्वसन्ध्यामा अघिल्लो रात घरनजिकै राँकेजुलुस निकालेकाले उनीहरुले नै बम छाडेको आशंका परिवारले गरे । ढुंगानाको घरनजिकै धारामा रहेको सकेट बम मृतकमध्येका एक बालकले खेलाउँदा पड्किएको बुझिएको छ । 'परिवार सबै उठेर हातमुख धुन लागेका बेला एक्कासि बम पड्कियो', घाइते गोपालले भने, 'ठूला मान्छेले देखेनौं, बच्चाको हातमा परेकाले उक्त घटना भयो ।' तत्काल राज्यले उपचार गरे पनि हालसम्म उपचारमै करिब आठ-दस लाख रुपैयाँ खर्च भइसकेको रोहितले सुनाए । घाइतेमध्ये कतिपय अहिले पनि अपांग छन् । कतिपयको शरीरभित्र बमको छर्रा बाँकी छ ।
ढुंगाना परिवारमा घटना भएको ठिक एक वर्षपछि विद्रोही पक्षले सदरमुकाम आक्रमण गरी ध्वस्त बनाएपछि त्यसपछिका पाँच वर्षसमेत त्यो परिवारले त्रासमै बाँच्नुप¥यो । 'एकातर्फ घाइतेहरु छटपटाइरहेका थियौँ, त्यसैमाथि सेनाले माओवादीकै कता लुकाएर राखेका छौ भन्दै दिनहुँजसो घरमा खानतलासी गर्थे', रोहितले सम्झिए, 'सदरमुकाम आक्रमण पनि सेना नजिकै बसेकाले त्रासमै पाँच वर्ष बिताइयो ।'
त्यो घटनाले सिंगो परिवारको शिक्षादीक्षा, लालनपालन र वृत्तिविकासमा निकै असर परेको ढुंगानाले सुनाए । विद्रोही पक्ष माओवादीले फागुन १ गते उनीहरुको शब्दमा जनयुद्व दिवस मनाइरहँदा ढुंगाना परिवारमा भने घाउमा नुनचुक छर्किएजस्तै पीडा हुने गरेको गोपालले सुनाए । 'परिवर्तनका नाममा मेरा भाइबहिनी जस्तै निहत्थाको हत्यार गरेर नेताहरु सत्तामा पुगे पनि हामीलाई जीवनभर आँखाबाट आँसु चुहिने गराएको सराप एक दिन अवश्य लाग्छ', गोपालले भने, 'जनताका दुःखपीडा जस्ताको त्यस्तै छन् नेताहरु धनी बन्ने काम मात्र भयो ।'
राजनीतिक परिवर्तनका नाममा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वले हजारौँ नेपालीको ज्यान लिने, अंगभंग हुने र बेपत्ता पार्ने काम भए पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन नभएको पीडितले आभास गरेका छन् । सशस्त्र द्वन्द्व सकिएको १३ वर्ष पुग्नै लाग्दा पनि वास्तविक पीडितले न त न्याय पाएका छन् भने न त न्याय नै पाउने छाँट देखिएको बालारामले बताए । आफूहरुले मृतक परिवारले पाउने राहत पाए पनि न त न्याय न त आठ परिवार घाइते हुँदा कुनै क्षतिपूर्ति पाउन नसकेको उनले सुनाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४