जनकपुरधाम- प्रहरीको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै डाँकाहरुको एक समूहले जनकपुर नगर क्षेत्रभित्रै लाखौंको डकैती गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१३ पिडाडीस्थित कवर्डहल नजिकै सोभित राउतको घरमा मंगलबार राती करिब एकबजे डकैती भएको हो ।
करिब दश जनाको समूहमा आएका लुटेराहरुले राउतको घरबाट ५ लाख ५७ हजार नगदसहित सुनको गरगहनासमेत लुटेर लगेका छन् । घरेलु हतियारसहित लुटपाट गर्न पुगेका डाँकाहरुको समूले कुटपिट गर्दा राउतकी श्रीमती निर्मला देवी र उनको घरमा डेरा गरेर बस्दै आएका विकास साह र उनकी श्रीमती घाइते भएका छन् ।
घाइतेहरुको उपचार जनकपुरस्थित राम जानकी अस्पतालमा भइरहेको प्रहरीले बताएको छ । घटनास्थलबाट मुजेलिया प्रहरी चौकी एक डेढ किलोमिटर रहेपनि प्रहरी ढिला गरी पुगेको पीडितहरुको भनाइ छ । लुटेराहरुले प्रयोग गर्ने भाषा थारु रहेको पीडित राउतको अनुमान छ ।
यता राउतको घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपेन्द्र शाहीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र लुटेराहरु छिट्टै पक्राउ पर्ने बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४