इटहरी- आगामी अप्रिल र मे महिनामा भारतमा १७औँ आमनिर्वाचन अर्थात् लोकसभा चुनाव हुँदैछ । यो चुनावलाई हिन्दु राष्ट्रियता पक्षधर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) वा प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेसको जनमत संग्रह पनि मान्न सकिन्छ ।
५४३ सिट भएको लोकसभामा २८२ सिटसहित बहुमतको सत्ताधारी भाजपा भर्सेस ४४ सिट लोकसभा सिट भए पनि पछिल्लो राज्यसभा चुनावमा उत्साहप्रद नतिजा ल्याएको कांग्रेसको चुनावी अनुमान विश्वभर चर्चामा छ ।
नरेन्द्र मोदीको बहिर्गमन वा निरन्तरमा के होला भन्ने टुंगो लाउने चुनावी केन्द्रमा भाजपाका प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेसका राष्ट्रिय अध्यक्ष राहुल गान्धी छन् । पुरुष डोमिनेटेड चुनावी चर्चामा तीन महिला हस्ती पनि उत्तिकै छन् । भिन्नभिन्न पार्टी र सामाजिक पृष्ठभूमिका उनीहरुको भारतीय राजनीतिमा विशेष योगदान छ ।
यी हुन् भारतीय संघीय सरकारको नक्सा कोर्ने लोकसभामा चर्चामा आएका तीन महिला राजनीतिज्ञ -
१. मायावती, अध्यक्ष, बहुजन समाज पार्टी (बिएसपी) तथा पूर्व मुख्यमन्त्री, उत्तर प्रदेश
उत्तर प्रदेशकी मुख्यमन्त्री हुन् मायावती । भारतीय लोकसभाको सबैभन्दा धेरै अर्थात् ८० सिट यही प्रदेशमा छ । उनी चार कार्यकाल उत्तर प्रदेशको मुख्यमन्त्री बनिन् । १९९५ को जुन ३ मा पहिलोपटक मुख्यमन्त्री बनेकी उनी २०१२ को मार्च १५ मा समाजवादी पार्टीबाट मुख्यमन्त्रीमा अखिलेस यादव आएपछि आफ्नो चौथो कार्यकाल पूरा गरिन् । उत्तर प्रदेशका दलित समुदायमा बलियो पकड बनाएकी मायावतीको चुनावी स्ट्रहोल्ड पनि त्यी क्षेत्र भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् २०१४ को लोकसभा चुनावमा आएको भोट संख्याका आधारमा मायावतीको बहुजन समाजवादी पार्टी भारतको तेस्रो ठूलो दल थियो । तर, सन् २००९ को लोकसभा चुनावमा उत्तर प्रदेशबाट २० र मध्यप्रदेशमा १ सिट ल्याएको मायावतीको दलले २०१४ को लोकसभा चुनावमा भने एक सिट पनि ल्याउन सकेन । तर यस वर्षको लोकसभामा भने मायावतीको दलले आफ्नो चुनावी गणित सुधार्न सक्ने अनुमान छ । आफ्नो प्रभाव क्षेत्रमै सबैभन्दा धेरै लोकसभाका सिट हुनुले मायावतीलाई फाइदा हुने देखिएको छ । हात्ती चुनाव चिह्न लिएर उठ्ने मायावतीको दलमा युवा सहभागिता धेरै रहेको बताइन्छ ।
२. ममता बेनर्जी, मुख्यमन्त्री, पश्चिम बंगाल तथा अध्यक्ष, अल इन्डिया तृणमूल कांग्रेस
वामपन्थी दलको एकछत्र सत्तालाई चुनावी जनमतले चिरेर २०११ मा पश्चिम बंगालको आठौं तथा पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् ममता बेनर्जी । ६४ वर्षीया बेनर्जी भारतीय राष्ट्रिय कांग्रेसबाट सन् १९९८ मा अलग भएर आफ्नै अध्यक्षतामा अल इन्डिया तृणमूल कांग्रेस दल गठन गरेकी थिइन् ।
जोराघाँस फूल चुनाव चिह्न भएको बेनर्जीको दलले सन् २०१४ को लोकसभा चुनावमा ३४ सिट ल्याएर चौथो ठूलो राष्ट्रिय दलसमेत बनेको थियो । आसन्न लोकसभा चुनावमा बेनर्जीको दलले राम्रै जनमत ल्याउन सक्ने भारतीय मिडियाहरुले लेखेका छन् ।
३. प्रियंका गान्धी, महासचिव, अल इन्डिया कांग्रेस कमिटी
गान्धी–नेहरु परिवारकी सदस्य प्रियंका गान्धी भारतीय राष्ट्रिय कांग्रेसका केन्द्रीय अध्यक्ष राहुल गान्धीकी बहिनी हुन् । राजनीतिबाट अलग रहेकी गान्धी आसन्न चुनावका लागि उत्तर प्रदेशको कमान्ड सम्हालेर खानदानी राजनीतिमा प्रवेश गरेकी छिन् । भारतीय राष्ट्रिय कांग्रेसको निर्णयहरु गर्ने समितिको रुपमा रहेको अल इन्डिया कांग्रेस कमिटीकी महासचिव छिन् प्रियंका गान्धी ।
उत्तर प्रदेशको पूर्व क्षेत्रको चुनावी कमान्डरका रुपमा प्रियंका गान्धी पार्टीले जिम्मेवारी दिएको छ । बौद्ध धर्ममा स्नातकोत्तर गान्धीले मोदीको चुनाव क्षेत्र (वाराणसी) र उत्तर प्रदेशका पपुलिस्ट मुख्यमन्त्री योगी आदित्यनाथको जनमतलाई तान्न सक्ने भारतीय मिडियाहरुले बताएका छन् । उठेको हत्केला चुनाव चिह्न भएको कांग्रेसलाई अत्यन्तै चर्चामा रहेकी गान्धीले उठाउँछिन् वा उठाउँदिनन्, त्यो भने लोकसभा चुनावले नै देखाउनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४