बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विनाशकारी बाढी : नेपालको पूर्वसूचना प्रणालीसामु नयाँ चुनौती

विनाशकारी बाढी : नेपालको पूर्वसूचना प्रणालीसामु नयाँ चुनौती

 |  बिहीबार, भदौ ११, २०८३

मनिषा बस्नेत

मनिषा बस्नेत

बिहीबार, भदौ ११, २०८३

काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीले नेपालको विपद् पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसामु नयाँ र गम्भीर चुनौती खडा गरिदिएको छ। 

हिमाली क्षेत्रको चीन र नेपालको सिमावर्ती क्षेत्रमा गएको हिउँपहिरो र त्यसपछि सिर्जित विनाशकारी बाढीले नेपालको विपद् पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसामु नयाँ र गम्भीर चुनौती खडा गरेको हो। 

प्रारम्भिक अध्ययनअनुसार यो बाढी हिमताल विस्फोट भएर नभई करिब पाँच हजार मिटर उचाइको हिमाली क्षेत्रबाट खसेको ठूलो हिउँको ढिस्का वा चट्टानका कारण भएको अनुमान गरिएको छ। जसका कारण थुनिएको लेन्दे खोलाको पानी एकैसाथ तल झर्दा भिषण र विनाशकारी रुप लिएको हो। 

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भू–उपग्रहबाट प्राप्त तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली र नारायणीसम्म पुगेको बाढी अत्यन्तै आकस्मिक र असामान्य प्रकृतिको भएको जनाएको छ।

महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले बाढी वर्षाबाट सिर्जित नभएकाले यसलाई सामान्य बाढी पूर्वानुमान प्रणालीबाट पहिले नै पहिचान गर्न कठिन भएको बताए।

पराजुलीका अनुसार घटना भएको क्षेत्रमा सामान्य रूपमा ठूलो वर्षा भएको देखिएको छैन। त्यसैले बाढीको कारण खोज्ने क्रममा साँझ करिब ५ बजे बादल केही हटेपछि भू–उपग्रहबाट जमिनको तस्बिर लिन सकिएको थियो। विभिन्न भू–उपग्रहका तस्बिरको अध्ययनले हिमताल फुटेको प्रमाण नभई हिमाली क्षेत्रबाट ठूलो हिउँपहिरो खसेको र त्यो तल झर्दै जाँदा बाढीको रुप सिर्जना भएको प्रारम्भिक निष्कर्ष निकालेको उनले बताए।

उनले भने, ‘भाद्र १० गते भोटेकोशी हुँदै त्रिशूली र नारायणीसम्म आएको बाढी अत्यन्तै आकस्मिक थियो। पछिल्लो समय पूर्वसूचना र पूर्वानुमान गर्न सक्ने भनेको वर्षा र वर्षाबाट सिर्जित हुने बाढीको हो तर बुधबारको घटना वर्षाबाट सिर्जित भएको थिएन। त्यो क्षेत्रमा हल्का मात्रै वर्षा भएको देखिन्छ।’

उनका अनुसार भू-उपग्रहबाट प्राप्त तस्बिरले करिब पाँच हजार मिटर उचाइबाट सुरु भएको हिउँपहिरो तल झर्दै करिब तीन हजार मिटरको क्षेत्रमा पुग्दा ठूलो बाढी र पहिरोसमेत सिर्जना गरेको देखाएको छ। हिउँ, ढुङ्गा, माटो र जमेको पानी रहेको हिमाली भूभागको ठूलो हिस्सा एकैपटक खसेपछि त्यसले नदी प्रणालीमै असाधारण दबाब सिर्जना गरेको प्रारम्भिक अनुमान गरिएको छ।

‘त्यो बाढी हिमताल विस्फोट भएर आएको होइन,’ उनले भने, ‘हिउँपहिरो र परमाफ्रस्ट भएको क्षेत्रबाट ठूलो हिस्सा खसेको देखिन्छ। तल आउँदै जाँदा त्यसले पहिरो र बाढीको रुप सिर्जना गरेको छ।’

यति ठूलो बाढी कसरी सिर्जना भयो भन्ने विषयको विस्तृत अध्ययन अझै हुन बाँकी रहेको महाशाखाले जनाएको छ। तर प्रारम्भिक रूपमा ठूलो हिउँको ढिस्कालाई नै पानीको विशाल भण्डारका रूपमा हेर्न सकिने पराजुलीको भनाइ छ।

हिउँको ठूलो हिस्सा तल झर्दै जाँदा तापक्रमका कारण पग्लिएको, केही समय लेन्दे खोलालाई थुनेको र खोलाको पानीसमेत त्यसमा मिसिएपछि एक्कासी ठूलो मात्रामा पानी र गेग्रान तल बगेको हुनसक्ने अनुमान गरिएको छ।

उनले भने, ‘ठूलो हिउँको ढिस्का आफैँ पानीको एउटा रिर्जब जस्तै हो। तल आउँदै गर्दा तापक्रमका कारण पग्लँदै गयो र केहीबेर लेन्दे खोला थुनियो। त्यसपछि खोलाको पानी पनि मिसियो। गेग्रान, बोल्डर, ढुङ्गा, माटो, रुख र पातपतिङ्गरसहित सबै बगेर आउँदा झन्डै ३० मिटरभन्दा ठूलो बाढीको अवस्था सिर्जना भएको देखिन्छ।’

तर उनले यसलाई अन्तिम निष्कर्ष मान्न भने नमिल्ने बताए। घटनास्थल अत्यन्तै दुर्गम र अहिले सम्पर्कविहीन अवस्थामा रहेकाले स्थलगत अध्ययन हुन सकेको छैन। मौसम प्रतिकूल हुँदा हेलिकप्टरबाट समेत तत्काल अध्ययनका लागि जान कठिन भएको उनको भनाइ छ। त्यसैले भू-उपग्रह तस्बिर र अन्य प्रारम्भिक तथ्यका आधारमा गरिएको विश्लेषणलाई विस्तृत स्थलगत अध्ययनपछि मात्र पुष्टि गर्न सकिने महाशाखाले जनाएको छ।

बाढीले माथिल्लो क्षेत्रमा ठूलो क्षति पुर्याए पनि तल्लो तटीय क्षेत्रमा भने समयमै सूचना प्रवाह गर्न सकिएको पराजुलीले बताए। उनका अनुसार नेपालमा बाढी प्रवेश गरेको जानकारी प्राप्त हुनासाथ महाशाखाले चितवन, नवलपरासी, तनहुँ, गोरखा, धादिङ, नुवाकोट र रसुवालगायत क्षेत्रमा करिब ६ लाख ६७ हजार एसएमएस पठाएको थियो। 

उनले भने, ‘माथिल्लो क्षेत्रमा बाढी पहिले नै आइसकेको अवस्थामा सूचना पठाउने समय भएन। तर तल्लो क्षेत्रमा समयमै सूचना दिन सकियो। देवघाटमा बाढी करिब ३ः३० बजे पुग्छ भन्ने आंकलन थियो र करिब चार घण्टा अगाडि नै सूचना जारी गरेका थियौँ। बाढी करिब ३ बजेर २० मिनेटमा पुगेको थियो।’

यसले वर्षा वा नदीको जलस्तर बढ्दै जाँदा सिर्जना हुने बाढीमा नेपालको पूर्वानुमान प्रणाली प्रभावकारी बन्दै गएको देखाए पनि हिमाली क्षेत्रमा अचानक हुने हिउँपहिरो, पहिरो वा हिमतालसँग सम्बन्धित घटनामा भने अहिलेको संयन्त्र पर्याप्त नरहेको स्पष्ट पारेको छ।

माथिल्लो रसुवा र नुवाकोटको बेत्रावतीलगायत क्षेत्रमा बाढी सूचना पुग्नुअघि नै आइपुगेकाले त्यहाँको क्षति रोक्न नसकिएको पराजुलीले बताए।

उनका अनुसार घटनास्थलमा नेपाल वा चीन दुवैतर्फ मानव बस्ती नभएकाले यस्तो घटना पहिल्यै पत्ता लगाउन सक्ने प्रत्यक्ष संयन्त्र थिएन। नेपालले रसुवागढी क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडान गरेको भए पनि बाढी त्यस संयन्त्रभन्दा निकै माथिबाट आएको र पुल नै पहिले बगाएकाले प्रणालीले सूचना दिन नसकेको उनले बताए।

‘यस्तो घटनाका लागि हामी मात्रै होइन, उन्नत प्रविधि भएका देशहरू पनि अहिलेसम्म पूर्ण रूपमा सक्षम छैनन्,’ उनले भने, ‘चीनतर्फ पनि त्यस्तो घटना पत्ता लगाएर नागरिकलाई जोगाउन सक्ने संयन्त्र प्रभावकारी रूपमा रहेको देखिएन। त्यसैले चीनले सूचना दिएन र हामीले पाएनौँ भन्ने मात्र निष्कर्ष सही हुँदैन।’

उनले यस घटनाबाट ठूलो सिकाइ भएको बताउँदै अब हिमाली क्षेत्रमा नयाँ किसिमको पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए। वर्षाबाट हुने बाढीका लागि बनेको अहिलेको प्रणालीसँगै उच्च हिमाली क्षेत्रमा सीसीटिभी क्यामेरा, विभिन्न प्रकारका सेन्सर र सिस्मोमिटर जडान गरी नियमित अनुगमन गर्नुपर्ने उनको भनाइ छ।

‘हिजोको घटनामा केही कम्पन पनि मापन भएको छ,’ उनले भने, ‘त्यो वास्तविक भूकम्प नभएर हिउँ र पहाडको ठूलो हिस्सा खस्दाखेरी उत्पन्न भएको भाइब्रेसन हुन सक्छ। यसबाट कुनै असामान्य घटना भएको सूचना समयमै प्राप्त गर्न सकिने एउटा सम्भावना देखिएको छ। त्यसलाई थप अध्ययन गरेर तल्लो क्षेत्रमा अझ छिटो पूर्वसूचना दिने प्रणाली बनाउन सकिन्छ।’

पराजुलीले हिमाली क्षेत्रको जोखिम आगामी दिनमा अझ गम्भीर हुन सक्ने चेतावनीसमेत दिए। प्रारम्भिक तथ्यअनुसार यस घटनामा ठूलो मात्रामा अतिरिक्त पानी नदी प्रणालीमा प्रवेश गरेको देखिएको र सोभन्दा ठूलो आयतन भएका हिमताल तथा अन्य जोखिमयुक्त क्षेत्र अझै पनि हिमाली क्षेत्रमा रहेको उनले बताए।

हिमताल र हिमनदीको जोखिम

उनका अनुसार नेपालमा तीन हजारभन्दा बढी हिमताल र साढे तीन हजारभन्दा बढी हिमनदी रहेका छन्। यसबाहेक हजारौँ स्थानमा हिउँपहिरो जाने जोखिम छ। इम्जा र छोरोल्पाजस्ता केही जोखिमयुक्त हिमतालमा अध्ययन गरी पानीको सतह घटाउने काम गरिए पनि सबै जोखिमयुक्त क्षेत्रको विस्तृत अध्ययन र व्यवस्थापन गर्न ठूलो चुनौती रहेको उनले बताए।

उनले भने, ‘हामी यस्ता घटना हुन सक्छन् भनेर जोखिमको आंकलन गर्न सक्छौँ, तर कहिले हुन्छ भनेर पूर्वानुमान गर्न सक्दैनौँ। यो भूकम्पजस्तै हो-जान्छ भन्ने थाहा हुन्छ, तर कहिले जान्छ भन्ने थाहा हुँदैन।’

अब यस्तो जोखिमसँग जुध्न तत्काल र दीर्घकालीन गरी दुई तहमा काम गर्नुपर्ने उनको भनाइ छ। तत्कालका लागि हिमाली क्षेत्रबाट बग्ने सबै प्रमुख नदीका माथिल्लो जलाधार क्षेत्रमा निगरानी र पूर्वसूचना प्रणाली विस्तार गर्नुपर्ने उनले बताए।

तमोर, अरुण, दूधकोशी, तामाकोशी, लिखु, दुवै भोटेकोशी, बुढीगण्डकी, मस्र्याङ्दी, कालीगण्डकी, भेरी, मुगु कर्णाली, हुम्ला कर्णाली र महाकालीलगायत हिमाली क्षेत्रबाट उत्पत्ति भएका ठूला नदीमा यस्ता जोखिम हुनसक्ने भएकाले प्रणालीलाई एउटा क्षेत्रमा मात्र सीमित गर्न नहुने उनको भनाइ छ।

दीर्घकालीन रूपमा भने नदी किनार र बहुविपद् जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीको पुनर्वासबारे गम्भीर निर्णय गर्नुपर्ने पराजुलीले बताए। विगतका मेलम्ची, लिमी, थामे तथा अन्य विपद्बाट नदी किनारका बस्ती सुरक्षित नरहेको पाठ सिकाएको भन्दै उनले सुरक्षित बस्ती विकासका लागि बहुविपद् जोखिम मूल्याङ्कन गर्नुपर्ने बताए।

उनले भने, ‘बाढीको जोखिमबाट बचाउन बस्तीलाई नदी किनारबाट उठाएर पहाडमा मात्र लैजाँदैमा सुरक्षित हुँदैन। पहाडमा पहिरोको जोखिम पनि उत्तिकै हुनसक्छ। त्यसैले बाढी, पहिरो, डुबान र वन डढेलोजस्ता सबै जोखिमको मूल्याङ्कन गरेर बहुविपद्बाट सुरक्षित क्षेत्र पहिचान गरी त्यहाँ बस्ती विकास गर्नुपर्छ।’

मूल कारण जलवायु परिवर्तन

यस्ता घटनाको मूल कारण जलवायु परिवर्तनसँग पनि जोडिएको उनको भनाइ छ। बढ्दो तापक्रम, हिमाली भूभागको अस्थिरता, हिमनदी र हिमतालमा भइरहेको परिवर्तन तथा असामान्य मौसमी गतिविधिका कारण हिमाली क्षेत्रका जोखिम बढ्दै गएको उनले बताए। त्यसैले नेपाल एक्लैले मात्र यस्तो चुनौतीसँग जुध्न नसक्ने र नेपाल, चीन, भारतसहित हिन्दूकुश हिमालय क्षेत्रका मुलुकबीच संयुक्त निगरानी तथा पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

‘यस्ता घटना रोक्न सकिँदैन, तर सूचना दिएर मानिसलाई सुरक्षित ठाउँमा पुग्ने समय दिन सकिन्छ,’ उनले भने, ‘त्यसका लागि हिजोको भन्दा छिटो सूचना दिन सक्ने संयन्त्र चाहिन्छ। जलविद्युत्, सिँचाइ तथा नदी किनारका संरचनामा स्वचालित साइरन प्रणाली पनि आवश्यक छ।’

बाढीपछि अहिले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र अस्थायी बसोबासको काम जारी छ। तर क्षतिग्रस्त क्षेत्रमा फेरि वर्षा र पहिरोको जोखिम कायम रहेकाले तत्काल पुनः जोखिम सिर्जना हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

सडक अवरुद्ध हुँदा उद्धार र राहतमा समेत चुनौती थपिएको छ। सरकारले हेलिकप्टरसहित उपलब्ध स्रोतसाधन परिचालन गरी राहत र पुनःस्थापनाको काम गरिरहेको पराजुलीले बताए।

अझै वर्षाको संभावना

यसैबीच मौसमविद् विभूति पोखरेलले विपद्ग्रस्त जिल्लामा विहीबार अपराह्नपछि वर्षाको सम्भावना रहेको बताएकी छन्। केही स्थानमा मध्यम र एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले खोज तथा उद्धारमा खटिएका र प्रभावित क्षेत्रका सबैलाई मौसमसम्बन्धी पछिल्ला आधिकारिक सूचना नियमित रूपमा हेर्न उनले आग्रह गरिन्।

उनले भनिन्, ‘विपद्ग्रस्त जिल्लाहरूमा वर्षाको सम्भावना रहन्छ। केही ठाउँमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। ठूलो विपत्तिको जोखिम र घटना पहिले नै भइसकेको अवस्थामा थप वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सबै सतर्क रहनु आवश्यक छ।’

पोखरेलले जलवायु परिवर्तनका कारण पछिल्लो समय विषम मौसमी घटना बढ्दै गएको उल्लेख गर्दै सामान्य देखिने मौसमी गतिविधिले पनि ठूलो विपत्ति निम्त्याउन सक्ने जोखिम बढेको बताइन्। त्यसैले विपद्पछि पनि जोखिम समाप्त भयो भनेर ढुक्क नहुन र आधिकारिक मौसम तथा पूर्वसूचना निरन्तर अद्यावधिक रूपमा लिइरहन उनले आग्रह गरिन्। 

रसुवाको यो बाढीले नेपालको हिमाली क्षेत्रमा बढ्दै गएको नयाँ प्रकृतिको विपद् जोखिमलाई पुनः सतहमा ल्याएको छ। तत्कालीन रूपमा खोज, उद्धार र राहतमा केन्द्रित हुनुपर्ने अवस्था रहे पनि भविष्यमा यस्ता घटनाबाट हुने मानवीय र भौतिक क्षति कम गर्न हिमाली क्षेत्रको निरन्तर निगरानी, आधुनिक प्रविधिमा लगानी, सीमा–पार सहकार्य र जोखिमयुक्त बस्तीको दीर्घकालीन व्यवस्थापन अब टार्न नसकिने आवश्यकता बनेको छ।

प्रकाशित: Aug 27, 2026| 16:52 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्