जनकपुरधाम – जनकपुरको जानकी आँखा अस्पतालमा आँखाको उपचार गराउनेको घुइँचो हुन्छ। रेडक्रस सोसाइटीमार्फत सञ्चालन हुँदै आइरहेको जानकी आँखा अस्पतालमा नेपाल तथा भारतबाट ठूलो संख्यामा बिरामी आउने गरेका छन्। निजी अस्पताल र क्लिनिकभन्दा सस्तो र गुणस्तरीय उपचार हुने भएकाले अस्पतालमा बिरामीको घुइँचो लाग्ने गरेको हो। स्न २०१८ मा १ लाख १२ हजार १४४ जना आँखाका बिरामीले उपचार गराएको अस्पतालको तथ्यांक छ।
तर पछिल्लो केही समयता अस्पतालमा राजनीति हावी भएपछि कायकार्यबाही अस्तव्यस्त अवस्थामा छ। जानकी आँखा अस्पतालमा २५ जना कर्मचारी कार्यरत छन्। अस्पतालमा चिकित्सकबाहेक प्रशासनिकतर्फ २५ जना कर्मचारीमात्र रहेको जानकी आँखा अस्पतालमा कर्मचारीहरुको दुईवटा युनियन सक्रिय छ। युनियन आवद्ध कर्मचारीहरुले अवकाश पाइसकेका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेका छन्।
कर्मचारीहरुले कामभन्दा बढी राजनीति गर्न व्यस्त रहेकोे भन्दै नागरिक समाजले चासो लिएको छ। अस्पतालको विधानविपरीत कर्मचारीहरुले गतिविधि गर्दै आइरहेको भन्दै नागरिक समाजले मंगलबार अस्पतालको प्रशासनिक शाखामा ताल्चा लगाएका छन्।
नागरिक अगुवाहरुको एक समूहले विभित्र माग राख्दै एक महिनाअघि सात दिनको समय दिँदै अस्पतालका निर्देशक डा. हेम झालाई ज्ञापनपत्र बुझाएको थियो। तर ज्ञापनपत्र बुझाएको एक महिना बितिसक्दा पनि अस्पताल प्रशासनले चासो नदेखाएपछि उनीहरुले अस्पतालको प्रशासन शाखामा तालाबन्दी गरेका हुन्। आफूहरुले अघि सारेको मागप्रति सुनवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको रामविनोद चौधरीले बताए।
नागरिक समाजका अगुवाहरुको एक समूहले बुझाएको ज्ञापनपत्रका मागहरु सम्बोधन हुन बाँकी नै रहेका बेला मंगलबार फेरी अर्को समूहले एक दर्जन माग राख्दै अस्पतालमा ज्ञापनपत्र बुझाएका छन्। मंगलबार ज्ञापनपत्र बुझाएकाहरुले पनि सात दिनभित्र माग सम्बोधन गर्ने समयसीमा अस्पताललाई दिएको छ।
आँखा अस्पतालको कर्मचारी सेवा विनिमयमा राजनीतिक दलको सदस्य सक्रिय सदस्य भई काम गरेमा त्यस्ता कर्मचारीलाई बर्खास्त गरिने उल्लेख छ। तर राजपाका केन्द्रीय सदस्य अजय झा अस्पतालको प्रोजेक्ट अधिकृतका रुपमा कार्यरत छन्।
ज्ञापनपत्र बुझाउने नागरिक समाजका दुवै समूहले अस्पतालको ऐनविपरीत कार्यरत झालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। यसैगरी कार्यरत सबै कर्मचारीले पूर्ण रुपमा अस्पताल कार्य सञ्चालन समयमा सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिए पनि युनियनका धाक लगाई मनोमानी, उत्पीडन, मानसिक दबाब दिने कर्मचारीलाई बर्खास्त गर्न उनीहरले माग गरेका छन्।
कथित युनियनका अध्यक्ष नूतन झा र मनोज तिवारी आफ्नो व्यक्तिगत माग पूरा गर्न दैनिक दबाब दिने कार्य गरिरेहो हुँदा कारबाही गरी बर्खास्त गर्न ज्ञापन पत्रमा माग गरिएको छ।
यसैगरी अस्पतालको नियमविपरीत केही कर्मचारीहरु निजी क्लिनिक सञ्चालन गरिरहेकाले त्यस्ता कर्मचारीहरुलाई कारबाही गर्न नागरिक समाजले माग गरेको छ।
नेत्र अधिकृत रुदलप्रसाद साह, वृजकिशोर राउत, अरुणकुमार सिंह, ज्ञानेन्द्रप्रसाद विमललगायतका कर्मचारीहरुको नामै किटान गरी अस्पतालको निमयविपरीत निजी क्लिनिक सञ्चालन गर्दै आइरहेकाले कारबाही गर्न ज्ञापन पत्रमा माग गरिएको छ।
उनीहरुले अस्पतालजस्तो मानवीय सामाजिक संस्थामा गुटउपगुट, युनियन, अवैध क्रियाकलाप गर्नेमाथि कारबाही, सेवाग्राहीसँग हुने दुव्र्यवहार बन्द गर्न, अस्पतालको सरसफाइ, अस्पतालको गुणस्तरीय सेवाको विकासमा ध्यान दिनुपर्नेलगायतका माग अघि सारेका छन्।
मंगलबार नेपाल तरुण दल धनुषाका सभापति पंकज महतो, रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साह, उपसभापति आशुतोष झा, हजारी जनक क्याम्पसका पूर्वसभापति दिगम्बर पाठक, युवा अभियन्ता सुशील कर्ण, जनकपुर युथ क्लबका पूर्व अध्यक्ष चन्दन रायलगायतका व्यक्तिहरुले अस्पताललाई ज्ञापनपत्र बुझाएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४