शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपाको हिन्दु राष्ट्र अभियान : १५ दिन सम्म साकाहारी भोजन

राप्रपाको हिन्दु राष्ट्र अभियान : १५ दिन सम्म साकाहारी भोजन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राप्रपाले फागुन १५ देखि ३० गतेसम्म सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारी तीब्र बनाएको छ। यात्रालाई व्यवस्थित र प्रभावकारी ढंगबाट सम्पन्न गर्न केन्द्रमा सचिवालय स्थापना गरी  यात्राको सम्पूर्ण प्रवन्ध गर्ने भएको छ भने जिल्लाको तयारीका लागि केन्द्रबाट विभिन्न चारवटा टोली पठाइएको छ।

राप्रपा अध्यक्ष कमल थापाले एक समारोहका बीच फागुन १५ गते ताप्लेजुङ सदरमुकाममा यात्राको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेश मै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दबाब दिने, सबैखाले महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि जनजागरण गर्ने यात्राको उद्देश्य रहेको सो पार्टीले जनाएको छ। 

यात्रा अवधिभर  साकाहारी भोजनको व्यवस्था गर्न यात्रा पुग्ने जिल्लाका सम्बन्धित समितिलाई सर्कुलर समेत पठाइएको छ।

 ताप्लेजुङबाट पाँचथर, इलाम, झापा सहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदुर पश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते उपत्यका प्रवेश गर्नेछ र फागुन ३० गते  सभा गर्दै सम्पन्न हुनेछ।

काठमाडौंमा  भने दशरथ रंगशाला त्रिपुरेश्वरबाट ५००० भन्दा बढी कलश यात्रा हुनेछ।ताप्लेजुङबाट काठमाडौं सम्मको १५ दिने यात्राले २२६० किमि दुरीको यात्रा तय गर्नेछ।

हरेक दिन बिहान धार्मिक अनुष्ठान गरी  यात्रा प्रारम्भ हुनेछ भने बेलुका आरती गरिनेछ। यात्राको क्रममा हिन्दु, बौद्ध र किराँत धर्मलाई चिनाउने सजावटयुक्त मन्दिर, चैत्य बनाउने सो पार्टीले जनाएको छ। 

 यात्राको क्रममा विभिन्न नदी  तथा कुण्डको पानी संकलन गरिने र, त्यसरी संकलन गरिएको जललाई काठमाडौंमा हुने कलश यात्रामा प्रयोग गरि पशुपतिनाथ मन्दिरमा अभिषेक गर्ने तयारी सो पार्टीको छ। 

 यात्राका क्रममा साना ठूला गरी  १०० भन्दा बढी सभाहरु हुनेछन्। प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् । अन्य वरिष्ठ र केन्द्रीय नेताहरूले आवश्यकता अनुसार सम्बोधन गर्ने पनि श्रेष्ठले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।