काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो ।
भारतसँगको ऐतिहासिक जितमा नेपालका लागि नेपाली महिला टोलीकी गोल मेसिनको नामले चिनिने स्ट्राइकर सावित्रा भण्डारीको दुई गोल गरेकी हुन् । भारतको सिनियर महिला टोलीविरुद्ध नेपालको यो पहिलो जित हो ।

नेपालले खेलको ५ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । हिराकुमारी भुजेलको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोएपनि पोस्टको दिशा लिनबाट बचाउन सकेनन् ।
त्यसको दुई मिनेट नबित्दै साबित्राले नै व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन । नेपालले पहिलो हाफमा २-० को अग्रता लिँदा दोस्रो हाफमा भने एक गोल खान पुग्यो । खेलको ८४ औं मिनेटमा रतनाबाला देवीले सिधै फ्रिकिकमा गोल गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर, थप गोल नहुँदा नेपाल २-१ ले विजयी भएको हो ।

नेपालले यस जितसँगै प्रतियोगिताको फाइनल पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । पहिलो खेलमा नेपाल म्यानमारसाग ३-० ले पराजित भएको थियो । नेपाल अंक तालिकामा दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा इरानलाई १-० ले पराजित गरेपनि दोस्रो खेलमा नेपालसँग पराजित भएपछि अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।
नेपालले अब अन्तिम खेलमा इरानलाई पराजित गरेर म्यानमारले भारतविरुद्ध बराबरी अथवा जित दर्ता गरेको खण्डमा नेपाल र म्यानमार फाइनल पुग्नेछन् । भारतले म्यानमारलाई हराएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४