शुक्रबार, साउन १५, २०८३

१५० होटलका ग्राहक एउटा अस्पताल मात्रै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चितवन- एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् । 

अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । यससँगै औषधि, किराना, सौन्दर्य सामग्री, फलफूलजस्ता दर्जनौँ पसल पनि अस्पतालकै भरमा चलेका छन् । 

सोही ठाउँमा होटल सञ्चालन गर्दै आउनुभएका होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ चितवनका अध्यक्ष दीपक ढकाल अस्पताल अगाडि मात्रै १४० होटल र १० वटा रेष्टुराँ रहेको बताउँछन् । चारदेखि ३२ कोठमासम्मका होटल सो ठाउँमा रहेका छन् । 

दैनिक दुई हजारभन्दा बढी क्षमताका ती होटलमा आफैँले पकाएर खानसमेत सुविधा छ । ढकालका अनुसार दैनिक रु १५० देखि रु एक हजारसम्मको कोठा होटलमा पाइन्छन् । ती होटल पूरै अस्पतालमा निर्भर छन् । ढकालले ती होटललाई वैज्ञानिक ढङ्गबाट वर्गीकरण गरी दरभाउ कायम गर्ने तयारी गरिएको बताए ।  

अधिकांश होटल पारिवारिक ढङ्गबाट सञ्चालनमा छन् । विसं २०५७ मा अस्पताल स्थापनासँगै ती होटल सञ्चालनमा आएका हुन् । मुख्य बजार क्षेत्रबाट केही टाढा रहेकाले अस्पताल आउने अधिकांश बिरामी र आफन्त तिनै होटलमा बस्ने गरेको क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेले बताए । ठूला र व्यवस्थित होटल त्यहाँ नहुँदा कतिपय मुख्य बजार क्षेत्रका होटलमा पनि बस्ने गरेको उनले बताए । 

नेपालका सबै क्षेत्र र भारतबाट समेत बिरामी यहाँ उपचार गर्न आउने गर्दछन् । क्यान्सर रोगको उपचार गर्न लामो समय लाग्ने भएकाले बिरामी र आफन्त होटलमा बस्न बाध्य हुनुपर्दछ । अस्पतालभित्र बिरामी कुरुवा घर भए पनि सीमित क्षमता भएका कारण बाहिर बस्नुपर्ने हुन्छ । 

अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले ती सबै होटल रेष्टुराँ अस्पतालको भरमा सञ्चालन भइरहेको बताउनुभयो । गुणस्तरीय सेवा दिएर बिरामी र आफन्तलाई सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ छ । आचार्यले कुरुवा घरमा १०० हाराहारी अट्ने भए पनि दैनिक ६०० नयाँ र पुराना ३०० बिरामी आउने भएकाले होटल रेष्टुराँमा निर्भर हुनुपर्ने गरेको बताए । आचार्यले होटल रेष्टुराँसँगै अन्य व्यवसाय, निजी अस्पतालसमेतलाई यही अस्पतालका कारण सञ्चालनमा टेवा पुगेको बताए ।  

अस्पतालमा आउने सबै बिरामी क्यान्सरका नहुने भएकाले क्यान्सर नदेखिएका जिल्लाका अन्य अस्पतालमा जाने गरेको र क्यान्सर भएकालाई पनि अन्य समस्या देखिँदा यहीँका निजी अस्पताल र मेडिकल कलेजमा बिरामी पुग्ने गरेको उनले बताए । 

अस्पतालकै कारण समग्र जिल्लाको आर्थिक गतिविधिमा टेवा पुगेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताए । चितवनलाई स्वास्थ्य नगरिकका रूपमा विकास गर्नसके यहाँको आर्थिक क्रियाकलापमा ठूलो टेवा पुग्ने उनको भनाइ छ । क्यान्सरका बिरामीको उपचार महँगो र लामो समय लाग्ने हुँदा पनि बिरामीले यहाँ ठूलो धनराशि खर्च गर्ने गर्दछन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।