मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विश्वका महासागर जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो, जलवायु संकटको अर्को संकेत

विश्वका महासागर जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो, जलवायु संकटको अर्को संकेत

 |  मंगलबार, साउन २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०८३

काठमाडौं- विश्वका महासागरले गत जुलाईमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेका छन्। प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको प्रभावसँगै बढ्दो विश्वव्यापी तापक्रमले समुद्रको तापक्रम बढाउन भूमिका खेलेको युरोपेली सङ्घको जलवायु निगरानी सेवाले जनाएको छ।

ध्रुवीय क्षेत्रबाहेक ६० डिग्री उत्तरदेखि ६० डिग्री दक्षिण अक्षांशसम्मको समुद्री सतहको औसत तापक्रम जुलाईमा २०.९६ डिग्री सेल्सियस पुगेको थियो। यसअघि सन् २०२३ मा २०.८९ डिग्री सेल्सियसको उच्चतम तापक्रम रेकर्ड भएको थियो।

युरोपेली जलवायु परिवर्तन सेवाका अनुसार गत जुलाई विश्वभर रेकर्ड गरिएको संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई रह्यो। औद्योगिक युग सुरु हुनुअघिको औसत तापक्रमको तुलनामा जुलाईको विश्वव्यापी तापक्रम १.४७ डिग्री सेल्सियस बढी थियो।

पश्चिमी युरोपले पनि जुन र जुलाईमा अहिलेसम्मकै असाधारण गर्मी सामना गरेको छ। जुन र जुलाईमा पश्चिमी युरोपको औसत तापक्रम २१.६२ डिग्री सेल्सियस रह्यो, जुन औसतभन्दा २.७९ डिग्री सेल्सियस बढी हो। दुई महिनाको अवधिका लागि यो अहिलेसम्मकै उच्च तापक्रम हो।

लगातार कायम रहेको उच्च वायुदाबका कारण गर्मी पश्चिमी युरोपमा थुनिएको र माटोमा चिस्यान कम हुँदा प्राकृतिक रूपमा तापक्रम घट्ने क्षमता कमजोर भएको र जलवायु परिवर्तनका कारण गर्मी र खडेरी एकअर्कालाई थप तीव्र बनाउँदै गएको युरोपेली सङ्घको जलवायु निगरानी सेवाले उल्लेख गरेको छ।

फ्रान्स, स्पेन, जर्मनीका केही भाग र बेलायतमा वर्षा तथा माटोको चिस्यान असाधारण रूपमा कम भएको छ। पश्चिमी युरोपका धेरै क्षेत्रमा सन् २०२२ को गम्भीर खडेरीको समयभन्दा पनि माटोको चिस्यान कम रहेको जनाइएको छ। सेन, राइन र डेन्युब नदीसहित धेरै नदीमा पानीको सतह औसतभन्दा निकै तल पुगेको छ। यसले खानेपानी, सिँचाइ, जलचर पारिस्थितिक प्रणाली, नदी यातायात तथा ऊर्जा उत्पादनमा थप दबाब सिर्जना गरेको छ।

लामो समयदेखि जारी तातो र सुख्खा मौसमका कारण पश्चिमी युरोपमा डढेलोका लागि अनुकूल अवस्था बनेको छ। गत जुलाईमा ठूलो क्षेत्र डढेलोबाट प्रभावित भएको र जलेको क्षेत्र, धुवाँ तथा वायुमण्डलमा पुगेको प्रदूषणको मात्रा असाधारण रहेको युरोपेली जलवायु निगरानी सेवाले जनाएको छ।

युरोपेली वायुमण्डलीय निगरानी सेवाका अनुसार जलवायु परिवर्तनले दक्षिणी युरोपमा ठूलो र तीव्र डढेलो लाग्ने तातो तथा सुख्खा अवस्था बढाइरहेको छ भने डढेलोको अवधि उत्तरी क्षेत्रमा समेत विस्तार भइरहेको छ। ठूला डढेलोबाट धेरै धुवाँ निस्कने र धुवाँ वायुमण्डलको माथिल्लो तहसम्म पुग्ने भएकाले लामो दूरीसम्म फैलिन सक्छ। त्यसका कारण सामान्यतया डढेलो कम लाग्ने देशसमेत टाढाबाट आएको धुवाँबाट प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

बेलायतमा यो साता वर्षकै पाँचौँ गर्मीको लहर आउने सम्भावना रहेको छ। लामो समयदेखि पानी नपरेपछि पानीको स्रोतमा दबाब बढेको छ र थप क्षेत्रमा आधिकारिक रूपमा खडेरी घोषणा हुन सक्ने चेतावनी दिइएको छ। मौसम कार्यालयका अनुसार इङ्ल्यान्ड र वेल्समा गत जुलाई १९० वर्षअघि अभिलेख राख्न सुरु भएयताकै सबैभन्दा सुख्खा जुलाई बनेको छ। इङ्ल्यान्डका ठूलो भूभाग र सम्पूर्ण वेल्समा यसअघि नै खडेरी घोषणा भइसकेको छ। वातावरण निकायले सुख्खा अवस्था जारी रहेमा इङ्ल्यान्डका थप क्षेत्रमा खडेरी घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ।

बेलायतको मौसमसम्बन्धी पछिल्लो प्रतिवेदनले विगतमा असाधारण मानिएको मौसम अहिले ‘नयाँ सामान्य अवस्था’ बन्दै गएको जनाएको छ। दक्षिणी इङ्ल्यान्डमा वर्षको सबैभन्दा तातो दिनको तापक्रम सन् १९६१ देखि १९९० सम्मको तुलनामा अहिले ४ दशमलव ५ डिग्री सेल्सियस बढी पुगेको प्रतिवेदनमा उल्लेख छ।

मौसम कार्यालयका जलवायु वैज्ञानिक माइक केन्डनले विश्व अहिले ऐतिहासिक र अभूतपूर्व परिवर्तनको समयमा रहेको बताएका छन्। उनका अनुसार २०औँ शताब्दीमा देखिएको जलवायु अवस्था अब परिवर्तन भइसकेको छ।

महासागरले हरितगृह ग्यासका कारण उत्पन्न अतिरिक्त तापको ठूलो हिस्सा सोस्ने र पृथ्वीमा आवश्यक अक्सिजनको करिब आधा उत्पादन गर्ने भएकाले जलवायु प्रणालीमा महत्वपूर्ण भूमिका खेल्छन्। तर समुद्रको तापक्रम बढ्दा समुद्री सतह बढ्ने जोखिम हुन्छ। समुद्री पानी तात्दा फैलिने भएकाले वैज्ञानिकहरूले अहिलेसम्म मापन गरेको समुद्री सतह वृद्धिको करिब एक तिहाइ हिस्सा पानीको तापीय विस्तारका कारण भएको मानिन्छ। यसले समुद्री तट र तल्लो भूभागमा रहेका देश तथा टापुहरूलाई थप जोखिममा पार्छ।

तातो समुद्रका कारण लामो समयसम्म रहने र बढी शक्तिशाली समुद्री गर्मीको लहरसमेत बढिरहेका छन्। यसले समुद्री वनस्पति र माछाको स्रोतमा गम्भीर असर पारेको देखिएको छ। समुद्रको सतह तात्दा वायुमण्डलमा थप ताप र जलवाष्प पुग्छ। यसले उष्णकटिबन्धीय आँधीलाई थप शक्तिशाली बनाउनुका साथै भारी वर्षाको सम्भावना बढाउछ।

प्रशान्त महासागरको उष्ण क्षेत्रमा समुद्री सतहको तापक्रम जुलाईमा पनि असाधारण रूपमा उच्च रह्यो। त्यहाँ एल निनोको अवस्था विकसित भइरहेको छ र आगामी महिनामा यो अझ बलियो हुने अनुमान गरिएको छ। एल निनो प्रशान्त महासागरमा स्वाभाविक रूपमा देखिने मौसमी अवस्था हो। तर मानव गतिविधिका कारण बढिरहेको विश्वव्यापी तापक्रमसँग यसको प्रभाव जोडिँदा विश्वको तापक्रम छोटो अवधिका लागि अझ बढ्न सक्छ र चरम मौसमका घटना तीव्र हुन सक्छन्।

वैज्ञानिकहरूका अनुसार अहिले विश्वको औसत तापक्रम १९औँ शताब्दीको अन्त्यतिरको तुलनामा करिब १.४ डिग्री सेल्सियस बढी भइसकेको छ। जीवाश्म इन्धनको निरन्तर प्रयोगबाट बढिरहेको मानवीय कारणको तापसँगै एल निनोको प्रभाव थपिँदा आगामी समय विश्वका लागि अझ तातो बन्न सक्ने चेतावनी दिइएको छ।

प्रकाशित: Aug 11, 2026| 16:03 मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्