काठमाडौं। पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव आज दिउँसो काठमाडौं ल्याइएको छ।
गुरुङको शव आज कतार एयरवेजको विमानमार्फत दोहा हुँदै काठमाडौं ल्याइएको हो। अन्तर्राष्ट्रिय विमानस्थलमा उनका परिवारका सदस्य, आफन्त, साथीभाइ, पर्वतारोहण समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरू उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
यही दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को शव भने नेपाल ल्याउने वा उनको पारिवारिक बसोबास रहेको बेलायत लैजाने भन्नेबारे निर्णय नभएको बताइएको छ।
पुर्जाको शव दुर्घटनाको सातौं दिन अत्यन्त कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि बुधबार मात्र हिमालबाट सुरक्षित रूपमा आधार शिविर झारिएको थियो भने आज हेलिकप्टरबाट स्कर्दु पुर्याइएको छ।