वीरगंज – प्रदेश २ को बारा र पर्साको सदरमुकाम जोड्ने हुलाकी राजमार्गमा दुई दिनदेखि अवरुद्ध यातायात शनिबार साँझदेखि पुनः संचालनमा आएको छ।
सडक निर्माण कार्यमा कमसल निर्माण सामाग्रीको प्रयोग गरेको, ठेकेदारले वैकल्पिक व्यवस्था नगरेको र समयमै निर्माण कार्य सम्पन्न नगरेकोले सडक हिलाम्मे भएकोले दुर्घटनाको जोखिम बढेपछि यातायात सेवा अवरुद्ध हुन पुगेको थियो।
सडक निर्माणको खर्च जोगाउन ठेकेदारले सडकको पुरै क्षेत्र ढाकेर निर्माण कार्य गरिरहेकोले यात्रुलो सास्ती खेपेर यात्रा गर्नुपरिहेको छ। सडकमा हिलोका कारण एक फिटसम्म गहिरो खाडल परेको छ। हिलाम्ये खाडलमा साइकल मोटरसाइकल र साना सवारी चिप्लिने र नियमित दुर्घटना भइरहेको छ।
दुई दिनदेखि अवरुद्ध सडक हिलो माटो पन्छाएर शनिबार साँझदेखि संचालनमा ल्याइएको नेपाल तरुणदल बाराका अध्यक्ष लोकेश सिंहले जानकारी दिए।
उनले फेसबुक पेजमा सडकको दुरावस्था बारे तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका थिए। उनले भने, चेतावनी दिएपछि बल्ल सडकको हिलो पन्छाउन संभव भएको हो। डोजर लगाएर सडकको हिलो माटो पन्छाइएको थियो।’
यो सडकको अनुगमन गर्ने जिम्मेवारी हुलाकी राजमार्ग आयोजनाको हो। तर, आयोजनाका कर्मचारीले ठेकेदारलाई पक्ष पोषण गरिरहेको पीडित सडक प्रयोगकर्ताको गुनासो छ।
अहिले वर्षाका कारण सडक हिलाम्मे छ, स्थानीय हिलाम्मे सडकमा उखू बोकेको ट्रयाक्टर लिएर हुलाकी राजमार्ग हुँदै मनहर्वास्थित चिनीमिल र राजमार्ग नजिकैको खाँडसारी (सख्खर मिल) मा पुर्याउन समेत किसानलाई सास्ती भोग्नु परेको छ।
चिनी मिलले तोकेको समयमा उखु पुर्याउन नसके मिलले उखु पेल्न मान्दैन, किसानको गुनासो छ, हिलाम्मे सडकमा ट्रयाक्टर पल्टिँदा ट्रयाक्टर तान्न र उखू बोक्न अर्को ट्रयाक्टर र मजदुरको जोहो गर्नुपर्छ, ढुवानी खर्चिलो हुनजान्छ।
बाटो हिलाम्य हुँदा ठाउँठाउँमा मोटरसाइकल, उखु बोकेको ट्याक्टर पल्टिनुका साथै एम्बुलेन्ससमेत घण्टौं सडकमैं फसेर सास्ती भोग्नु परेको सवारीचालकले गुनासा गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४