रौतहट- रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर भएको आगलागी सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ।
अमलेखगंजबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर बन्यजन्तु मृग जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो। दुर्घटना पश्चात उक्त ट्याङ्करमा आगलागी भएको थियो।
दुर्घटनाबारे जानकारी पाएपछि आवश्यक उद्धार तथा आगलागी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा वेश निजगढ बारा र सुरक्षा बेश सन्तपुर रौतहटबाट टोली खटिएको थियो।
उक्त आगलागीबाट मानवीय क्षति केही नभएको र तेल ट्याङ्कर पुर्ण रुपमा जलेको प्रहरीले बताएको छ।