शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उन्मादमा नचल्न प्रचण्डलाई ईश्वर पोखरेलको खुला चेतावनी  

उन्मादमा नचल्न प्रचण्डलाई ईश्वर पोखरेलको खुला चेतावनी  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उपप्रधानमन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले अध्यक्ष प्रचण्डको अभिब्यक्तिको कटाक्ष गरेका छन् । प्रचण्डले अर्का अध्यक्ष केपीशर्मा ओलीको कार्यशैलीको विरोध गर्दै फेरि माओवादी जन्मिन सक्ने धम्की दिएको भोलीपल्टै नेता पोखरेल प्रचण्डविरुद्ध उत्रिएका हुन् । 

उनले घुमारो भाषमा प्रचण्डलाई उन्मादमा नचल्न चेतावनी दिएका छन् । सनक र उन्मादमा चल्न चाहने र रमाउनेहरूलाई नेतृत्वमा ल्याएकै कारण समस्या भएको उनको भनाइ छ । 

समाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नेता पोखरेलले पार्टी एकता गर्दा नै ध्यान नपुर्याएकाले अराजक तत्वहरु हावी भएको उल्लेख गरेका छन् । उनले कम्युनिष्टका नाममा भीड जम्मा गर्दैमा शक्ति हुन नसक्ने भन्दै पछिल्लो भिड पार्टीलाई विसर्जनतर्फ लाने खालको भएको टिप्पणी गरेका छन् । 

यस्तो छ उपप्रधानमन्त्री ईश्वर पोखरेलले फेसबुकमा लेखेको स्टाटस

'परिस्थिति र पार्टी एकताका सम्दर्भमा 
---------------------------------

(१) परिस्थिति :

- अहिले सरकार मात्र परिवर्तन होइन, प्रणाली परिवर्तन भएको हो । यसको संवैधानिक र राजनीतिक घोषणा त भयो - तर त्यस अनुरूप कानून र संरचनाहरू परिवर्तन वा अद्यावधिक भैसकेका छैनन् । गरिदैछन्- हुँदैछन् । अहिलेको यो स्थितिले एउटा अन्तर्विरोध देखिदैछ । अभ्यास र आदत एकातिर ,अवस्था र आवश्यकता अर्कोतिर ।

- सरकार मात्र परिवर्तन होइन, शासन सत्ताको माथिल्लो तह परिवर्तन भएको हो । स्थानीय तहका सरकार, प्रदेश तहका सरकार र संघीय सरकारमा कम्युनिष्टहरूले लोकतान्त्रिक विधिद्वारा घोषित रूपमा दुई तिहाइ हैसियत प्राप्त गर्नुले यसलाई स्पष्ट पारेकोछ । तर यसलाई स्वीकार गर्न र पचाउन नसक्ने देशभित्र र बाहिर थुप्रै छन् । त्यस्ता धेरैको मन मुटु भत्भती पोलिरहेको छ । त्यस्ताहरूले अहिलेको विकसित स्थितिलाई पचाउन सकिरहेका छैनन् र हातमा पुल्ठो बोकेर झोस्न - डढेलो सल्काउन ज्यान फालेर लागेका छन् , पुल्ठो झोस्ने ठाउँहरू खोज्दैछन् । त्यस्तासित होशियार बन्नुपर्ने अहिलेको आवश्यकता हो । र, यो होशियारी नीतिमा, कार्यक्रममा, योजनामा र आचरणमा देखाउनु जरूरी छ । आमरूपमा आउने गरेका - उठ्ने गरेका प्रश्नहरू , जिज्ञासा , आशंका र आक्रोशलाई तिनै मार्फत जवाफ दिनु जरूरी छ । धेरै उत्कृष्ट लाग्ने राम्रा कुराहरू बोलेर भन्दा पनि एउटा सरदर राम्रो काम गर्दै अगाडि बढ्नु जरूरीछ ।

(२) दुइटा कम्युनिष्ट पार्टी विचको एकता - 

- यो एकता कम्युनिष्ट आन्दोलनका कार्यकर्ताहरूको चाहना, कम्युनिष्ट पार्टीप्रति आशा अपेक्षा गर्ने आम नेपाली जनताको चाहना र राष्ट्रको आवश्यकतामा आधारित छ । एकताका सन्दर्भमा यी मूलत: भावनात्मक पक्ष हुन् । एकतासित गाँसिएको सार पक्ष भनेको विचारको पक्ष , संगठनात्मक संरचनाको पक्ष र नेतृत्वको पक्ष हो । एकताको घोषणा गरिरहँदा यी विषयमा त्यति गहिराइका साथ छलफल हुन सकेन । अब सिंगो पार्टी पंक्तिले यी विषयलाई गंभीर महत्वका साथ लिदै छलफल वहस गर्दै एउटा निष्कर्षमा पुग्नुपर्ने जरूरी छ । एकताको घोषणा गरिरहँदा सकारात्मक र सार्थक वहस र छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने विषयमा यसलाई उल्लेख गरिएको छ । आफ्नै देशको कम्युनिष्ट आन्दोलनबाट विकसित भएको , अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट प्राप्त अनुभवहरूको निर्मम समीक्षाबाट निकालिएको निष्कर्ष बोकेको र दर्शन तथा सिद्धान्तले निर्देशित सुसंगत विचारको श्रृंखला बोकेको कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता हो । यस मामिलामा अलमलिएर वा यसमा 'ग्रे एरिया ' राखेर कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्तैन । 

- सुदृढ संगठनात्मक संरचनाका बलमा मात्र कम्युनिष्ट पार्टीले आफूलाई एउटा शक्तिका रूपमा स्थापित गर्न सक्छ । यो श्रृंखलाबद्ध कमिटी प्रणालीमा देखिनुपर्छ । कम्युनिष्टका नाममा भीड शक्ति हुनसक्तैन । विसर्जन्मुख भीड त झन् किमार्थ शक्ति हुनै - बन्नै सक्तैन । 

- कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचीत, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन - ल्याइनै हुँदैन । अझ , शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ । 

आज नेकपा ( एमाले) र माओवादी केन्द्र विच भएको ऐतिहासिक एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले यही बाटो हिंड्नुपर्छ ।चुनौतीपूर्ण अभिभारा पुरा गर्ने ऐतिहासिक क्षणमा उभिएका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले योग्यतापूर्वक यो काम गर्न सक्छन् कि सक्दैनन् - यसैमा नेपालको कम्युनिष्ट आन्दोलन र सिंगो मुलुकको भविष्य गाँसिएको छ । टुट्न मात्र होइन, जुट्न पनि जानेका छन् भनेर आफ्नो परिचय बनाएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आगामी दिनमा यो ऐतिहासिक अभिभारालाई योग्यतापूर्वक पुरा गर्नेछन् ।'


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।