काठमाडौं- पार्टी एकीकरण भएको नौ महिनापछि अध्यक्ष प्रचण्डले केपी ओलीलाई सार्वजनिक रुपमै ललकारे । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टी मात्रै जनाएनन्, माओवादी सकियो भन्ने भ्रमले अर्को भयानक युद्ध निम्त्याउने चेतावनी पनि दिए।
प्रचण्डले अचानक दिएको यो धम्कीले नेकपाभित्र भुइँचालो गएको छ भने राष्ट्रिय राजनीतिलाई पनि यसले तरंगित गरेको छ । भित्रभित्रै ओली प्रचण्डबीच पहिला देखि नै खटपट भएपनि सार्वजनिक रुपमा नै यसरी पोखिएको थिएन।
प्रचण्डले वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित 'न्यायिक समितिः कार्यविधि र प्रक्रिया' पुस्तकको शुक्रबार लोकार्पण गर्दै उनले शान्ति सम्झौता र संविधान इमान्दारिताका साथ कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताए। यसको अर्थ थियो सरकारले शान्ति सम्झौताको पालना गरेको छैन र संविधान पनि कार्यान्वयन भएको छैन। उनले यस्तै अवस्था रहे फेरि माओवादी जन्मने र भयानक युद्ध हुने चेतावनी समेत दिए।
प्रचण्डले जनताको घरदैलोमै सरकार पुर्याउने गरी संविधान बनाए पनि त्यो कार्यान्वयन नभएको अनुभूति हुन थालेको धारणा राखे। 'स्थानीय र प्रादेशिक तह संविधानअनुसार जुन मर्मका साथ कार्यान्वयन हुनुपर्ने हो, त्यो भएको छ या विस्तारै कमजोर त पारिँदै छैन?' प्रचण्डको गम्भीर आशंका थियो।
पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो 'म सुन्दैछु कि पुलिसमा भएका मुद्दा फटाफट अगाडि बढाएर पक्रन थाल्यो। २० वर्षपछि पनि फेरि उही', उनले भने, 'शान्ति सम्झौताको भावना र मर्म एकातिर छ, काम अर्कोतिर।'
कार्यदल गठनमा ओलीको असन्तुष्टि
नेकपा ओली प्रचण्डबीचको खटपट नयाँ होइन। उनीहरुबीचको चिसो सरकार गठन हुँदै सुरु भएको हो । पुस १३ गते बसेको स्थायी समितिको बैठकले पार्टीको एकीकरणको काम सम्पन्न गर्न मापद.ण्ड बनाउनका लागि रामबहादुर थापा बादलको सयोजकत्वमा कार्यदल गठन गर्यो । यसमा ओलीको इच्छा थिएन। उनी सबै काम सचिवालयबाटै टुंगो लगाउने पक्षमा थिए। तर कार्यदलले यस अघि सचिवालयले गरेका निर्णय उल्टाउन समेत प्रस्ताव गरेको थियो। त्यो प्रस्तावले प्रचण्डलाई कुनै नोक्शान हुदैनथ्यो ।
सचिवालयको निर्णय उल्टँदा अधिकांस ओली निकट नेताहरु बाहिरिन्थे । यसैकारण कार्यदल गठनमा उनको खास रुची थिएन। कार्यदल प्रति असन्तुष्ट रहेका ओलीले बीचमा त्यसलाई बिफल पार्न प्रयास गरे। ओली प्रचण्ड असन्तुष्टिको पहिलो श्रृङखला यो नै थियो।
एसिया प्यासिफिक समिटमा प्रचण्डको दाँतको कमाल
काठमाडौमा भएको विवादित एसिया प्यासिफिक समिटको उद्घाटन समारोहमा प्रधानमन्त्री ओली सहभागि भए। तर अर्का अध्यक्ष प्रचण्ड बाहिरको प्रतिक्रियाबाट जोगिन दाँतको उपचार भन्दै अस्पताल पुगेका थिए। यसमा ओलीले अनेक आरोप र आलोचना खेप्नुपर्यो तर प्रचण्ड मौन बसे । यसले पनि दुईबीचको हार्दिकता घटाएको थियो ।
भेनुजयला प्रकरणले थपेको आगो
भेनेजुएलामा अमेरिकी साम्रज्यवादको विरोधमा प्रचण्डको हस्ताक्षर भएको एउटा विज्ञप्ती सार्वजनिक भयो। त्यसलाई प्रचण्डले पार्टीको अडान भन्दै त्यसमा अडिए। तर प्रधानमन्त्री ओलीले अध्यक्षको टङस्लीप भन्दै त्यसको खण्डनको प्रयास गरे । यसले ओली र प्रचण्डबीचको चिसो थप कडा बनाएको छ। भेनेजुएला प्रकरणले बन्दै गरेको नेकपा एकीकरणको वातावरणमा फेरि बादल मडारिएको छ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्ने कि जगाउने
ओली र प्रचण्डबीच खटपटको अर्को खास कारण सत्यनिरुपण तथा मेलमिलापसँग जोडिएको मुद्दा हो । प्रधानमन्त्री केपी शर्मा ओली सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई सक्रिय बनाउन चाहन्छन् । तर प्रचण्ड त्यसको विपक्षमा छन्। यो आयोग बनाउनुको अर्थ पीडित र पीडकलाई एक ठाउमा ल्याउने र पीडितले माफि दिएमा पीडकले मुक्ती पाउने । यसो गर्दा जनयुद्धकालका धेरै नेताहरु तानिन्थे । त्यसैले यसमा प्रचण्डको असहमति हुनु स्वभाविकै थियो।
आन्तरिक समीकरणमा प्रचण्डको पल्ला भारी
नेकपा भित्र पछिल्लो समयमा अध्यक्ष प्रचण्डको पल्ला भारी हुदै गएको छ। जुन कुरा प्रधानमन्त्री ओलीलाई मन परेको छैन। एक नेताको टिप्पणी अनुसार ओलीको कार्यशैली तत्कालीन राजा ज्ञानेन्द्रको जस्तो छ। ओलीको यो कार्यशैलीविरुद्ध सबै प्रचण्डको आड भरोसमा लागेका छन् । पछिल्लो समयमा 'ओली पीडित'हरु सबै प्रचण्डको पक्षमा लाग्न थालेका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समेत ओलीसंग भन्दा प्रचण्डसंग नजिक देखिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४