काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले भेनेजुयला काण्ड, प्रचण्डको अभिब्यक्ति र त्यसपछि नेकपामा देखिएको विवादको विषयलाई मुख्य समाचार बनाएका छन् ।
कान्तिपुरले नेकपामा थप तरंग शीर्षकमा मुख्य समाचार छापेकाे छ । पार्टी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपीशर्मा ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै माओवादी फेरि जन्मिन सक्ने चेतावनी दिएपछि नेकपामा हल्लीखल्लि मच्चिएको छ।
प्रचण्डको अभिब्यक्तिलाई लक्षित गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक संजाल अझै टिप्पणी गरेपछि विवाद उत्कर्षमा पुगेको छ । पार्टी भित्रको विवादलाई मलजल गर्दै पोखरेलेले लेखेका छन्- 'सनक र उन्मादमा रमाउनेहरुलाई पार्टी नेतृत्वमा ल्याउँदा ठूलो दुर्घटना निम्तिन सक्छ ।'
नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रूपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलाका सन्दर्भमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘चिप्लिएको’ टिप्पणी गरेलगत्तै सरकारप्रति खनिएका प्रचण्डलाई शनिबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कटाक्ष गरेका हुन् ।
पार्टी भित्रको विवादले तंरग पैदा गरिरहेका बेला दुई अध्यक्ष ओली र प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ । यसै विषयलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ।
नागिरकले यो विवादलाई 'सफ्ट' बनाउँदै दुई अध्यक्षबीचको दुरी घटाउनका लागि भेटवार्ता भएको समाचारमा उल्लेख गरेकाे छ । भेटमा भेनेजुएलासम्बन्धी विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरणसम्बन्धी विषयमा कुराकानी भएको थियो ।
दुई नेताबीच भेनेजुएला प्रकरणमा देखिएको विवादबारे सरकार र पार्टीको धारणा सार्वजनिक भइसकेको अवस्थामा अब त्यस विषयमा कहीं कतैबाट अर्को अभिव्यक्ति सार्वजनिक नगर्ने र तल्लो तहमा पार्टी एकीकरण प्रक्रिया तत्काल टुंग्याउने सहमति भएको समाचारमा जनाइएको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने बेला न कुबेला भेनेजुएला शीर्षकमा मुख्य समाचार छापेको छ । जुन काण्डले नेकपा र सरकारमा मात्रै नभई दुई अध्यक्षको मित्रतालाई समेत खलबल्याएको समाचारमा उल्लेख छ ।
यो विषय बाहेक नागरिक दैनिकले दाहालको गृहजिल्लामा चार अर्बका योजना शीर्षकमा विशेष खबर छापेको छ । सत्तारुढ दलका अध्यक्ष दाहालको गृहजिल्ला चितवनमा ३६ ओटा महत्वपूर्ण योजना सञ्चालनमा छन् । करिब चार अर्बका ती आयोजनामध्ये धेरै दाहालको निर्वाचन क्षेत्रमा रहको समाचारमा उल्लेख छ।
कान्तिपुरले भने सिमा नाघेर इन्धन खर्च शीर्षकमा खबर लेखेको छ । संघीय संसद्का पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढि रकम बुझिरहेको खुलासा गरेको छ।
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले ३ लाख ५८ हजार, उपसभामुख शिवमाया तुम्बाहाम्फेले ५८ हजार २ सय ५२, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले १० हजार ५० रुपैयाँ र उपाध्यक्षले शशिकला दाहालले ५२ हजार ८ सय ९ रुपैयाँ बढि लिएको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोस्ट्ले भने स्थानीय तहमा बेथिचि मौलाएसँगै बढेको उजुरीका विषयलाई प्राथमिकतामा पारेको छ । उसले महिना ६, उजुरी २७१६ शीर्षकमा खबर लेखेको छ।
आजको नयाँ पत्रिका दैनिकले भने कृषि प्रधान मुलुकमा अर्बौको दाल, चामलदेखि करोडौंको कोदो, फापरसम्म आयात हुने गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।
नेपालमा ४५ अर्बको दाल, २९ अर्बको चामल, ४ करोडको कोदो, ३ करोडको फापर, ५३ करोडको केरा र ५७ करोडको सुन्तला आयात हुने गरेको छ । जलस्रोतको दोस्रो धनी देशमा खानेपानी मात्रै २ करोडको आयात हुने गरेको समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४