शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइजीपीलाई चिठ्ठी लेख्दा जागिर गुमाएका जवानले अदालतबाट पाए न्याय

आइजीपीलाई चिठ्ठी लेख्दा जागिर गुमाएका जवानले अदालतबाट पाए न्याय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – नेपाल प्रहरी संगठन भित्र योग्यता क्षमाताको उचित कदर हुनुपर्ने आवाज उठाउँदा जागिर गुमाएका एक प्रहरी जवानलाई अदालतले न्याय गरेको छ। जागिरबाट हटाइएका प्रहरी जवान दीपेन्द्र बहादुर चन्दलाई पुर्नबहाली गर्न अदालतले आदेश दिएको हो। 

उच्च अदालत दिपायलले जागिरबाट हटाइएका प्रहरी जवान चन्द निर्दोस ठहर गरेको छ। न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र नसरुल्लाह अंसारीको संयुक्त इजलासले जागिरबाट हटाउने निर्णय बदर गरी जागिरबाट हटाइएको मितिदेखी हालसम्मको सबै तलब, रासन, भत्ता र फ्री स्केलका लत्ताकपडा समेत दिर्इ प्रहरी जवान पदमा पुर्नवहाली गर्नु भनी परमादेश जारी गरेको छ।


प्रहरी जवान चन्दले सत्यको विजय हुँदा न्याय पाएको अनुभूति भएको बताए। प्रहरी संगठन भित्र सुधारको माग गर्दै  गत बैशाखमा चन्दले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई एउटा निवेदन पत्र लेखेका थिए।

निवेदनमा प्रहरी सँगठन भित्र सुधारका बुँदाहरु समेटिएका थिए। उक्त पत्र पछि सामाजिक सञ्जाल फेसबुक तथा अनलाइन न्युज पोर्टलहरुमा भाइरल बन्न पुग्यो। पत्र सार्वजनिक भएपछि कैलालीका प्रहरी नायव उपरिक्षक विर बहाबदुर बुढामगरले प्रहरीको मर्यादा विपरित पत्र लेखेको भन्दै जवान चन्द माथि कुटपिट गरेका थिए। जवान चन्दले न्याय माग्दा डिएसपीको कुटाई खानु परेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कहाँ धाए। तर , आइजीपिले पनि न्याय दिएन्।

त्यसपछि एसएसपीले पुनर्बहाली गरिदिन्छु मिलापत्र गर भनी आश्वासन दिएपछि जवान चन्दले जिल्ला अदालत कैलालीमा मिलापत्र गरे।  मिलापत्र डिएसपीसँगको कुटपिट मुद्दामा भएको थियो। मिलापत्र गर्ने काम भएपछि एसएसपीले धोका दिएको चन्द बताउँछन्।

त्यसको केहि दिनपछि चन्दलाई जिल्ला प्रहरी कार्यलय कैलालीले बर्खास्तीको पत्र थमायो। चन्द भन्छन्, ‘कुटपिट गर्ने डिएस्पीमाथि कारबाहि हुनुपर्थ्यो। तर, उनलाई बचाउन मलाई बलिको बोको बनाइयो। एसएस्पीले चाहेर मात्रै मेरो जागिर गए जस्तो लाग्दैन। यसमा आइजिपी सर्वेन्द्र खनालको हात पक्कै छ।’

प्रहरीको जागिरबाट निकालिएका चन्दले आफू निर्दोष रहेको भन्दै अदालतमा पूर्नबहालिको रिट हालेका थिए। सोही मुद्दामाथि फैसला गर्दै अदालतले पुर्नबहाली गर्न आदेश दिएको हो।

यस्तो छ जवान चन्दले आइजीपीलाई लेखेको पत्र 

श्रीमान प्रहरी महानिरीक्षक ज्यू,
प्रहरी प्रधान कार्यालय, नक्साल,  काठमाडौं।


विषय : प्रहरी कर्मचारीहरुले पहुँच भएको आधारमा मात्रै फाँटमा बस्न पाउने कु–प्रथा अन्त्य गर्न र सबैले समान रुपले फाँटमा बस्न पाउने नियम बनाउन आवश्यक पहल गरी पाऊँ भन्ने बारे सुझाव पठाएको।

महोदय,
सर्वप्रथम, नेपाल प्रहरीको आईजीपी जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा नवनियुक्त आईजीपी महोदयप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु। हाम्रा प्रहरी कार्यालयका फाँटमा काम गर्ने प्रहरी कर्मचारीहरुले तुलनात्मक रूपमा फिल्डमा काम गर्ने प्रहरी कर्मचारीहरू भन्दा बढी सहुलियत, फुर्सद, ज्ञान र दक्षता हासिल गर्ने मौका पाउँछन् भन्ने कुरो श्रीमानमा विदित नैं छ। दुस्खको कुरो के छ भने राजनीतिक वा प्रशासनिक पहुच भएको प्रहरी कर्मचारी कम योग्य भए पनि उसले जागिर अवधिभर फाँटमै बसेर आराम र शानसँग जागिर खान्छ तर ऐ. ठाउँमा पहुच नभएको अर्को प्रहरी कर्मचारीले बढी योग्य भए पनि पहुच नभएको कारण फाँटमा कहिल्यै काम गर्न पाउँदैन ! यस किसिमको असमानता र कुप्रथा अन्त्य गर्न सुझाव दिदै यसअघि कुबेरसिंह राना आईजीपी सरको पालादेखि हरेक नवनियुक्त आईजीपी सरहरुलाई निवेदन प्रेषित गर्दै आइरहेकोमा हालसम्म केही भएको छैन तर हजुरको कार्यकालमा त यस विषयमा पक्कै केही पहल गरिनेछ भन्ने आशाले यो सुझावमूलक निवेदन प्रेषित गरेको छु। निम्न तरिकाले यो असमानता अन्त्य गर्न सकिन्छ भन्ने मेरो सुझाव छ।

१) ६ महिना फाँटमा काम गरिसकेका प्र.क,हरूलाई फिल्डमा डिउटी खटाउने र ६ महिना फिल्डमा काम गरिसकेका प्र.क.हरुलाई फाँटहरूमा खटाएर सबैलाई समान मौका दिने, अथवा
२)  फाँटमा बस्न इच्छुक प्र.क.हरुले कुनै तोकिएको परीक्षा दिनुपर्ने (खुल्ला प्रतिस्पर्धा गर्नुपर्ने) र परीक्षामा पास भएका दक्ष र योग्य प्रहरी कर्मचारीले मात्र फाँटमा काम गर्न पाउने नियम बनाउनु पर्ने, अथवा
३) बढी शैक्षिक योग्यता भएको प्र.क.लाई फाँटमा बस्न प्राथमिकता दिने, अथवा
४) यति मापदण्ड, योग्यता, क्षमता, परीक्षा पूरा गर्न सक्ने व्यक्तिले मात्र फाँटमा बस्न पाउने, भनी प्रहरी नियमावलीमै उल्लेख गराउनु पर्ने।

माथि उल्लेख गरिए अनुसार कुनै न कुनै मापदण्ड निर्धारण गरी वा नियमावलीमा नियम थप गरी, प्र कले फाँटमा बस्न पाउने व्यवस्था गरिनु न्यायिक दृष्टिकोणले पनि जरूरी छ, किनकि यस्तो व्यवस्था नहुनाले तपसिलमा उल्लेखित योग्यता र क्षमता भएको मैले, मेरो जागिर अवधि १२ वर्ष पुग्न लाग्दा पनि हालसम्म कतै पनि फाँटमा बसी काम गर्ने मौका पाएको छैन ! म एउटा उदाहरण मात्रै हूँ, मजस्ता हजारौं योग्य प्र.क.हरुले राजनीतिक र प्रशासनिक पहुच नभएको कारणले फाँटमा काम गर्ने मौका पाएका छैनन्।

तपसिल

(क) मैले बी.एड पास गरी माध्यमिक तहको अध्यापन अनुमतिपत्र प्राप्त गरेको, हाल एलएलबी तेस्रो वर्षमा अध्ययनरत रहेको कानूनको विद्यार्थी पनि भएको, जागिर खानु अघि लेखन्दासको काम गरेको र अपराध अनुसन्धान तालिम समेत गरेको हुनाले मुद्दा फाँटको सबै काम उत्कृष्ट ढंगले गर्न सक्ने।
(ख) मैले जागिर खानु अघि एउटा एनजिओ बाट सञ्चालित स्कुलको लेखापाल पदमा काम गरेको अनुभव र लेखा मूल विषयबाट आई कम पास गरेको हुनाले लेखा फाँटमा पनि काम गर्न सक्ने।
(ग) ६ महिने कम्प्यूटर कोर्स पूरा गर्नुका साथै नेपाली युनिकोडमा पनि राम्ररी टाइप गर्न सक्ने।
(घ) ३ वटा साहित्यिक कृतिहरू प्रकाशित गरेको चर्चित साहित्यकार पनि भएको।
(ङ) आध्यात्म, योग, ध्यान, प्रणायाम आदिमा रुचि भएको मानिस भएकाले विभिन्न आध्यात्मिक निकायहरूबाट योगा सिकाउने प्रमाणपत्र, सम्मानपत्र आदि पाएको साधू प्रवृत्तिको मानिस भएको।
अन्त्यमा, यो निवेदन पेश गर्नुको उद्देश्य मैले मात्रै फाँटमा बस्न पाऊँ भन्ने नभई समग्र रुपले फाँटहरूमा बस्ने र बसाउने प्रणालीमा सुधार होस् र यो सुधार गरे बापत इतिहासले हजुरको गुणगान गरोस् र यो सुधारको यश हजुरको पोल्टामा परोस् भन्ने मेरो हार्दिक कामना पनि छ। जय नेपाल !

निवेदक (सुझाव पेश गर्ने)
वडा प्रहरी कार्यालय धनगढी कैलाली दरबन्दी भई ऐ. कार्यरत रहेको प्रहरी जवान
दिपेन्द्र बहादुर चन्द
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।