काठमाडौं– अमेरिका पठाइदिने प्रलोभन देखाएर ४० लाख रुपैयाँ ठगी गर्न खोज्ने लालबहादुर कार्की पक्राउ परेका छन्। उनले पाँचथर तुम्बेवा–५ हाङ्गुमका ध्रुवकुमार राईलाई भ्रमण भिसामा दुबई हुँदै अमेरिका जान ४० लाख रुपैयाँ लाग्ने आस देखाएका थिए।
प्रहरीका अनुसार कार्कीले राईलाई अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाइने आश्वासन दिएका थिए। यस क्रममा उनले राईबाट एघार लाख पचास हजार रुपैयाँ लिएका थिए। उक्त रकम लिएर फरार भएका कार्की राईले दिएको उजुरीका आधारमा पक्राउ परेका हुन्।
कार्कीलाई झापाको अर्जुनधारा– ५ शान्तिचोकबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।