धनगढी- जनप्रतिधिलाई आफ्नै सेवा सुविधामूखि बनेका समाचार छ्याप्छ्याप्ती आइरहेका बेला अछाममा एक गाउपालिका अध्यक्षले जनताको पक्षमा अर्को उदाहरणीय काम गरेका छन्।
सरकारबाट पाउने तलव समेत समाजसेवामा खर्च गर्दै आएका बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आफ्नो प्रयोजनका लागि गाडी खरिद गर्न बिनियोजित बजेट गाउँपालिकाको बिकासमा खर्च गर्ने निर्णय गरेका छन्।
गाउँ परिषद्ले गाउँपालिका अध्यक्षका लागि गाडी खरिद गर्न बिनियोजन गरेको १ करोड बजेट गाडी नकिनेर गाउँपालिकाको बिकासका काममा खर्च गर्ने निर्णय खड्काले गरेका हुन्।
आफ्नो सेवा सुविधाका लागि नभई नागरीकको सेवाका लागि राजनीतिमा आएको र जनताले चुनाव जिताएको भन्दै अध्यक्ष खड्काले गाडी चढ्नु भन्दा सडक निर्माण पहिलो आवश्यकता ठानेर यस्तो निर्णय गरेको बताए।
एक करोड बजेट सडकको गुणस्तर बृद्धि र पर्यटन बिकासलगायत जनताका आवश्यकता अनुसारका ठाउँमा खर्च गर्ने खड्काले सुनाए।
नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भए लगत्तै खड्काले आफुले पाउने तलव नलिने र अनाथ, टुहुरा, बालवालिका, वृद्धवृद्धा र समाज सेवामा खर्च गर्ने निर्णय गरिसकेका छन्। उनले आफुले पाएको तलव यस अघि मृगौला पीडितलाई उपचारका लागि सहयोग गरिसकेका छन्। अब अन्य बाँकि तलव पनि समाजसेवामै खर्च गर्ने तयारी रहेको उनले सुनाए।
थप,
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४