काठमाडौं- नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति भंग गर्ने वा म्याद थपेर निरन्तरता दिनेबारेमा बिहीबार पनि केन्द्रीय समितिमा छलफल हुँदैछ।
माघ २ गते थपिएको म्याद सकिएको नेविसंघको वर्तमान कार्यसमितिका बारेमा छलफल गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा नेताहरूबीच नै तिब्र विवाद भएपछि बैठक बिहीबारलाई सारिएको थियो। बुधबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव राखेका थिए।
यसमा रामचन्द्र पौडेल समूह पनि लचिलो देखिए पनि अर्का नेता कृष्णप्रसाद सिटौला भने यसमा सहमत देखिएका छैनन्। सिटौलाले वर्तमान कार्यसमिति विघटन गर्दा विवाद बढ्ने र यसले महाधिवेशन नै अन्योलमा पर्ने तर्क राखेका छन्।
बैठकमा संस्थापन पक्ष नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिलाई विघटन गरेर महाधिवेशन गर्न तदर्थ समिति गठन गरिनुपर्ने प्रस्ताव राखेको छ। पौडेल पक्षको पनि गठन गरिने तदर्थ समितिको स्वरुप र मापदण्डबारे भने फरक मत छ।
पार्टीले विधान संशोधन गरेर थप गरेको नेविसंघको वर्तमान कार्यसमितिको अवधि पनि माघ २ गते समाप्त भइसकेको छ। तर कांग्रेसले माघ १० गते बस्नेक केन्द्रीय समिति बैठकले गर्ने निर्णयानुसार हुने भन्दै महर नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको थियो।
नेविसंघका नेवर्तमान अध्यक्ष नैनसिंह महरले अहिलेको कार्यसमितिको केही समय म्याद थप गरेर महाधिवेशन गराउनु पर्ने माग राख्दै आएका छन्। तर, संस्थापन पक्षका नेताहरु भने विधानतः अब कार्यसमिति अस्थित्वमा नरहेकोले म्याद थप गर्न नहुने तर्क राखेका छन्।
कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले सबै पक्षलाई मिलाएर महाधिवेशनमा जानका लागि एउटा कार्यदल बनाउनु बाहेक अर्को बिकल्प नरहेको उनले नेपाल समयसँग बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४