काठमाडौं – नेताहरुले अयोग्य साबित गर्न खोजेको नेकपाको कार्यदलको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ। पुस १३ गते बसेको स्थायी समिति बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुवीर महासेठ, वर्षमान पुन, लेखराज भट्ट र बेदुराम भुसाल सदस्य रहेको कार्यदल गठन गरेको थियो।
स्थायी समितिको बैठकले कार्यदललाई बाँकी संगठन एकीकरणको प्रस्ताव तयार गर्ने, विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णयमा हेरफेर र केन्द्रीय सदस्यहरूको कार्य विभाजनको प्रस्ताव तयार गर्न जिम्मेवारी दिएको थियो। कार्यदलले पुस मसान्तभित्र काम सक्नुपर्ने समयसीमा थियो। तर कार्यदलले माघ तेस्रो हप्ता बितिसक्दा पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकेन।
किन काम गर्न सकेन कार्यदलले ?
कार्यदल गठनपछि त्यसको बैठक ६ पटक बस्यो। कार्यदलका सदस्यहरुले विभिन्न प्रस्ताव तयार गरेर महासचिव विष्णु पौडेलसमक्ष पेस गरेका थिए। महासचिव पौडेलले दुवै अध्यक्षलाई ती प्रस्ताव सुनाए। तर दुवै अध्यक्ष त्यसमा असहमत भएपछि प्रतिवेदनलाई अन्तिम रुप दिन नसकिएको कार्यदलका एक सदस्यले जानकारी दिए।
प्रस्तवामा विधानमा भएका त्रुटि सच्चाउने, मापदण्ड तयार गर्ने र त्यसभित्र नपर्ने प्रदेश कमिटी हेरफेर गर्ने विषय थियो। यी प्रस्तावमा कार्यदलका सदस्य शंकर पोखरेलले पनि असहमति जनाएपछि कार्यदल अलपत्र परेको थियो।
कार्यदलले तयार गरेको मापदण्डअनुसार एक व्यक्ति एक जिम्मेवारीअनुसार पोखरेल सदस्य बन्नु विवादास्पद भएको छ। उनी प्रदेश ५ का मुख्यमन्त्री र नेकपाका इन्चार्ज छन्। पोखरेललाई कार्यदलको सदस्य नियुक्ति विवादास्पद हुन्छ। त्यसै गरी अर्का सदस्य रघुवीर महासेठ एमालेको नवांै महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका नेता हुन्। उनलाई नेकपाको केन्द्रीय समितिमा मनोनीत गरेर स्थायी समितिमा लगिएको हो। कार्यदलको प्रस्तावअनुसार उनी पनि कार्यदलमा बस्न योग्य नेता होइनन्। कार्यदलका संयोजक रहेका रामबहादुर थापा बादल गृहमन्त्री हुन्। उनलाई पार्टी संगठनभित्र सुस्त नेताका रुपमा चित्रण गरिन्छ।
दुई अध्यक्ष शक्तिशाली हुन कार्यदललाई अयोग्य बनाउने खेल
नेकपाभित्रको ठूलो असन्तुष्टिलाई सम्बोधन गर्न स्थायी समितिले कार्यदल गठन गरेको थियो। तर अध्यक्ष केपी ओली र अध्यक्ष प्रचण्ड नजिकका केही नेताहरू कार्यदलले तयार गरेका मापदण्डका कारण बाहिर पर्ने भएपछि प्रधानमन्त्री ओलीको योजनामा कार्यदललाई अलपत्र पारियो। कार्यदल गठन भए पनि ओली स्विट्जरल्यान्ड भ्रमणमा निस्के भने प्रचण्ड बिरामी भए। त्यसकारण स्थायी समितिले गठन गरेको कार्यदललाई निकम्मा बनाउने प्रयास भएको नेताहरुको भनाइ छ।
यसैको एउटा प्रयास थियो सोमबार बसेको नेकपाको सचिवालय बैठक। बैठकमा कार्यदलका संयोजकसमेत रहेका रामबहादुर थापाले कार्यदलमा भएको प्रगति र विवादबारे ब्रिफिङ गरेका थिए।
प्रदेश कमिटी हेरफेर गर्ने वा यथावत् राख्ने भन्ने विषयमा सदस्यहरुबीच मतभेद उत्पन्न भएको र त्यसपछि बैठक बस्न नसकेको ब्रिफिङ सचिवालय बैठकमा बादलले गरेका थिए। त्यसपछि सचिवालयले अहिलेसम्म भएको प्रगतिसहित यथास्थितिमा दुई दिनभित्र प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो।
सचिवालयले टुंग्याएको प्रदेश कमिटीलाई पुनरावलोकन गरेर मापदण्डभन्दा बाहिर भएकालाई हटाउने र मापदण्डअनुसार कमिटीमा नपरेकालाई राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएपछि प्रदेश कमिटीलाई अन्तिम रूप दिने प्रस्ताव टुंगिएन। त्यसपछि बैठकसमेत बस्न सकेको थिएन।
कार्यदलमा रहेका सदस्यहरु हेर्दा पार्टीभित्रको गुटगत सन्तुलन देखिने एक नेताले बताए। तर कार्यदलको मुड हेर्दा अध्यक्षद्वयका केही मानिसको ‘बलि चढ्ने’ भएकाले पनि यसलाई निकम्मा साबित गर्ने प्रयास भएको एक नेताले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४