वीरगंज – बारा–पर्साको ग्रामीण भेगमा अवस्थित छोटी नाकाबाट प्रहरीकै संरक्षणमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी हुन थालेपछि स्थानीय कुखुरा पालक किसान समस्यामा परेका छन्।
छोटी नाकाबाट दैनिक जीप, मोटरसाइकल र साइकलमा ओसारेर भारतीय सीमावर्ती बजारबाट तस्करहरुले भारतीय कुखुरा नेपालमा ल्याउने गरेका छन्।
यसरी भित्र्याइएको कुखुरा एक रातसम्म नाका छेउछाउकै पोल्ट्री फार्ममा भण्डारण गर्ने र भोलिपल्ट स्थानीय पोल्ट्री फार्मको बिजकको आधारमा काठमाडौं लगायतको ठूला बजारसम्म पु¥याउने कार्य भइरहेको पीडित किसानले जानकारी दिएका छन्।
कुखुराको आहारको रुपमा प्रयोग हुने दानाको मूल्य वृद्धिका कारण उत्पादन लागत बढेकोले प्रति किलो २४० भन्दा कम मूल्यमा कुखुरा बिक्री गर्दा घाटा व्यहोर्नु पर्ने अवस्था रहेको किसानको भनाई छ।
अहिले तस्करीको माध्यमबाट भित्रिएको जिउँदो कुखुरा बजारमा २०० देखि २१० सम्ममा उपलब्ध हुन थालेपछि आफूहरु पीडित भएको कुखुरा पालक व्यवसायी शम्भू साहले गुनासो गरे। सीमावर्ती भारतीय बजारमा भारु एक सयमै जिउँदो कुखुरा उपलब्ध रहेको उनले जानकारी दिए।
भारतीय कुखुरा तस्करीमा संलग्न रहेको प्रमाण फेला परेपछि पर्साको प्रसौनी भाठा छोटी नाकाको प्रहरी चौकी इन्चार्जलाई जिल्ला प्रहरी कार्यालयले १२ घण्टे स्पष्टीकरण समेत लिएको छ।
कुखुरा पालक किसान व्यवसायीले प्रसौनी भाठा नाकाबाट अवैधरुपमा भित्र्याइएको दुई सय भन्दा बढीको संख्यामा भारतीय कुखुरा बरामद गरेपछि प्रहरीको संलग्नता पुष्टी भएको हो। व्यवसायीले बरामद कुखुरा जिल्ला प्रहरी कार्यालय, पर्साको जिम्मा लगाएका थिए।
प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक विनोद राणा मगरलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।
यसअघि प्रसौनी भाठाबाट केराउ र मरिच तस्करी भएको फेला परेपछि तत्कालीन प्रहरी सहायक निरीक्षक जन्मजय यादवलाई जिल्ला प्रहरी कार्यालय, पर्साले फिर्ता बोलाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४