काठमाडौं- सरकारविरुद्ध आक्रामक देखिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार बस्दै छ । बैठकमा नेविसंघको विषयमा देखिएको विवाद, महासमितिले पारित गरेको प्रतिवेदन र सकारविरुद्ध भएको आन्दोलनको समिक्षा हुने भएको छ ।
पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा नेविसंघको एजेन्डाले प्रधानता पाउने भएको छ । विघटनको संघारमा रहेको नेविसंघको पदावधी थप्ने की पुरानो कमिटि विघटन विघटन गर्ने भन्ने विषयमा आजको बैठकले निर्णय लिने भएको छ ।
नेविसंघको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो ।
यस्तै आजको बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधानका बारेमा पनि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।
महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो ।
त्यस्तै आजको बैठकमा सरकारको काम र पार्टी गरेको आन्दोलनको पनि समिक्षा हुने प्रवक्ता शर्माले बताए । कांग्रेसले सोमबार सरकारविरुद्ध देशभर प्रदर्शन गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४