जनकपुरधाम- प्रदेश २ सरकारले दिएको सोनाम ल्होछारको विदा यहाँका विद्यालयहरुले अस्वीकार गरेका छन्। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछारको अवसरमा प्रदेश २ सरकारले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेपनि नीजि विद्यालयहरु पूर्ववत सञ्चालन भएको छ। नीजि विद्यालयहरुले प्रदेश सरकरले दिएको विदा नमानेको संभवतः यो पहिलो पटक हो। यद्यपी सामुदायिक विद्यालयहरु प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदाको पालना गरेको छ। यसअघि प्रदेश सरकारको निर्णयअनुसार यहाँका नीजि विद्यालयहरु बन्द हुँदै आएको थियो । ल्होछार मनाउने तामाङ समुदायको जनकपुरमै पनि न्यून संख्या रहेको छ।
प्रदेश २ मा ल्होछार मनाउने समुदायको संख्या न्यून रहेकोले आफूहरुले विद्यालयमा विदा नदिएको एन प्याबसन धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डलले बताए। साथै आउनै लागेको सरस्वती पूजाको तयारीमा विद्यालयहरु जुटेकाले विदा दिन कठिनाइ भएको अध्यक्ष मण्डलको भनाइ छ।
नीजि विद्यालयका साथै प्रदेश २ का अधिकांश सरकारी कार्यालयहरु समेत सञ्चालनमा रहेको छ। प्रदेश सरकार मातहत रहेका कार्यालयहरु बन्द रहेपनि संघीय सरकार मातहतका कार्यालयहरु सञ्चालनमा देखिएका छन्।
जिल्ला प्रशासन कार्यालय, अदालत, आन्तरिक राजश्वलगायतका कार्यालयहरुमा प्रदेश सरकारले दिएको विदाको प्रभाव परेको छैन्।