काठमाडौं- नेपाली कांग्रेसले अहिले केहीबेरमा देशव्यापी रूपमा विरोध प्रदर्शन गर्दैछ ।
केपी ओली नेतृत्वको वर्तमान सरकार दुई तिहाइको दम्भमा अधिनायकवादतर्फ लागेको, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले उठाएका मुद्दाहरूलाई सम्बोधन नै नगरी संसद्बाट जबरजस्ती विधेयक पारित गरेको, वाइड बडी भ्रष्टाचारमा छानबिन गर्न नसकेको जस्ता आरोप लगाउँदै कांग्रेसले विरोध प्रर्दशन गर्न लागेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘एक दिनको विरोध प्रदर्शन शालीन ढंगले, शान्तिपूर्ण ढंगले राष्ट्रव्यापी रूपमा हुनेछ। लाखौंको सहभागिताका साथ प्रदर्शन हुँदैछ।’ कांग्रेसले राजधानीका विभिन्न ठाउँसहित सतहत्तरै जिल्लामा प्रदर्शन गर्न लागेको हो। जिल्लामा सदरमुकामहरूमा र राजधानीको रत्नपार्कमा विरोध प्रदर्शन गर्न लागिएको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए । यसका लागि राजधानीका विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी भएको छ । प्रदर्शनका लागि नेताहरू विभिन्न जिल्लामा पुगेका छन् ।
सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह काठमाडौंको प्रदर्शनमा सहभागी हुँदैछन् । यस्तै महामन्त्री शशांक कोइराला नवलपुर पुगेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा र उपसभापति विमलेन्द्र निधिले जनकपुरमा आयोजना हुने विरोध प्रदर्शनमा नेतृत्व गर्दैछन् । प्रवक्ता विश्वप्रकाश शर्मा चितवन पुगेका छन् भने गुरुराज घिमिरे अर्घाखाँची, एनपी साउद कञ्चनपुर, गगन थापा पोखरा, प्रकाशशरण महत दाङ पुगेका छन् । केन्द्रीय नेताहरूलाई कुनै ठाउँमा जान भनेर पार्टीले निर्देशन नदिएको तर अधिकांश नेताहरू विरोध प्रदर्शन सफल बनाउन आफ्नो गृहजिल्ला पुगेको कांग्रेसले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४