काठमाडौं- पार्टी एकता प्रक्रियाका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । बिहान १० बजेपछि बालुवाटारमा बस्ने बैठकमा एकता प्रक्रिया टुङ्गोमा पुर्याउने र सरकारको कामका विषयमा छलफल हुने भएको छ ।
एकता प्रकृया टुङ्ग्याउनका लागि रामबहादुर थापा वादल नेतृत्वको कार्यदल डिसमिस भएपछि सचिवालय आफै सक्रिय बनेको हो । स्थायी समितिको बैठकले वादलको नेतृत्वमा पुष १३ गते ९ सदस्यी कार्यदल बनाएको थियो ।
कार्यदलले आफ्नो प्रतिवेदन बुझाउनु अघि महासचिवसँग प्रतिवेदका विषयमा छलफल गरेको थियो । महासचिव विष्णु पौडेलले अध्यक्षद्वयसँग छलफल गरेर मात्रै प्रतिवेदन बुझ्ने बताएका थिए । अध्यक्ष केपीशर्मा ओलीले पुराना निर्णय उल्टाउने गरि प्रतिवेदन बनाइएको भन्दै उनले नबुझ्ने संकेत दिएपछि कार्यदल निष्कृय बनेको हो । त्यसयता कार्यदलको एउटा पनि बैठक बसेको छैन । सचिवालय बैठक पनि लामो समयको अन्तराल पछि बस्न लागेको हो ।
आजको बैठकमा पार्टी र जनसंगठनको एकीकरणसम्बन्धी बाँकी काम, कार्यदलले समयभित्र प्रतिवेदन बुझाउन नसक्नुको कारण, समयसीमालगायतका एजेन्डामा छलफल हुने प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
गत ३ जेठमा तत्कालीन एमाले र माओवादीको केन्द्रीय कमिटी एकीकरण घोषणाबाट नेकपा बनेपछि एकीकरणका बाँकी सबै काम सम्पन्न गर्न चार तहका कार्यदल बनिसकेका छन् । तर अझै एकिकरण प्रक्रिया अधुरै रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४